हजुरआमाका कथा
डोटीको मौवाबाट काठमाडौं आएका पार्वती र मनिराम ओझाकी छोरी हुन्, भगवती।
१९९४ मंसिर ९ गते ठमेलमा जन्मिएकी भगवती 'भाग्यमानी' थिइन्- त्यो जमानामा पनि स्कुल गएर पढ्न पाइन्।
लैनचौरस्थित शान्ति विद्या गृहमा पढ्दै गरेकी भगवतीको नौ वर्षमै बिहे भयो। उनका श्रीमान डिल्लीराज उप्रेती १८ वर्षका थिए।
कलिलैमा बिहे भए पनि उनी माइतै बसिन्। पढाइ छुटाउन हुँदैन भन्दै श्रीमानले नै माइतीमै बसाएको ८२ वर्षीया भगवती उप्रेतीले सुनाइन्।
'माइतीमै बसेर दस कक्षासम्म पढेँ,' उनले भनिन्, 'एसएलसी भने दिइनँ। घर बोलाउनुभयो।'
घर आएको चार-पाँच वर्षपछि उनकी जेठी छोरी जन्मिइन्।
८२ वर्षीया भगवतीको बिहे ९ वर्षमै भयो। बिहेपछि पनि पढाइलाई निरन्तरता दिँदै उनले दस कक्षासम्म पढिन्। तस्बिरः नारायण महर्जन/सेतोपाटीत्यसपछिका १०/१२ वर्ष यत्तिकै बिते। श्रीमान डिल्लीराज त्रिचन्द्र कलेजमा विज्ञान पढाउँथे।
एकदिन डिल्लीराजका नाममा युनेस्को, प्यारिस (फ्रान्स) बाट पत्र आयो।
'त्यहाँ काम गर्ने नेपाली मान्छे कोही छैन भनेर युनेस्को प्यारिसमा काम गर्ने भए आउनू भनेको रहेछ,' भगवतीले सुनाइन्।
उनका अनुसार डिल्लीराज एकपटक शिक्षा मन्त्रालयको टोलीसँगै एउटा बैठकमा सहभागी हुन प्यारिस गएका रहेछन्। त्यो बेला विदेशतिर पठाउनुपरे अलि पढेलेखेको मान्छे नै खोज्थे। त्यही क्रममा भगवतीका श्रीमान पुगेछन्। त्यहाँ गएका बेला डिल्लीराजले एउटा निवेदन छाडेर आएका रहेछन्।
'त्यसैका आधारमा युनेस्को प्यारिसमा नाम निस्केको छ, काम गर्ने भए तुरुन्त खबर गर भन्दै पत्र आएको थियो,' भगवतीले भनिन्।
फ्रान्समा काम गर्ने प्रस्ताव पाएपछि खुसी नहुने कुरै भएन। तर, विदेश गएर काम गर्न सरकारबाट अनुमति लिनुपर्थ्यो। अनुमति लिन जाँदा 'नेपालको मान्छे विदेशमा काम गर्न जान दिँदैनौं' भन्दै फिर्ता गरिएको उनले बताइन्।
त्यसपछि डिल्लीराजले आफ्ना मन्त्री मामा शिवराज पन्तलाई भनेछन्। उनैको पहलमा तत्कालै पासपोर्ट बनाएर डिल्लीराज जागिर खान प्यारिस पुगे।
डिल्लीराज उप्रेती युनेस्कोमा काम गर्ने पहिलो नेपाली भएको भगवतीको दाबी छ।
भगवती र उनका श्रीमान डिल्लीराज उप्रेती। तस्बिरः भगवतीको पारिवारिक संकलनश्रीमान गएको ३/४ महिनापछि भगवती पनि उतै गइन्। चार वर्षे छोरालाई आफ्नी आमासँग काठमाडौंमै छाडिन् भने ठूली छोरी साथै लगिन्। त्यो बेला उनी ७/८ महिनाकी गर्भवती पनि रहिछन्।
'गर्भवती अवस्थामा त्यति टाढा जान अप्ठ्यारो भएन?'
