जुन २६ लाई लागुपदार्थ तथा अवैध तस्करीविरूद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन्।
कर्णाली प्रदेशको सुर्खेत जिल्ला प्रशासन कार्यालयले दिवस मनाउन म्युजिकल कन्सर्ट आयोजना गरेको छ।
बुधबार साँझ पाँच बजेपछि सिडिओ कार्यालयको कन्सर्ट वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्र चोकमा सुरू हुनेछ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले लागुऔषध दुर्व्यसनी, ओसारपसारलगायतका विषयमा युवाहरूलाई सचेत गराउन कन्सर्टको आयोजना गरिएको बताए।
‘प्रहरीले गाउँगाउँमा यससम्बन्धी सचेतनामूलक कार्यक्रम निरन्तर गरिरहेको छ,’ उनले भने, ‘हामीले त्यसैअनुसार नगरपालिकासँगको सहयोगमा साँझपख कन्सर्टको आयोजना गरेका हौं।’
सिडिओ कार्यालयले यसअघि यस्ता कन्सर्ट आयोजना नगरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले जानकारी दिए।
यसपटक लागुऔषधविरूद्धका अन्य कार्यक्रम पनि गरिएकोमा त्यसैमध्ये कन्सर्ट पनि आयोजना गरिएको उनले बताए।
युवाहरू नै बढी लागुऔषधमा संलग्न हुने र उनीहरूको ध्यान अन्य कार्यक्रमभन्दा पनि सांगीतिक कार्यक्रमले नै तान्न सक्ने हुँदा कन्सर्ट आयोजना गरिएको खड्काले बताए।
कन्सर्टको सहयोगीका रूपमा वीरेन्द्रनगर नगरपालिका रहेको छ।
स्टेज र साउन्ड सिस्टमको खर्च नगरपालिकाको बजेटबाट ब्यहोरिने छ।
नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालयले कन्सर्ट आयोजनाका लागि सहयोग गरिदिन नगरपालिकालाईआग्रह गरेकाले स्टेज, साउण्ड सिस्टमको खर्च ब्यहोर्न लागेको जानकारी दिए।
‘टेन्ट, स्टेज, साउन्ड सिस्टममा गरी बढीमा ६० हजार रुपैयाँ लाग्ला,’ पौडेलले भने।
कन्सर्टमा कलाकारको व्यवस्था स्थानीय ‘तनाव छ जिन्दगी फाउण्डेसन’ले निःशुल्क रूपम गरिदिएको फाउण्डेसनका अध्यक्ष सञ्जय योगीले बताए।
उनका अनुसार कन्सर्टमा लागु औषध दुर्व्यसनी, ओसारपसार, बेचबिखन, यसका बेफाइदालगायत विषयमा कलाकारहरूले प्रस्तुति दिनेछन्।