वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ।
रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो।
जावलाखेलमा आज विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भयो। भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरिन्।
भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरू, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए।
भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।
त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरे।भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ।
समापनसँगै मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरू भएको जनविश्वास छ। वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ। यसै अवसरमा सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको थियो ।