'खुसीले होला, केही अप्ठ्यारो महशुस भएन। म यहाँबाट वीरगन्ज पनि नदेखेको मान्छे, एकैपटक ठूलो जहाज चढेर विदेश,' उनले त्यो बेलाको उत्साह दर्शाउँदै भनिन्, 'जहाज चढ्दाको अनुभव त के हो के। त्यो अनुभव म शब्दमा व्याख्या गर्नै सक्दिनँ।'
पहिलोपटक त्यति टाढा जाँदा पनि उनलाई डर लागेन रे। श्रीमान भएकै ठाउँमा जाँदैछु भनेर ढुक्क थिइन्। श्रीमानले नै 'तिमी यता आऊ' भनेर मान्छे नै पठाएपछि उनी हिँडेकी रहिछन्।
काठमाडौंबाट कलकत्तासम्म ती व्यक्ति साथै गएछन्। कलकत्तामा उनका काका थिए, डाक्टरी पढ्दै गरेका। भगवतीले सहयोग मागिन्।
'एकरात होटल बसेँ। भोलिपल्ट काकाले एयरपोर्ट पुर्याइदिनुभयो। कलकत्ताबाट सिधै प्यारिस। त्यहाँ एअरपोर्टमै श्रीमान हुनुहुन्थ्यो,' उनले आफ्नो पहिलो विदेश यात्राका क्षण सुनाइन्।
'ओहो, सुरूमा त म त्यहाँका मान्छे देखेर छक्कै परेँ। यहाँको सम्झिँदा दुई फरक लोकका मान्छे जस्तो लाग्ने। एकअर्काको हात समाउँदै, अंगालो मार्दै, टाँसिदै हिँडेका है। मलाई त लाज लाग्या जस्तो पनि भयो,' दशकौं अघिको अनुभव सम्झिँदै उनले भनिन्, 'यता त श्रीमानसँगै पनि अरूका अगाडि बोल्न हुन्थेन। लाज लाग्थ्यो।'
फ्रेन्च भाषा कक्षा, प्यारिसमा भगवती र उनका समकक्षीहरू। तस्बिरः भगवतिको पारिवारिक संकलनविस्तारै उनले प्यारिसको चलन बुझ्न थालिन्। बाहिर निस्केर यताउता घुम्न थालिन्।
उनलाई समस्या त्यो बेला भयो, जब मान्छेसँग कुराकानी गर्न सकिनन्। फ्रान्सेलीहरू अंग्रेजी बोल्थेनन्।
'अलि टाकटुक अंग्रेजी त बोल्न सक्थेँ। तर उनीहरू अंग्रेजी नबोल्ने। अर्काको भाषा बोल्नै नमान्ने एकदमै घमन्डी,' उनले भनिन्।
विदेश बसाइ रमाइलो भए पनि भाषा नजान्दा अप्ठ्यारो परेको क्षण उनको दिमागमा ताजै छ।
उनले आफूसँगै लिएर गएकी छोरीलाई स्कुल भर्ना गरिन्। छोरी लिन-पुर्याउन जानुपर्थ्यो। भगवतीले मौका छोपिन्। बच्चा लिन आएका फ्रान्सेली आमाहरूसँग संगत बढाइन्। घुलमिल हुन थालिन्। विस्तारै उनीहरूले बोलेका कुरा एउटा-दुइटा सिक्न थालिन्। यतिले मात्र त्यहाँ जम्न भने मुश्किल थियो।
'म यहाँ बसेर कामै छैन, बहुलाउँछु भन्ने जस्तो भयो। अनि श्रीमानले पनि फ्रेन्च नसिकी हुँदैन भन्नुभयो। त्यसपछि ग्रामोफोनजस्तो रेकर्ड प्लेयर ल्याएर सुन्न थालेँ। चौबीसै घन्टा सुन्थेँ होला। फ्रेन्च भाषाको किताब पनि हेर्न थालेँ,' उनले सुनाइन्, 'बच्चा लिन जाँदा अरू बोलेको सुन्ने। यस्तै गरेर मैले किताबको दुई सय पेज कन्ठै पारेँ।'
पछि उनी भाषा सिक्ने स्कुल भर्ना भइन्। सानी छोरीलाई खाना खुवाएर कोठामै सुताएर कक्षा जान्थिन्।
'बच्चालाई एक्लै छाडेर जान पाइन्थ्यो?'
