सहरमा चारैतिर धूलो, ट्राफिक जाम, सडकमा खाल्डाखुल्डी, अव्यवस्थित पार्किङ।
यो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतको अवस्था हो।
‘मर्निङ वाक’ गर्दा पनि मास्क प्रयोग गर्नुपर्ने, सवारीसाधन तथा पैदलयात्री धुलाम्मे भएर हिँड्नु पर्नेलगायत थुप्रै समस्या वीरेन्द्रनगरमा छन्। यही धुलाम्मे र अव्यवस्थित वीरेन्द्रनगरलाई केही सरोकारवालाहरू ‘साइकल सहर’ बनाउन तम्सिएका छन्।
गत जेठ २० गते ‘विश्व साइकल दिवस’ का अवसरमा वीरेन्द्रनगरमा साइकल यात्रासहितको ‘सिटी राइड’ आयोजना गरिएको थियो। ‘सिटी राइड’ मा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवल भण्डारीसहित स्थानीयको सहभागिता थियो।
प्रमुख सचिव भण्डारीले वीरेन्द्रनगरलाई साइकलमैत्री सहर बनाउन ‘कर्णाली राइडर्स क्लब’ गठन गर्ने बताएका छन्। वीरेन्द्रनगरलाई साइकल सहरका रूपमा विकास गर्न छुट्टै संरचना बनाउनु नपर्ने उनी बताउँछन्।
‘साइकलमैत्री सहर बनाउन बेग्लै संरचना चाहिँदैन, भएका संरचनामै साइकल चलाउन सकिन्छ, त्यसैलाई व्यवस्थित गरिदिए पुग्छ,’ उनी भन्छन्, ‘मुख्य तथा पर्यटकीय क्षेत्रमा जाने बाटोमा भने साइकलका लागि छुट्टै लेन बनाउनुपर्छ।’
वीरेन्द्रनगरभित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलहरू बुलबुले, काँक्रेबिहार, देउती बज्यैजस्ता ठाउँमा साइकल लेनसहितको बाटो बनाउनुपर्ने उनले बताए। साइकल सहरका रूपमा विकास गर्न वीरेन्द्रनगर उपयुक्त ठाउँ भएकाले कपासेदेखि भेरीसम्म छुट्टै संरचना बनाउन सकिने भण्डारीको धारणा छ।
वीरेन्द्रनगरलाई साइकल सहर बनाउन सके श्रमिकदेखि माथिल्लो तहसम्मको मानिसलाई फाइदा पुग्ने उनी बताउँछन्। ‘विकसित देशहरूमा ‘साइकल सहर’ बनिसकेका छन्, त्यहाँ मन्त्री, प्रधानमन्त्रीसमेत साइकल चढेर सफर गर्छन्,’ प्रमुख सचिव भण्डारीले भने, ‘हाम्रोजस्तो देशमा झन् साइकल सहरको खाँचो छ।’
उनका अनुसार साइकल सहर बनाए अन्य फाइदा पनि लिन सकिन्छ। साइकल राइड गरेबापत ती व्यक्तिलाई रूख रोप्न लगाउने र त्यसलाई जोगाइराख्ने सर्त गराए पर्यावरणीय फाइदा पुग्छ।
‘साइकलमैत्री सहर भए मानिसको स्वास्थ्यमा पनि फाइदा आउँछ, नजिकै काममा जानुपर्नेले मोटरसाइकल चढ्नुपर्ने अवस्था आउँदैन, यसले इन्धनको प्रयोग घट्छ,’ भण्डारीले भने।
वीरेन्द्रनगरलाई साइकल सहरका रूपमा विकास गर्न यहाँका सरोकारवालाले उच्च महत्वका साथ आफ्नो भूमिका ख्याल गर्नुपर्ने उनले औंल्याए। यसका लागि वीरेन्द्रनगर नगरपालिकाका मेयरसँग छलफल गरेको उनले बताए।
