ऐतिहासिक एवं सांस्कृतिक शहर हो जनकपुरधाम।
शहरको नाम पछाडि जोडिएको ‘धाम’ अनुरुप ५ वर्षदेखि यहाँ गंगा आरती हुँदै आएको छ। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाइ अभियानबाट सुरु भएको गंगा आरती बुधबार पाँच वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ।
‘सेभ हिस्टोरिकल’ जनकपुरको पहलमा सुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
नेपालमै पहिलो पटक शुरु गरिएको गंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ। जनकपुरधाममा सुरु भएको गंगा आरतीपश्चात पोखराको फेवातलाका साथै सिराहा, महोत्तरीको जलेश्वर लगायतका स्थानमा समेत साँझ आरती हुन थालेको हो।
आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलवा छिमेकी भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताए।
गंगा आरती केहो भन्ने सवालमा रामाशिषले छोटो जवाफ दिए, ‘जलको संरक्षण र प्रकृतिको पूजा नै हो गंगा आरती।’ जलकी देवी गंगा र जमिनकी देवी जानकीको संयुक्त पुजा हुने आरती स्थलमा प्रत्येक बेलुका एक हजार बढी मानिसको भीड लाग्छ।
झन्डै दुई घण्टाको संगीतमय आरतीको अन्त्यमा प्रसाद बाँडिन्छ। भक्तहरूले चढाएको भेटी र दानबाट नै चार वर्षदेखि आरतीले निरन्तरता पाइरहेको छ।
यहाँबाट सिकेर जनकपुरका अन्य तालहरू पनि सफा राख्नुपर्छ भन्ने सचेतना बढेको छ। बनारसबाट आएका पण्डितले यहाँका सात जनालाई आरती गर्न सिकाएपछि हरेक सोमबार जलेश्वर महादेव मन्दिरमा पनि आरती हुँदै आएको छ।
आरतीका लागि गंगा सागरको किनारामा ३ वटा मण्डप बनाइएको छ। तीन पण्डितले एकैसाथ गीत संगीतकै धुनमा आरती वाचन गर्छन्। हिन्दु धर्ममा आरती पुजा अर्चनाको एउटा विधि हो। आरतीमा बलिरहेको दीप वा आरतीको थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ। गंगासागरमा आरती सुरु हुनुभन्दा एकघण्टा पहिले देखि नै स्थानीयवासीका साथै पर्यटकहरुको भीड लाग्न थाल्छ।
साँझ ७ बजेदेखि राति ८ बजेसम्म गंगासागरको चारैतिर श्रद्धालुहरु जम्मा भएर आरतीको आनन्द लिने गर्छन्। जनकपुरधाम आउने विशिष्ट व्यक्तिहरु पनि त्यहाँ पुग्छन्। त्रेतायुगको इतिहास यहाँ पाइन्छ।
इतिहासकारहरु यो गंगासागर कुन प्रयोजनका लागि निर्माण गरियो भन्नेमा एकमत नदेखिए पनि त्रेता कालीन रहेकोमा कुनै द्विविधा नरहेको बताउँछन्।
रामजानकीको विवाहका बेला, जानकीकै आग्रहमा भगवान रामले आफ्नो बाणले गंगालाई जनकपुरमा आमन्त्रित गरेको इतिहासकार दावी गर्छन्।
त्रेता युगमा मिथिला नरेश निमीको श्रापबाट पुरै शरीर गलिसकेको थियो, त्यसपछि उनको शरीरलाई मन्थन गरियो जसबाट मिथि नाउँका बालकको जन्म भएको थियो। सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदी तथा सरोवरहरुबाट पानी ल्याइयो, सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको इतिहास छ।
रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव भन्छन् ‘अहिले पनि प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवमा मटकोर गंगासागर पोखरीमै हुन्छ र अन्य विशिष्ट उत्सवमा पनि गंगासागर पोखरीकै पानी ल्याउने गरिन्छ। यसले पनि गंगासागर पोखरीको महत्व दर्शाउँछ।’