'पाइन्थ्यो। हामी बसेको घरको तल्लो तलामा घर रेखदेख गर्ने मान्छे थिए। उनैलाई भनेर जान्थेँ। मेट्रोबाट आउजाउ गर्दा तीन घन्टामा आइपुग्थेँ। श्रीमानले पनि पछि त्यहीँ बेलुकी कक्षामा भाषा सिक्नुभयो। उहाँ अफिस सिध्याएर जाने, म दिउँसो,' उनले भनिन्।
भगवती छोरा-बुहारी, छोरी र नातिनातिनासँग अमेरिकामा। तस्बिरः भगवतिको पारिवारिक संकलनयो सन् १९६०/६१ तिरको कुरा होला।
फ्रेन्चमा पोख्त हुन भगवतीले धेरै मिहिनेत गरिन्। करिब अढाइ वर्ष पढेर भाषामा डिप्लोमा नै गरिन्। गाडी चलाउन सिकेर लाइसेन्स पनि लिइन्।
'मैले त पहिलो जाँचमै लाइसेन्स पाएँ, श्रीमानले ३/४ चोटि दिनुपर्यो। उहाँ अलि डराउने के,' उनले हाँस्दै सुनाइन्।
उनी विभिन्न समयमा गरी करिब १२ वर्ष फ्रान्स बसिन्। श्रीमान पछि फ्रान्सका लागि नेपाली राजदूत भएका थिए। त्यो बेला पनि उनी साथै गइन्।
उनलाई फ्रान्सले धेरै परिवर्तन गराए पनि लवाइमा सकेन। सारीचोलो छाडिनन्।
'कहिलेकाहीँ अरू लुगा लगाए पनि बाहिरफेर हिँड्दा सधैं सारी नै लगाएँ। किनकि युनेस्को ठूलै संस्था हो। श्रीमान त्यहाँको पहिलो नेपाली कर्मचारी। अब देशको पहिचान र इज्जतका लागि पनि सारी नै लगाएँ। पछि राजदूत भएर गएपछि त झन् कुरै भएन,' उनले भनिन्।
युनेस्कोमा जागिर छँदै गर्दा राजा महेन्द्रले उनीहरूलाई 'तिमीहरू जस्तो लायकको मान्छे विदेशमा बस्ने हो, आफ्नै देश फर्क' भनेछन्।
फर्किएपछि श्रीमान विभिन्न सरकारी विभागमा कार्यरत रहे। भगवती आफ्नै सूरमा थिइन्।
सन् १९५६/५७ पछिको कुरा हो- 'थर्ड आई टूर' नामको ट्राभल एजेन्सीमार्फत् एउटा फ्रान्सेली समूह नेपाल भ्रमणमा आउन लागेको रहेछ। फ्रेन्च बोल्ने मान्छे नभए समूह नआउने उर्दी रहेछ।
एजेन्सीका व्यक्तिले श्रीमानलाई अनुरोध गरेछन्, 'भाउजूले फ्रेन्च जान्नुभएको छ। मलाई मद्दत गरिदिनुस् न!'
'मैले त्यस्तो कामै गरेकी थिइनँ। श्रीमानले 'ऊसँग दोभाषे हुन्छ, त्यही दोभाषेले अंग्रेजीमा बोलेको कुरो फ्रेन्चमा भनिदिने हो, तिमी गर्न सक्छौ' भनेपछि म गएँ,' भगवतीले भनिन्।
त्यहाँबाट भगवतीको 'गाइड' यात्रा सुरू भयो। उनी फ्रेन्च बोल्ने पहिलो नेपाली महिला 'गाइड' बनिन्। त्यो बेलाको समाजमा घरबाहिर काम गरेर आम्दानी गर्ने महिला विरलै हुन्थे, भगवती उदाहरणीय बनिन्।
भगवती, उनकी आमा, छोरी, नातिनी र पनाति गरी पाँच पुस्ता। तस्बिरः भगवतीको पारिवारिक संकलनकति पैसा दिए त पहिलोपटक?
'त्यो त बिर्सिएँ। पैसा पाएपछि दंग परिहालेँ। त्यो समूह तीन/चार दिनलाई थियो। पछिपछि फ्रान्सेली आए भने मलाई नै बोलाउँथे। धेरै ट्राभल एजेन्सीले 'अफिसमा आएर काम गरिदेऊन' भन्थे। तर श्रीमानले 'अफिसमै चाहिँ नजाऊ, सहयोग गर्ने हो, जुन एजेन्सीमा गए पनि फ्रिल्यान्स गर' भन्नुभो,' उनले भनिन्।
अनि घरपरिवारकाले केही भन्थेनन्?
