'तडप तडपके इस दिल से आह निकलती रही,
मुझको सजा दी प्यारकी,
ऐसा क्या गुनाह किया,
तो लुट गए, हाँ लुट गए
तो लुट गए, हम तेरी मोहब्बतमेँ ...'
भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आइतबार इटहरी-५ का एघार वर्षीय प्रितम आचार्यले यो गीत गाउँदा भारतीय गायिका ऋचा शर्मा आफ्नो आँशु पुछ्दै थिइन्।
अर्का गायक अमाल मल्लिकले छक्क पर्दै भने, 'यहाँ कसैले गीत गाइरहेको थिएन, लाग्यो कुनै जादू चलिरहेको छ।'
गायक शानले पनि तारिफको पुल बाँधे, 'यो सिजनका दुई उत्कृष्ट गीत छान्ने हो भने दुवै तिम्रै हुनेछ प्रितम।'
अडिसन चरणमै 'सन्देशे आते है, हमे तड्पाते है...' गाएर लाखौं भारतीयसँग 'प्रित' लगाएका प्रितमलाई 'तडप तडपके...' गीतले अन्तत: कार्यक्रमको टप-६ अर्थात् फाइनलमा पुर्यायो।
सुरूआतदेखि नै निर्णायक मण्डल र 'सेलेब्रिटी' पाहुनाहरूको मन जित्दै आएका प्रितम भारतको चर्चित 'रियालिटी शो' विजेता बन्ने अन्तिम प्रतिस्पर्धामा छन्। उनीसँगै नेपालबाट गएका अर्का प्रत्यासी भक्तपुरका आयुष केसी पनि फाइनलमा पुगेका छन्, जसका बारेमा हामी अर्को स्टोरीमा चर्चा गर्नेछौं।
संसारकै एक ठूलो फिल्म उद्योग 'बलिउड' र सवा अर्ब जनसंख्याको बजारयुक्त भारतमा गीत-संगीतलाई राम्रो करिअरका रूपमा लिइन्छ। लाखौं केटाकेटी भविष्यमा किशोर कुमार र मोहम्मद रफी बन्ने सपना देख्दै हुर्कन्छन्। त्यहीअनुसार उच्चस्तरीय तालिम लिन्छन्।
नेपालजस्तो सानो बजार र गीत-संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीयहरूकै माझ उभिएर अब्बल प्रदर्शन गर्नु र उनीहरूलाई नै पछार्दै फाइनलसम्म पुग्नु आफैंमा तारिफयोग्य हो। प्रितम र आयुषले त्यही कोटीको प्रदर्शन गरे, यसपालिको 'सारेगमप' सिजनमा।
प्रितमले आफ्नो सुमधुर आवाजबाट गृहजिल्ला सुनसरीमा धेरैलाई 'मन्त्रमुग्ध' पारेको पाँच वर्षभन्दा बढी भयो।
पाँच वर्षको उमेरमा राम्ररी बोली नफुट्दै उनी स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउँथे। उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, 'रोमान्टिक गीतमा प्रितम बढी रमाउँछन्।'
प्रितमकी आमा राधिका भने उनी भावुक गीतहरू गाउन रूचाउने बताउँछिन्।
फाइनलमा छोराको प्रदर्शन हेर्न सीमावर्ति बाग्डोगराबाट बुधबार मुम्बई जाने तयारी गरिरहेकी राधिकाले मंगलबार सेतोपाटीसँगको कुराकानीमा भनिन्, 'तोतेबोली निस्कँदै उसमा गीत-संगीतको प्रतिभा देखिएको थियो। रोइरहेका बेला म उसलाई गीत सुनाउँथेँ, ऊ रुन छाडेर गीतमा एकोहोरिन्थ्यो।'
राधिका आफैं पनि भजन गाउँछिन्। आमाकै प्रभावले हुन सक्छ, प्रितम सानैबाट गायनमा झुम्मिन थाले।
'बाबु रोयो भने गीतले फक्किन्छ भनेर डिभिडी/भिसिडी प्लेयरमा प्रशस्तै गीत राखेका थियौं,' राधिकाले प्रितमको संगीत मोहबारे भनिन्, 'सानै उमेरमा यति सफल होला भन्ने चाहिँ कल्पनै गरेकी थिइनँ।'
राधिकाका अनुसार प्रितम चार वर्षको हुँदा नै गीत सुनेर कन्ठ पार्न सक्थे। ठूलो भएपछि के बन्ने भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, 'नारायण गोपाल।'
जिटिभीको प्रतिस्पर्धामा नेपाली गीत गाउन लगाउँदा उनले नारायण गोपालकै गीत सुनाएको राधिकाले बताइन्। यसअघि कान्तिपुर टिभीको ‘सुरशाला’मा पनि उनले नारायण गोपालकै गीत गाएका थिए।
प्रितमलाई कान्तिपुर टेलिभिजनले २०६२ मा सञ्चालन गरेको ‘सुरशाला आइडल जुनियर’ को प्रतिस्पर्धामा डोर्याएका थिए– पूर्वकै लोकभाका संगीतकार बलराम समालले।
त्यति बेला प्रितम कक्षा २ मा पढ्थे। उनी स्वर तिखार्न इटहरी–२ स्थित संगीत साधना प्रतिष्ठानमा भर्ना भइसकेका थिए। प्रतिष्ठानका गुरू राजु केसीले प्रितमलाई भरपुर 'गाइड' गरे।
उनकै सिकाइले प्रितम सुरशालाको फाइनलसम्म पुगेर ‘फस्ट रनरअप’ भए। त्यसमा विजयी भएका थिए उनै आयुष केसी, जो अहिले 'सारेगमप' मा सँगै प्रतिस्पर्धा गर्दैछन्।
सुरशाला संगीत प्रतिष्ठानले नै नौ महिनाअघि प्रितमलाई जिटिभीको कार्यक्रम निम्ति आवेदन भर्न लगाएको थियो। 'सुरशाला'का अमृत क्षेत्रीले प्रितमलाई कार्यक्रममा प्रतिस्पर्धा गराउन आफैं अगुवाइ गर्दै परिवारसँग अनुमति मागेका थिए।
सुरशाला एकेडेमीले नेपालबाट दुई बाल प्रतिभालाई जिटिभीमा सिफारिस गरेको थियो- आयुष केसी र प्रितम। यसको निम्ति दुवैले गाएका गीतका भिडिओ प्रतिष्ठानले सारेगमपमा पठायो। जिटिभीले उनीहरूलाई पहिलो चरणको अडिसनबिना सोझै दोस्रो चरणका लागि दिल्ली बोलायो।
दोस्रो चरणको अडिसन दिन आयुष र प्रितमसँगै अरू ८ जना नेपाली केटाकेटी दिल्ली गएका थिए। ‘लेभल टू’ मा आयुष र प्रितम मात्र छानिए।
‘सांगीतिक दुनियाँमा भोलि ऊ कहाँ कसरी अगाडि बढ्ला, त्यो भविष्यको कुरा हो, उसको स्वर कसैसँग तुलना चाहिँ नगरिदिनू,’ राधिकाले अनुरोध गरिन्।
भावनात्मक र चलनचल्तीका आधुनिक गीत गाइरहेका प्रितमले सधैं प्रशंसा मात्र पाएनन्। अडिसन राउन्डमा 'सन्देशे आते हैं' बाट जोडदार सुरूआत गरेका उनले त्यसपछि कहिलेकाहीँ सुधार्नुपर्ने 'टिप्स' पनि पाए।
आफ्नो हाँसो र चञ्चले स्वभावका कारण पनि सबैका प्रिय बनेका प्रितमले गाउँदा-गाउँदै मञ्चमा नाचेर, कलाकारले झैं अभिनय गरेर सबैको मन जित्दै आएका छन्।
लाखौं भारतीयले प्रतिस्पर्धा गर्ने कार्यक्रममा आफूलाई यति अगाडि उभ्याउन सक्नु प्रितमको कला र लगावकै कारण सम्भव भएको उनकी आमा राधिका बताउँछिन्।
आइतबारको सेमिफाइनल प्रदर्शनमा निर्णायक मण्डलको प्रतिक्रियासँगै तीस जना गायक/संगीतकारको जुरीबाट उनले 'चार्ट बस्टर १०० अंक' पाए। जुरीका सदस्यले उनलाई काँधमै बोके।
यो खुसीमा उनका बाबु काशीनाथ आँखाभरी आँशु पारेर ताली पिट्दै थिए। छोरालाई गायनको लयमा साथ दिन उनी मुम्बई पुगेका छन्।
‘उहाँ बेतलबी बिदामा बस्नुभएको छ,’ श्रीमती राधिकाले भनिन्, ‘छोरो कलिलै भएकाले एक्लै आउजाउ गर्नसक्ने अवस्था छैन, उहाँ आफैंले विशेष ध्यान दिइरहनुभएको छ।’
उनका बुबा काशीनाथ टाटा कम्पनीको इटहरीस्थित सिप्रदी ट्रेडिङका ‘मेकानिक’ हुन्।
'उहाँलाई पनि गायक बन्ने रहर थियो,' दर्शकदीर्घामा काशीनाथ कुर्सीबाट उठेर किन रोए होलान् भन्ने प्रश्नको जवाफ दिँदै राधिकाले भनिन्, 'तर उहाँले आफ्नो रहर पूरा गर्न पाउनुभएन। सायद आफ्नो विगत सम्झिनुभयो। छोराले पाएको प्रशंसामा आफ्नो सफलता देख्नुभयो।'
