पछाडि परेकोमध्येको एक समुदाय हो मुसहर। सो समुदायको उत्थानका लागि प्रत्येक वर्ष गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन्।
युकेड, डिएफआइडी र स्ट्रीट चाइल्डले समेत पछाडि पारिएको मुसहर समुदायको उत्थानका लागि धनुषा, महोत्तरी, सिराहा लगायतका जिल्लामा वर्षेनि करोडौँ रुपैयाँ खर्चदै आइरहेका छन्। तर ती संस्थाहरुले खर्च गरेअनुरुप मुसहर समुदायको जीवनमा भने परिवर्तन आउन सकेको छैन।
गैर सरकारी संस्थाहरुको अनियमितताका कारण आफूहरुका लागि आएको रकम पनि सदुपयोग हुन नसकेको नेपाल राष्ट्रिय मुसहर संघको आरोप छ।
डिएफआइडीले धनुषाको आसमान नेपाल, जानकी महिला जागरण समाज र साहस नेपाल नामक गैर सरकारी संस्थासँग सम्झौता गरेर ‘ब्रेक द बण्ड’ नामक परियोजना अन्तर्गत मुसहर केन्द्र संचालन गर्दै आएको छ।
तर त्यो कार्यक्रमको नाममा करोडौँ रुपैयाँको अपचलन भइरहेको संघको आरोप छ। सो परियोजना अन्तर्गत मुसहर समुदायमा किशोरीहरुको साक्षरता बढाउने क्षेत्रमा आसमान नेपाल, जीवन उपयोगी सीप सिकाउनेमा जानकी महिला जागरण समाज र जीविकोपार्जनका उपायहरु सिकाउनेमा साहस नेपाल नामक संस्थाले काम गर्दै आएका छन्।
संघका अनुसार महोत्तरीमा १७, धनुषामा २४ र सिराहामा २१ गरी कुल ६२ वटा मुसहर केन्द्रहरु संचालनमा छन्। संघका महासचिव रामस्वरुप सदाले भने जतिसुकै केन्द्र बने पनि वास्तविक समुदायले लाभ नलिएको बताउँछन्।
आफूहरुको अवस्था, सोच परिवर्तन गर्ने उद्देश्यले सञ्चालन गरिएको मुसहर केन्द्रमा मुसहर समुदायलाई नै सहभागी नगराइएको भन्दै उनले आपत्ति जनाए। ती गैर सरकारी संस्थाहरु मुसहरमुखी नभई कर्मचारीमुखी, होटलमुखी र संस्थामुखी भएको उनको आरोप छ।
मुसहर समुदायका लागि ल्याइएका कार्यक्रममा ६० प्रतिशत कर्मचारी मुसहर समुदायबाट राख्नु पर्ने, मुसहर केन्द्रमा भर्ना गर्न कायम गरिएको उमेर समूह परिर्वतन गरी १० देखि २५ वर्ष गर्नुपर्ने, बजेट तथा कार्यक्रम नियमित सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु मुसहर संघले अघि सारेको छ। आफूहरुको माग सम्वोधन नभए एक हप्ता भित्र सडक आन्दोलन गर्ने संघको चेतावनी छ।
ब्रेक द बण्ड परियोजना शुरु भएको ८ महिना भई सकेको छ। ३ वर्षका लागि रहेको सो परियोजनामा मुसहर समुदायका लागि कति बजेट आएको छ भन्ने सम्बन्धमा मुसहर अगुवाले सूचना माग गरेका छन्।
तर ती गैर सरकारी संस्थाले सूचना उपलब्ध गराउन आनाकानी गरेपछि यो परियोजनाको नाममा करोडौं रकम अपचलन भएको हुन सक्ने संघका महासचिव सदाले बताए।
यस विषयमा आसमान नेपालका हेड अफ प्रोग्राम दिनेश्वर शाहले तीन संस्था मिलेर कार्यक्रम संचालन भईरहेकोले तीनै संस्थाको सहमति र डिएफआइडीको निर्देशन बिना जानकारी गराउन नमिल्ने प्रतिक्रिया दिए।
सोही कार्यक्रमको साझेदार संस्था जानकी महिला जागरण समाजका कार्यक्रम संयोजक कृष्ण कुमार भण्डारीले आफूहरुको सम्पूर्ण काम पारदर्शी भईरहेको दावी गर्दै केही दिन भित्रै सार्वजनिक रुपमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे।