नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भीठ्ठामोड सडक खण्डको कार्य प्रगति शून्य देखिएको छ।
चार वर्षमा सक्नु पर्ने कामको समयावधि सक्न चार महिना मात्रै बाँकी रहँदा कार्य प्रगति शून्य देखिएको विकास तथा प्रविधि अनुगम समितिले ठहर गरेको छ।
संघीय संसद अन्तर्गत रहेको विकास तथा प्रविधि समितिले सांसद ईन्दु शर्माको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समिति बनाएको थियो। सो समितिले गरेको स्थलगत अनुगमनका क्रममा कार्य प्रगति शून्य रहेको पाएको छ।
अनुगमनको क्रममा सडकको कार्यमा गुणस्तरहीन, सम्झौता विपरित कार्य भएको पाइएको समिति संयोजक इन्दु शर्माले जानकारी दिइन्।
जनकपुरदेखि भिठ्ठामोडसम्म कूल १८ किलोमिटरको सडकखण्ड निर्माणको जिम्मा दुई ठेकेदार कम्पनीले पाएका छन्। दुबै ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगरेको समितिको ठहर छ।
अब ४ महिना मात्र समय बाँकी रहेकोले समयमै काम नसकिने शर्माले बताइन्। ‘सडकमा प्रयोग गरिएको माटो सडक छेउबाट नै झिकिएको छ, सडक गुणस्तरहीन हुनेमा कुनै आशंका छैन’ उनले भनिन्।
शर्माका अनुसार सडकमा माटो पुर्नका लागि मात्रै ७ करोड रकम छुट्याएको थियो। यसले सडकको माटोमा समेत भ्रष्टाचार भएको समितिको ठहर छ।
समितिले ठेक्कामा संलग्न ठेकेदार र कर्मचारी सबैलाई अनुसन्धानको घेरामा राखेको छ। समितिले प्रतिबेदन बुझाउँदा कारबाहीको लागि समेत सिफारिस गर्ने शर्माले जानकारी दिइन्। ऐतिहासिक र व्यापारिक मार्गको रुपमा बहुचर्चित सडक खण्डको दुरावस्थाबारे बारम्बार सूचना माग्दा समेत उपलब्ध नगराएको गुनासाहरु आएको समितिले औंल्याएको छ।
सडकलाई स्तरोन्नति गर्नका लागि दबाव दिने अनुगमन समितिले जनाएको छ। अनुगमन समितिकी अर्का सदस्य मिनाक्षी झाले भौतिक मन्त्रालय र अन्य सरोकारवालालाई बारम्बार यस विषयमा ध्यानाकर्षण गराएको स्पष्ट पारिन्।
भारत- नेपाल जोड्ने यो महत्वपूर्ण सडक भएको भन्दै उनले कुनै प्रकारको बहाना अब छुट नदिइने बताइन्। कागजमा देखाइएको प्रगति सडकमा न देखिएको भन्दै उनले भनिन् ‘यो प्रगति विवरणमा देखाईएको प्रतिशत बिल्कुल गलत छ, स्थलगत निरीक्षण गर्दा त्यस्तो पाइएन।’
अनुगमनको क्रममा समितिले धनुषा र महोत्तरीको बिभिन्न स्थानमा अन्तरक्रिया गरेर स्थानीयको बुझाई समेत संकलन गरेको छ। २०७३ मा सम्झौता भएको जनकपुर–जलेश्वर–भिट्ठामोड सडक खण्ड आउँदो भदौ ८ गते चार महिनापछि समयावधि सकिँदैछ।