जुम्लाको तोतोपानी गाउँपालिकाका माधव चौलागाईं ‘साइकलमैत्री’ सहरका विषयमा चासो राख्छन्। साइकल सहरलाई आर्थिक सहजताका रूपमा लिन्छन्। भन्छन्, ‘जसले साइकलको माध्यमबाट आफ्नो रोजगारी वा व्यवसाय धान्छ, उसका लागि साइकलमैत्री सहरले सहजता मात्र होइन, बचत पनि गराउँछ।’
चौलागाईंले सामान्य हिसाबसमेत निकालेका छन्। ‘वीरेन्द्रनगरमा दैनिक एक जनाले मोटर प्रयोग गरेर काम गर्नुपर्यो भने कम्तीमा २५० रुपैयाँ खर्च गर्नुपर्छ। उसले महिनाभर २० दिन मात्र मोटर प्रयोग गरे ६ हजार रुपैया खर्च गर्नुपर्छ,’ उनले भने, ‘वीरेन्द्रनगरलाई साइकल सहर बनायो भने उसको त्यो रकम बचत हुन्छ।’
वीरेन्द्रनगरको हावापानी, ठाउँलगायत हेर्दा साइकलमैत्री सहरका लागि उपयुक्त रहेको उनले बताए। ‘वीरेन्द्रनगरको वल्लो कुनादेखि पल्लो कुनासम्म पुग्नुपरे मुस्किलले १० किलोमिटर होला,’ उनले भने, ‘मेरो अनुभवमा यहाँको सबै वस्तुस्थिति हेर्दा साइकल सहर बनाउन उपयुक्त छ।’
आगामी साता वीरेन्द्रनगर वरिपरि साइकल यात्रा गर्ने योजना रहेको चौलागाईंले बताए। त्यस क्रममा जिपिएसमार्फत साइकलका लागि संरचना बनाउन सकिने रूटको अध्ययन गर्ने पनि उनले जानकारी दिए।
पर्यटकीय सम्भावनाका दृष्टिले वीरेन्द्रनगरमा साइकल अत्यन्त सान्दर्भिक भएको उनी बताउँछन्। यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्तीहरू साइकलबाट भ्रमण गर्न उपयुक्त छन्।
उनका अनुसार साहसिक खेलका रुपमा पनि यहाँ साइकल प्रवर्द्धन सम्भावना छ। विभिन्न विशेषतासहितका साइकल ट्रेल विकास गर्न सके पर्यटक आकर्षण बढ्नेछ।
'रारा हिँडेका पर्यटकले यहाँ अल्झिने बहाना पाउँछन्। उनीहरूको बसाइ लम्बिन्छ। पर्यटकको बसाइ जति लामो भयो त्यति आर्थिक लाभ हुन्छ। स्थानीय रोजगारको ढोका खोल्छ,' चौलागाईंले भने। साइकल बिक्री, मर्मत गर्ने र भाडामा लगाउने पसल खुल्ने भएकाले हरेक पर्यटकीय स्थलमा व्यवसायिक गतिविधि बढ्ने उनको भनाइ छ।
वीरेन्द्रनगरका उपेन्द्र सुवेदी साइकल सहर बनाउन राज्यले महत्व दिनुपर्नेमा जोड दिन्छन्। अब बन्ने सडकहरू साइकल लेनसहितको बनाउने गरी सरकारले सम्झौता गर्नुपर्ने उनी बताउँछन्।
‘हाम्रोजस्तो गरिब प्रदेशका लागि साइकल सहर अनिवार्य हो, हामी बाह्य देशबाटै तेल ल्याएर मोटर चलाउँछौं, साइकल लेन भए धेरैको आकर्षण यसैमा हुन्छ,’ उनले भने।
कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पनि वीरेन्द्रनगरमा साइकल सवारीलाई प्राथमिकता दिने उल्लेख छ। ‘राजधानी सहर वीरेन्द्रनगरलाई धुवाँ, धूलो र प्लास्टिकको झोलामुक्त क्षेत्र कायम गरी नगर क्षेत्रमा साइकल सवारीलाई प्राथमिकता र प्रवर्द्धन गर्न पूर्वाधार विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।