काशीनाथका आमाबाबुले उनको गायक बन्ने बाटो रोकिदिएका रहेछन्। ‘गायक बन्न नपाएको धेरै गुनासो उहाँ गर्नुहुन्थ्यो,' राधिकाले भनिन्।
पारिवारिक बाध्यता र त्यस बेलाको परिस्थितिसामु काशीनाथले गायक बन्ने इच्छामा सम्झौता गर्नुपरेको थियो। ४७ वर्षीय काशीनाथले अहिले आफ्नो सपना छोरामा देखेका छन्।
यता आमा राधिका झनै उत्साहित छन्। 'सानै उमेरमा छोराले यस्तो प्रतिभा देखाएको छ,' उनी भन्छिन्, 'अब फाइनलका लागि हामी सबै जाँदैछौं।'
छोरी प्रियासँगै राधिका र प्रितम पढिरहेको विश्व आदर्श अंग्रेजी बोर्डिङका प्रधानाध्यापक गणेश दुलाल लगायतको टिम बुधबारै मुम्बई जाँदैछ।
प्रितमको स्वरलाई सूरमा ढाल्न बाटो देखाउने संगीत साधना प्रतिष्ठान, इटहरीका राजु केसी प्रितमलाई 'लम्बे रेसको घोडा' देख्छन्।
‘प्रितमको आवाज कर्णप्रिय छ, ऊ एक दिन चर्चित गायक बन्छ,’ केसीले भने, ‘उसलाई पूर्ण गायक बनाउन थप शिक्षा चाहिँ खाँचो छ।’
नेपालमा संगीत साधनाका पाठशाला निकै कम छन्। पारिवारिक स्थिति र पढाइका कारण उनलाई कुनै ठूलै पाठशाला लैजान सक्ने अवस्था अहिल्यै नभएको केसीले बताए। शिक्षा मन्त्रालयले ‘राष्ट्रिय शिक्षा नीति’ मा ‘भोकेसनल शिक्षा’ को अवधारणा प्राथमिकतामा राखेको छ। यो मन्त्रालयमा छलफलकै क्रममा छ।
यो नीति लागू भए प्रतिष्ठानले माध्यमिक तहको संगीत शिक्षालय स्थापना गर्ने तयारी गरेको छ। २०५० सालमा स्थापित प्रतिष्ठानले परम्परागत रूपमा ‘गुरुकुल’ माध्यमबाट संगीत शिक्षा दिइरहेको छ। यहाँ प्रितमजस्तै ४० जना विद्यार्थीले गीत-संगीत सिकिरहेका छन्।
परम्परागत अभ्यासबाटै प्रितमले विशिष्ट प्रतिभा देखाइरहेको भन्दै केसीले उनलाई गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए।
प्रतिष्ठानका अतिरिक्त प्रितम संगीत सिक्न सुनसरीकै शिक्षक विनय राई, भूपेन्द्र राई लगायतकहाँ नियमित जाने गरेका छन्। यसो गर्दा उनको औपचारिक पढाइमा बाधा पुगिरहेको छ। प्रितम कक्षा ६ मा पढ्छन्। कार्यक्रमका लागि बाक्लै बिदा बस्नुपरेको छ। स्कुलका नियमित परीक्षामा सामेल हुन सकेका छैनन्।
आमाबुबालाई यसको धेरै चिन्ता भने छैन। प्रितमको पढाइ र परीक्षाका लागि स्कुलले अनुकूल वातावरण बनाइदिने भनेको छ।
‘पढाइ बिग्रेला भन्ने पीर त छ, तर सरहरूले सहयोग गर्छौं भन्नुभएको छ,’ फाइनल हेर्न जाने पूर्वसन्ध्यामा राधिकाले भनिन्।
फाइनलमा पनि छोराले राम्रो प्रस्तुति दिनेमा राधिकालाई कुनै शंका छैन। तर, प्रतियोगिता कसले जित्छ भन्ने सारेगमपको निर्णायक टोलीमा मात्र निर्भर छैन। ‘भोटिङ’ प्रक्रिया छैन। प्रितमले कार्यक्रममा गाएका भिडियोमा लाइक, सब्सक्राइब र कमेन्टहरूका आधारमा पनि नतिजा तय हुनेछ।
सारेगमप कार्यक्रम जिटिभीमा सबभन्दा लामो समयदेखि चल्दै आएको कार्यक्रम हो। सन् २०१९ सम्म आइपुग्दा यो कार्यक्रमले २३ वर्ष पूरा गरिसकेको छ।
सारेगमप लिटिल च्याम्प्स भने सन् २००६ बाट सुरू भएको हो। गत फेब्रुअरी ९ बाट सुरू भएको सारेगमपको यो सातौं सिजन हो। यसमा ५ देखि १४ वर्षका बालबालिका सहभागी हुन पाउँछन्।