राम सागर रामस्वरुप बहुमुखी क्याम्पस धराशायी हुने अवस्थामा पुगेको छ।
पछिल्लो समय शैक्षिकस्तर खस्कँदै गएपछि क्यापस धराशायो अवस्थामा पुग्न लागेको हो।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये विं सं.२०१६ सालमा स्थापित शैक्षिक दृष्टिले प्रथम स्थान ओगट्न सफल राराव क्याम्पस वि.सं. २०६० सालसम्म ‘क’ वर्गमा सूचीकृत थियो। तर अहिले यो क्याम्पसको स्तर ग वर्गमा झरिसकेको छ।
केही वर्ष अगाडिसम्म १५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने यस क्याम्पसमा अहिले आएर मुश्किलले २ हजार विद्यार्थी अध्ययनरत छन्।
मैथिली केन्द्रीय विभाग राराव क्याम्पस हाताभित्रै छ। विभागमा कर्मचारीहरू समयमा आउँदैनन् भने प्राध्यापकहरू कहिलेकाहीँ मात्रै क्याम्पस पुग्ने गर्छन्।
अधिकांश शिक्षकहरू घरमा बसेर तलब खाने गरेका छन्। एक जना कर्मचारीका अनुसार उनीहरू मन लागेको समयमा आउने र जाने गरेका छन्। शिक्षकमात्र होइन विभागका कर्मचारीको हाल पनि त्यस्तै छ। उनीहरू पनि मन लागेको बेला आउने र हाजिर गरेर घर फर्किने गरेका छन्। कर्मचारीहरू १२ बजेसम्म कार्यालयमा नआउने गरेकाले पठनपाठन प्रभावित बन्दै गइरहेको छ।
दुई वटा कोठामा केन्द्रीय मैथिली विभाग सञ्चालनमा रहेको छ। केन्द्रीय विभागमा अहिले ५ जना शिक्षक कार्यरत रहेका छन्। त्यसैगरी १५ जना विद्यार्थी अध्ययनरत छन्।
विभागीय प्रमुखदेखि लिएर एक जना लेखापाल समेत आफू खुसी कार्यालयमा आउने गरेको राराबका क्याम्पसका कर्मचारीको कथन छ।
विभागका कर्मचारी तथा प्राध्यापकका लागि प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आएको छ। विद्यार्थीहरू नै नआएपछि त्यतिकै बसेर घर फर्कनु परेको मैथिली विभागका प्राध्यापक रुपेश सिंह बताउँछन्।
क्याम्पसमा कार्यरत १ सय २ जना स्थायी प्राध्यापक र ५० अस्थायीमध्ये अधिकांश हाजिरी गरी तलब बुझ्ने गरेका छन्।