धनुषाको मिथिला नगरपालिका ६ का सत्रुधन साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलिको नाउँमा हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रूपमा ६५ जनासँग बयान लिएको आधारमा धामी झाँक्रीको कला सिक्दै आएका ५५ वर्षीय शत्रुधन महतोलाई पक्राउ गरेको हो। महतोको बयानको आधारमा बालक आर्यनको बलि सिद्धि प्राप्ति गर्ने नाउँमा हत्या गरिएको रहस्य खुलेको छ। बलि दिएपछि आफू शक्तिशाली हुने अन्धविश्वासमा हत्या गरिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताए।
हत्या गर्ने झाँक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झन्डै तीन सातापछि बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
वैशाख २३ गते साँझ आर्यनकी आमा रेनुदेवी घाँस काट्न गएको मौकाछोपी झाँक्री महतोले बालकलाई ललाइफकाइ आफ्नै घरको दैलोबाट अपहरण गरेका थिए। सोही राति झाँक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि प्राप्ति हुने अन्ध विश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवी देउताको नाममा बालकको घाँटी रेटेर हत्या गरेका थिए।
बलिपश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेका थिए। त्यसपछि उनले बालकलाई बलि दिएको हतियार र लुगाकपडा समेत धोइपखाल गरी नुहाएकासमेत थिए। झाँक्री महतो घरपरिवारका सदस्य उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको निर्दयतापूर्वक बलि दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताए।
आर्यन बिरामी हुँदासमेत झाक्री महतोले झारफुक गर्ने गरेका थिए। झाँक्रीको घर आर्यनको घरबाट सय मिटर टाढा छ। आर्यनका बुबा वैदेशिक रोजगारमा छन्। आर्यन एक्ला छोरा हुन्।
झाँक्री महतोमाथि अपहरण शरीर बन्धक राखी हत्या गरेको ज्यानसम्बन्धी मुद्दामा कार्वाही प्रक्रिया बढाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।