मिथिलामा विवाहिता महिलाले पतिको दिर्घायूको लागि बरको रुखमुनि पूजाआजा गर्दै बर सावित्री अर्थात् बरसाइत पर्व मनाएका छन्।
प्रत्येक वर्षझैं यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि बिहानैदेखि विवाहित महिलाको भीड लागेको छ। यस पर्वमा महिलाहरूले नयाँ साड़ी, लहठी लगाई श्रृंगार गर्ने चलन छ। यस पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रूपमा लिइने गरिन्छ। यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औंसी तिथिमा मनाइने गरिन्छ।
यस पर्वमा बरको बोटको महत्त्व हुन्छ। बरको बोटले वर्षौसम्म सर्वसाधारणलाई शितलताको छहारी दिने भएकाले पतिको दीर्घायूको लागि नारीहरु बरको पूजापाठ गर्छन्।
जेठ महिनामा कडा घामबाट रक्षाका लागि बरको बोटमुनि पूजा गरिएको र पछि यही धार्मिक परम्पराको रूपमा विकसित भएको मानिँदै आएको छ। दार्शनिक दृष्टिबाट बरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रुपमा स्वीकार गरिएको छ। बरको बोट ज्ञान र निर्वाणको पनि प्रतीक मानिएको छ।
बरको वृक्ष मुनी पतिको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको अंग बनेको छ। महिलाहरुले व्रत पूजा गरी कथा सुनेर बरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन्। धनुषाको जनकपुरधाम वडा नम्बर ४ बस्ने ज्योति झाले भनिन् ‘बरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ।’
बर सावित्री पर्वको कथा
बरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासंगै जोडिएको छ । सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्र मानिएको छ । सावित्रीको अर्थ वेद माता गायत्री र सरस्वती पनि हो।
कथाअनुसार भद्र देशको राजा अश्वपतिलाई सन्तान थिएन। उनले सन्तान प्राप्तिका लागि मंत्रोच्चारणका साथै प्रतिदिन एक लाख आहुति दिने गर्थे । १८ बर्षसम्म यो क्रम जारी रह्यो । त्यसपछि सावित्रीदेवी प्रकट भएर राजालाई आशिर्वाद दिइन् ‘राजा तपाईलाई एक तेजस्वी कन्या सन्तानको रुपमा प्राप्त हुनेछ।’ सावित्रीदेवीको कृपाबाट जन्म लिएका कारण उक्त कन्याको नाम सावित्री नै राखियो ।
सावित्री असाध्यै सुन्दर र गुणवान थिइन्। योग्य बेहुला नपाएका कारण पिता एकदमै दुःखी थिए । उनले आफ्नो छोरी सावित्रीलाई आफै बेहुला खोज्न पठाए । सावित्री तपोवनमा गइन्। त्यहाँ साल्व देशका राजा द्युमत्सेन पनि बास गर्थे । उनको राज्यमाथि अर्को राजा ले कब्जा गरीसकेका थिए । उनकै छोरा सत्यवानलाई देखेर सावित्रीले पतिको रुपमा स्वीकार गरि सकेकी थिइन्।
सत्यवान अल्पायु थिए। यद्यपी सत्यवान वेदका ज्ञाता थिए । नारद मुनिले सावित्रीलाई भेटेर सत्यवानसँग बिहे नगर्न सल्लाह समेत दिए। पतिको मृत्युको दिन नजिकिएपछि सावित्रीले घोर तपस्या गरिन्। तपस्याको तथा सतीत्वको शक्तिबाट आफ्नो पतिलाई रक्षा गर्न सफल भइन्।
सावित्रीकै कारण यो पर्वलाई आदर्श नारीत्वको प्रतीकको रुपमा स्वीकार गरियो । बरसाइत पर्वमा सत्यवान सावित्रीका साथै यमराजलाई पूजा गर्ने गरिन्छ। सावित्रीले यही व्रतको माध्यमले पतिलाई धर्मराजबाट जितेकी थिइन्। जसले गर्दा मिथिलाञ्चलमा यसको अति नै महत्वका साथ बर सावित्रीको पुजा अराधना गर्दै बर वृक्षको पुजापाठ विधिवतपूर्वक गर्ने चलन छ ।