कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालित नर्सिङ होम, पोलिक्लिनिक तथा मेडिकल हलहरू मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको छ।
वीरेन्द्रनगरका पाँच वटा स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा सञ्चालितमध्ये कुनैमा दर्ताबिना ल्याब सञ्चालन गरेको पाइएको छ भने कतिपय अनुमति लिएकाले पनि मापदण्ड पूरा नगरेको, ल्याब परीक्षणको नमूना संकलन गरेर अन्तै पठाउने गरेको पाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झासहितको टोलीले सोमबार वीरेन्द्रनगरस्थित गुरुङ नर्सिङ होम, तृप्ती मेडिकल हल, सृजना पोलिक्लिनिक, आशा मेडिकल हल र सुवास मेडिकल हलको अनुगमन गरेको थियो।
निर्देशक झाका अनुसार जुम्लारोडको गुरुङ नर्सिङ होमले बिरामीको नमूना परीक्षण संकलन गरेर प्रदेश अस्पतालको नामबाट बाहिर पठाउने गरेको पाइएको छ। नर्सिङ होममा टेष्ट लिष्ट अनुसार परीक्षण सुविधा पनि नपाइएको र प्रयोगशाला र जनशक्ति अभाव देखिएको डा. झाले जानकारी दिइन्।
तृप्ती मेडिकल हलले अनुमति नलिएर ल्याब चलाएको पाइएको छ।
‘औषधि पसलले जनशक्ति र मापदण्ड नपुर्याएरै ल्याब सञ्चालन गरेको पाइयो,’ उनले भनिन्, ‘तृप्ती मेडिकललाई तत्काल बन्द गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं।’
यस्तै, सृजना पोलिक्लिनिकले पनि मापदण्ड नपुर्याएरै ल्याब सञ्चालन गरिरहेको छ।
ल्याब अत्यन्तै फोहोर रहेको, जनशक्ति, गुणस्तरीय मेसिन नभएको अनुगमनका क्रममा पाइएको झाले जानकारी दिइन्।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरबाही गरेको पाइएकाले थप अनुगमन गरेर बन्द गर्न निर्देशन दिइएको उनले बताइन्।
वीरेन्द्रनगरकै आशा मेडिकल हलले एउटै कोठामा ड्रेसिङ रुम र ल्याब रुमका रूपमा प्रयोग गरेको पाइएको छ। उक्त मेडिकलमा कार्यरत ल्याब टेक्निसियनलाई आफ्नो लाइसेन्स नम्बर समेत थाहा नभएको डा. झाले जानकारी दिइन्।
सुवास मेडिकलले पोलिक्लिनिक सञ्चालनका लागि लिएको म्याद सकिए पनि सञ्चालन गरेको पाइएको छ। सुवास मेडिकलले स्वास्थ्य परीक्षणका लागि आउने बिरामीहरूको रगत, दिसा, पिसाब, खकारलगायतका परीक्षणको नमूना संकलन गरे पनि काठमाडौं र कैलाली पठाउने गरेको पाइएको छ। ‘बिरामीको नमूना संकलन गरेर थप परीक्षणका लागि बाहिर पठाउँदा धेरै मापदण्डहरू पालना गर्नुपर्छ,’ निर्देशक डा. झाले भनिन्, ‘ती मापदण्डहरू हामीले अनुगमन गरेका कुनै पनि नर्सिङ होम, पोलिक्लिनिक र मेडिकलहरूले पूरा गरेको पाइएन।’
केही स्वास्थ्य संस्थाले नमूना परीक्षण नगरेरै रिपोर्ट दिने गरेको पनि पाइएको डा. झाले जानकारी दिइन् ।