कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पानीको अभाव अघिल्लो बर्षभन्दा झन् बढेको छ ।
गत बर्षसम्म खडेरीको समयमा ४८ घण्टा (दुईदिन)मा एकपटक धारामा पानी आउँथ्यो भने यसपाली ९६ घण्टा (चारदिन)मा एकपटक आउँछ।
वीरेन्द्रनगर उपत्यकामा खाने पानी वितरण गर्दै आएको उपत्यका खानेपानी संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि यो अवस्था सिर्जना भएको संस्थाले जनाएको छ।
संस्थाले वितरण गर्ने पानीको मुख्य स्रोत झुप्रा खोलाको मुहान सोलीघोप्टेमा समेत पानी आधा घटेको जनाएको छ। विगतका वर्षहरुभन्दा यो वर्ष मुहानबाटै कम पानी आएको संस्थाका अध्यक्ष कुलमणि देवकोटालले बताए ।
‘सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरुमा झन्डै ५० प्रतिशतले ह्रास आएको छ,’ उनले भने, ‘उपत्यकामा खानेपानी संकटको अवस्था छ, सेवा प्रवाहमा कठिनाई र चुनौती देखिएका छन ।’
यतिबेला माग अनुसारको खानेपानी आपूर्ति गर्न संस्थालाई हम्मेहम्मे परेको उनले बताए ।
गत बर्ष यो समयमा मुख्य स्रोत झुप्रा खोला मुहानबाट प्रति सेकेण्ड ४८ लिटर पानी आपूर्ती हुने गरेकोमा यो बर्ष निकै कम आपूर्ती भैरहेको देवकोटाले जानकारी दिए । उनका अनुसार उपत्यकामा खानेपानी वितरण गर्ने यो आयोजना सुरू भएको १९ बर्षमा यो बर्ष सबभन्दा कम पानी आएको हो।
उक्त आयोजनाको अर्को स्रोत खरीबोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ती हुने गरेको छ। यो मुहानबाट भने खडेरीमा पनि पानी आपूर्तिमा कमि नआएको संस्थाले जनाएको छ। इत्राम खोलाबाट प्रतिसेकेण्ड ८ लिटर, खोर्केबाट ४ लिटर, बुलबुले तालबाट २ लिटर गरी ८४ लिटर प्रतिसेकेण्ड पानी आपूर्ती भैरहेको छ।
सुर्खेत उपत्यकामा रहेको जनसंख्याका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक पर्ने भएपनि यो समयमा ७२ लाख ५७ हजार ६ सय लिटर मात्र आपूर्ती भईरहेको अध्यक्ष देवकोटाले जानकारी दिए । यस अनुसार वीरेन्द्रनगरमा अहिले प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ ।
उपत्यकामा जनसंख्या बढ्दै जानु र पानीको स्रोत घट्दै जानुले समस्या निम्तिएको अध्यक्ष देवकोटाले बताए । खानेपानीको दीर्घकालीन संकट टार्न उपत्यकामा भेरी नदीको पानी लिफ्टमार्फत ल्याउनुको विकल्प नरहेको उनले बताए । संस्थाका अनुसार हाल उपत्यकामा १७ हजार धारामार्फत खानेपानी वितरण भईरहेको छ ।