उनका अनुसार सासूले केही भनिनन्। ससूरा पहिल्यै बितिसकेका। जेठाजु पुष्करनाथ उप्रेती (मन्त्रीसमेत भइसकेका) ले भने 'त्यत्रो मीर सुब्बाकी बुहारी भएर त्यो अंग्रेजलाई घुमाउन जाने? हुँदैन' भनेका रहेछन्।
घरको कुरा गर्दा भगवती भन्छिन्, 'सासूको सबैलाई माया गर्ने बानी थियो। उहाँ पूजाकोठामा राखेर पूजा गर्नु जस्तो स्वाभावको हुनुहुन्थ्यो।'
आर्थिक अवस्था बलियो थियो। घरमा कामदार थिए। भातभान्साको काम भने बुहारीहरूले नै गर्नुपर्थ्यो। तर पनि सासूले भगवतीले पकाएको कहिल्यै खाइनन् रे!
भगवती 'सात समुद्र काटेर विदेश गएकी, बाहिरफेर हिँडिरहने हुँदा जतासुकैको खाएकी' भएकाले उनले छोएको भातभान्सा सासूलाई चलेन। विदेशबाट फर्केपछि सासूले उनलाई 'गौदान' नै गर्न लगाइन्।
जसले जे भने पनि भगवतीलाई श्रीमानले सधैं साथ दिएको उनी बताउँछिन्। फ्रान्सेलीलाई घुमाउने विषयमा जेठाजुले नमाने पनि 'तिमी हिम्मत गर्छौ भने जाऊ, म तिमीलाई साथ दिन्छु' भने।
भगवतीले ८/१० वर्ष नेपाल घुम्न आउने फ्रान्सेलीहरूका लागि भाषा अनुवादकको काम गरिन्। तस्बिरः नारायण महर्जन/सेतोपाटीयसपछि भगवती नेपाल भ्रमणमा आउने फ्रान्सेलीहरू घुमाउन थालिन्। जाने दिन उनलाई एजेन्सीको गाडी लिन आउँथ्यो।
छिमेकी र केही आफन्त झ्यालबाट चियो गर्दै कुरा काट्थे, 'अंग्रेजसँग हात मिलाएर हिँड्छे। उनीहरूले छोएको खान्छे।'
कुनै फ्रान्सेलीले आफ्नो चलनअुनसार माया वा स्नेह देखाउन हातमा चुम्बन गरेको देखे त भुइँचालै आउँथ्यो। तै भगवती निराश भइनन्। काम गर्न छाडिनन्। धर्मराइन् भने श्रीमान भन्थे, 'मैले तिमीलाई विश्वास गरेको छु। तिमीले दायाँबायाँ कुरा सुन्नु पर्दैन।'
यसरी उनले ८/१० वर्षसम्म काम गरिन्।
'आफैं पैसा कमाउन थालेपछिको अनुभव सुनाउनु न?'
'वाह! हामीले नि केही गर्न सक्दा रहेछौं भन्ने भयो। पैसा आउँदो रहेछ। तर त्यो बेला हिम्मतका साथै कसैको सपोर्ट पनि चाहिन्थ्यो। श्रीमानले दिनुभयो।'
एउटा रमाइलो घटना भएछ। उनका श्रीमान 'डाइरेक्टर जनरल अफ टुरिजम्' थिए। मोरक्को दूतावासले आफ्नो राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि भोज गर्दै आएको रहेछ। यही क्रममा भगवतीलाई उक्त पार्टी सहजीकरण गर्ने प्रस्ताव आयो। भारत, दिल्लीस्थित मोरक्को दूतावासबाटै फोन आएको उनी बताउँछन्।
मोरक्कनहरूले नि फ्रेन्च नै बोल्थे?
