जनकपुरधामका प्रायः निजी अस्पतालहरु गैरकानूनी रुपमा संचालनमा रहेको भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले केही दिन अगाडि अस्पतालहरुको अनुगमन गर्दा अधिकांश अस्पतालहरु गैरकानूनी रुपमा संचालन भएको भेटिएको हो।
‘जनकपुरधामका दर्जनौँ निजी नर्सिङ होम तथा निजी अस्पतालमा ताला लगाउने अवस्था रहेपनि हामीसँग अनुगमन गर्ने अधिकार मात्रै रहेको छ’ जनस्वास्थ्य अधिकृत अशोक कर्णले भने।
निजी अस्पताल पूर्वाधार बिना सञ्चालित रहे पनि कारवाही गर्ने निकायले वेवास्ता गर्दा पैसा कमाउने ध्याउन्नमा मात्रै लागेको अधिकृत कर्णले आरोप लगाए। जनकपुरधाममा ३ दर्जन निजी नर्सिङ होम तथा हस्पिटलहरु स्वास्थ्योपचार गर्दै आएका छन्। वैधानिक रुपमा १९ वटा निजी नर्सिङ होम तथा हस्पिटलहरु मात्रै उपचार गरिरहेको जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ।
बिरामीको शल्यक्रिया गर्नका लागि बिरामीलाई बेहोस गरिन्छ जसका लागि एनेस्थेसिया चिकित्सकको आवश्यक्ता पर्छ तर सम्बन्धित निकायले नै वास्ता नगर्दा अधिकांश निजी अस्पतालले बिरामीबाट मनोमानी शुल्क लिने गरेको पाइन्छ। जनकपुरधाममा रहेका १९ वटा नर्सिङ होमहरु मध्ये ७ वटा नर्सिङ होमहरुमा मात्रै वैधानिक एनेस्थेसिया चिकित्सकहरुले शल्यक्रिया गर्नु पूर्व बेहोस गराउने गरेका छन्।
शल्यक्रिया गर्नु पूर्व बिरामीलाई गरिनुपर्ने बेहोसीको लागि एनेस्थेसिया चिकित्सकहरु अधिकांश अस्पतालमा नरहेको जिल्ला जनस्वास्थ्य प्रमुख ईन्द्रप्रसाद यादवले बताए। उनले यस बारे अनुगमन गर्दा पाइएको विभिन्न कुराहरु बुँदागतरुपमा उल्लेख गरेर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई प्रतिवेदन बुझाइएको बताए। जनकपुरधाममा अहिले ७ जना एनेस्थेसिया चिकित्सकहरु छन्।
जसमध्ये ३ जना चिकित्सक जनकपुर अंचल अस्पतालमा कार्यरत छन्। तर दर्जन भन्दा बढी अस्पतालहरुमा बिना एनेस्थेसिया चिकित्सकको अनुपस्थितिमा शल्यक्रिया हुने गरेको सो प्रतिवेदनबाट खुलासा भएको छ।
करोडौँको लागतमा संचालनमा रहेको काब्या,ओम दिर्घायू, दैविक इन्टरनेसनल हस्पिटल, केयर मेडिकल सेन्टर, नवजीवन, बच्छार प्रसुति सेवा केन्द्र, धनुषा अस्पताल, जनकपुर सिटी, आस्था हस्पिटल, आर्या केयर एण्ड क्यूर र लालगढ मोडेल हस्पिटलमा शल्यक्रिया हुँदा एनेस्थेसिया चिकित्सक हुदैनन्।
एनेस्थेसिया डाक्टरको अनुपस्थितिमा सर्जन डाक्टरले शल्यक्रिया गर्नु गैरकानूनी रहे पनि यहाँ वर्षौदेखि खेलवाड गरिँदै आएको स्थानीयहरु बताउँछन्। तर केही अस्पतालले भने बिरामीलाई शल्यक्रिया गर्नुपूर्व बेहोस पार्नका लागि तालिम प्राप्तहरुले गर्दै आएको देखिएको जनस्वास्थ्य अधिकृत कर्णले बताए।
कतिपय व्यक्तिहरु यस कार्यमा अनुभवी भएपनि राज्यले अब यसको व्यवस्थापनसँगै डाक्टरहरुलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको जनस्वास्थ्य अधिकृत कर्ण बताउँछन्।
जनकपुरधामका जनकपुर ट्रमा हस्पिटल एण्ड फाउण्डेसन, जानकी हेल्थ केयर एण्ड टिचिङ, स्वास्तिक हेल्थ केयर, आराध्या हस्पिटल एण्ड रिसर्च, समर हस्पिटल एण्ड रिसर्च सेन्टर, संजिवनी हस्पिटल र रामजानकी हस्पिटलमा सम्बन्धित चिकित्सकले शल्यक्रिया गर्नुपूर्व बेहोसी गरेपछि मात्रै शल्यक्रिया हुने गरेको सो प्रतिवेदनमा उल्लेख छ।
अप्रेसन गरिने अस्पतालहरुको अवस्था र त्यहाँ उपलब्ध सेवा सुविधाको जाँच गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि जनस्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत अशोक कर्ण र शिवजी दास अनुगमनमा खटेका थिए।
अत्याधुनिक सुविधाको नाममा चर्को शुल्क लिने अस्पतालहरुमा एनेस्थेसिया डाक्टर विना नै सबै प्रकारका अप्रेसनहरु भईरहेको भन्दै केही सातापहिले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी कर्णेैलले अनुगमन गर्नका लागि निर्देशन दिएका थिए ।