'हो त, अंग्रेजी नजान्ने। फ्रेन्च नै बोल्ने,' उनले भनिन्, 'अब बोलाएपछि जानुपरिहाल्यो। फेरि पछि 'पार्टीको तयारी पनि तिमी नै गरिदेऊ' भन्न थाले। त्यति बेला दरबारको मान्छे पनि पार्टीमा आउँथे।'
प्रेक्षा राज्यलक्ष्मी शाह (बायाँ) र मोरक्कोका राजदूतकी श्रीमती (दायाँ) सँग भगवती (बीचमा)। तस्बिरः भगवतीको पारिवारिक संकलनत्यो बेला उनका श्रीमान डिल्लीराज उप्रेतीलाई पनि पार्टीमा निम्तो थियो, 'मिसेस उप्रेती' अर्थात् भगवतीलाई पनि। यो कहिलेको कुरा हो, उनलाई याद छैन। तर घटना विवरण प्रस्ट छ।
उनले दिनभर राजदूतसँगसँगै बसेर काम गरिन्। बेलुका पार्टी थियो। बिहान सात बजेदेखि तयारीमा लागेकी उनले साँझ लुगा फेर्नसमेत भ्याइनन्।
'श्रीमानलाई सोल्टी होटलबाट फोन गरेर 'तपाईं जानू, म यतैबाट आउँछु भनेँ,' उनले भनिन्।
'फोन थियो त्यो बेला?' उनलाई मिति थाहा नभएकाले सोधेँ।
'सोल्टी होटलमा थियो। मेरो घरमा पनि ल्यान्डलाइन थियो।'
श्रीमानलाई त्यति भनेर फोन राख्न पाएको छैन, उनलाई मञ्चमै बसेर दोभाषेको काम गर्न अह्राए। श्रीमान पनि आइसकेका थिए। भगवती मञ्चमै बस्ने कुरा श्रीमानलाई थाहा थिएन।
'मलाई मञ्चमा देखेर श्रीमान छक्क पर्नुभयो। त्यसरी आपतकालीन अवस्थामा पनि सबै काम गरियो,' उनले सुनाइन्।
फ्रेन्च जानेकै कारण भगवतीले धेरै देख्न, घुम्न र सिक्न पाइन्।
यस्तैमा सन् १९८३ मा फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितराँ एकदिने भ्रमणमा नेपाल आउने भए। त्यसै दिन राजकीय भोज पनि गरिने भएछ। त्यसमा पनि दोभाषेका रूपमा भगवतीलाई नै दरबार बोलाइयो।
धीरेन्द्र शाह, प्रेक्षा शाह र मोरक्कोका राजदूत दम्पत्तिसँग भगवती। तस्बिरः भगवतीको पारिवारिक संकलनदरबार जाँदा कस्तो अनुभव भयो त?
'दरबार त दरबारै भयो नि। तर त्यति बेलासम्म मलाई पनि अलिअलि थाहा भइसकेको थियो। अगाडिका कामका अनुभवले धेरै सिक्न पाएकी थिएँ। त्यो दिन मलाई एक जना मन्त्रीसँगसँगै बसेर काम गर्न भने। राति डिनर थियो। विदेशी पाहुनाहरूको भिडमा म मात्रै थिएँ। श्रीमान हुनुहुन्थेन,' उनी भन्दै गइन्, 'त्यो दिन हो मलाई मैले राम्रै काम गरेछु जस्तो लागेको। दरबारसम्म आएर यसरी ठूला मान्छेसँग बसेर गफ गर्न पाएँ भन्ने लाग्यो। एकदमै खुसी भएकी थिएँ।'
त्यसपछि सन् १९८४ मा राजा वीरेन्द्रका पालामा डिल्लीराज फ्रान्सका लागि नेपाली राजदूत भए। राजा वीरेन्द्र उप्रेती दम्पत्तीले फर्रर फ्रेन्च बोलेको सुनेर पहिल्यै प्रभावित थिए। वीरेन्द्र र उनीहरू निकट भएको भगवती बताउँछिन्।
प्यारिस हुँदाकै कुरा हो। वीरेन्द्र युवराजधिराज थिए। लन्डनको इटन कलेज पढ्थे। प्यारिस आउँदा उनका श्रीमानसँग उनीहरूकै गाडीमा हिँडेको भगवतीले बताइन्।
'वीरेन्द्रले हामीलाई तिमीहरू श्रीमान-श्रीमती नै यस्तो राम्रो फ्रेन्च बोल्ने रहेछौ भन्नुभएको थियो,' उनले भनिन्।
राजदूत भएपछि डिल्लीराज र भगवती फेरि प्यारिस गए।
'प्यारिस लाइफ त अर्कै हो,' उनले दंग पर्दै सुनाइन्।
श्रीमानसँगै गएकी उनी 'राजदूत पत्नी' मात्रै भएर बसिनन्। उनी भन्छिन्, 'दोस्रोपटक जाँदा म धेरै सक्रिय भएर बसेँ। प्यारिस बाहिरका गाउँगाउँ गएर नेपालबारे स्लाइड देखाउँदै जानकारीहरू दिन्थेँ।'
कसरी आयो त त्यो आइडिया?
'दुई जना फ्रान्सेली साथीहरूले नेपालबारे स्लाइड हेर्न पाए हुन्थ्यो भने। 'तिम्रो फ्रेन्च राम्रो छ, आफ्नो देशका गाउँठाउँबारे पनि थाहा छ। तिमीले गरेको जति अरूले गरेर हुँदैन' भन्न थाले। अनि मैले आँटे। नेपालबाट स्लाइड मगाएँ। सहरभन्दा परपर ४/५ घन्टाको बाटो पार गरेर सबै स्लाइड देखाउँदै नेपालबारे बताउँथेँ। त्यसले मेरो श्रीमान त्यहाँ भएका बेला पर्यटन पनि बढ्या थियो नि,' उनले उत्साहित हुँदै सुनाइन्।
भगवती आफ्नो घरमा। तस्बिरः नारायण महर्जन/सेतोपाटीहुन त यो काममा पनि उनीमाथि औंला नउठेको होइन। 'राजदूतकी श्रीमती भएर यस्तो ठाउँमा आएर यस्तो काम गर्ने' भन्नेहरू पनि थिए।
'कसले भन्थ्यो, नेपालीले नै?'
'हो नि। अनि म उनीहरूलाई भन्दिन्थे 'राजदूतसँग हिँड्दा म उनकी श्रीमती। अरू बेला म नेपाली जनता। जनताले देशको निम्ति गर्या हो।'
भगवतीले प्यारिस छाडेको उहिल्यै हो, तर उनलाई प्यारिसको सम्झनाले छाडेन। त्यहाँका बाटो, गल्ली, कुनाकुना चिन्छु भन्छिन् उनी।
उनका चार सन्तान छन्। तीन छोरी सोमा, लिली, ब्रिजित र छोरा किशोरमध्ये जेठी छोरी सोमाले प्रारम्भिक शिक्षा फ्रान्सबाटै गरेकी हुन्। उनी फ्रेन्च भाषा शिक्षकसमेत हुन्।
फरासिली र 'स्मार्ट' भगवती उमेर आठ दशक कटिसकेको भनेर पत्याउन मुश्किल हुन्छ। नहोस् पनि किन, उनी ऊर्जाशील जो छन्। गीत गाउन, रमाइलो जमघट र यात्रा गर्न भनेपछि हुरूक्कै हुन्छिन्।
'यस्तो फिट हुनुहुन्छ, कसरी?'
'सकेसम्म बिहान, नसके बेलुका दैनिक ४० मिनेटजति हिँड्छु। उठ्नासाथ एक चम्चा आलस र एक केस्रा काँचो लसुन खान्छु। त्यसपछि दुई गिलास पानी र चिया खान्छु। अरू केही गर्दिनँ,' उनले आफ्नो 'फिटनेस' को राज खुलाइन्। मधुमेह र उच्च रक्तचाप छ। यसलाई उनी सामान्य नै ठान्छिन्।
'उबेला पनि तपाईं त्यति सक्रिय भएर यहाँसम्म आइपुग्नुभयो। अहिलेको पुस्तालाई केही भन्नुहुन्छ?'
'अहिलेका पुस्ता हामीभन्दा धेरै बुद्धिमान छन्। मेरो पुस्तामा म आफैं कम थिइनँ। घमन्ड नि गर्छु। मेरो उमेर, समय र क्षमताअनुसार काम गरेकै हुँ। महिला भनेर पछि परिनँ। अब पनि बूढी भएँ भनेर बस्दिनँ। जे सकिन्छ गर्ने। काम जे गर्दा पनि हुन्छ, लाज हुँदैन। नचाहिने काम पो नगर्नू। अहिलेको पुस्ताले यति धेरै सुविधा पाएका छन्, विद्वान छन्, यसको सही प्रयोग गरून्।'
भगवती भन्छिन्, 'जे सकिन्छ त्यही काम गर्ने। काम गर्दा लाज हुँदैन।' तस्बिरः नारायण महर्जन/सेतोपाटी