हजुरआमाका कथा
हजुरआमा भेट्न यसपालि म चन्द्रागिरि-१४, नैकाप पुगेँ। सानो करेसाबारीमा उनी खेतालासँग गफ गर्दै थिइन्।
'कति वर्ष पुग्नुभयो,' उनी बस्ने घरको माथिल्लो तला उक्लिँदै गर्दा सोधेँ।
'८१ काटेँ,' कान्छी दुलालले हाँस्दै भनिन्, 'अहिलेसम्म ठीकै छु।'
उनको उमेरले एउटा प्रसंग सम्झायो।
गत वर्ष पत्रकार लिलु डुम्रेले तत्कालीन वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मासँग अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा विश्वकर्माले वृद्ध भत्ताबारे बोलेका थिए।
२०५१ सालतिर मनमोहन सरकारले ७५ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिन्थ्यो। त्यो बेला नेपालीको औसत आयु नै ५९ वर्ष थियो। कर्णालीका बासिन्दाको ४२ वर्ष, दलित समुदायको ४६ र जनजातिको ५२ वर्ष।
'नेपालीको औसत उमेरको अवस्था यस्तो छ, भत्ता पाउने चाहिँ ७५ वर्षमा। ७५ वर्ष बाँच्ने त कुन्नि कुन सम्भ्रान्त वर्गका हुन्?' कांग्रेस नेता विश्वकर्माले भनेका थिए, 'कांग्रेस सरकार आएपछि मैले दलितको औसत आयु ४८ वर्ष हुन्छ, ७५ वर्षमा भत्ता कसलाई दिएको भनी प्रश्न गरेँ। दलित र गैरदलितलाई एउटै उमेर समूहमा नराख्न भन्दै लामो प्रयासपछि दलितलाई ६० वर्षमा भत्ता दिने निर्णय भयो।'
साँच्चै त्यो बेला ७०-८० उमेर काटेका दलित आमाहरू भेट्न गाह्रै हुने रहेछ।
१९९२ असोजमा जन्मिएकी कान्छी शारीरिक रूपमा सक्रिय छिन्। दम र उच्च रक्तचापले अलिअलि च्यापेको छ। अरू खास समस्या छैन।
उनको जीवनको ऊर्जा अझै कम भइसकेको छैन।
उत्साहित हुँदै सुनाइन्, 'मेरो न्वारनको नाम चतुरी हो। बोलाउने र नागरिकताको नामचाहिँ कान्छी।'
उनको माइतीको थर अच्छामी। एघार वर्ष उमेर टेक्न नपाउँदै आफ्नै उमेरका राधाकृष्ण दुलालसँग उनको बिहे भयो। नैकाप निवासी दुलाल परिवारको थुप्रै जग्गाजमिन थियो। भारतको कलकत्ताबाट छाला ल्याएर बेच्ने व्यापारी थिए उनीहरू।
बिहेका दिन आफूलाई ससुराले बोकेर घर भित्र्याएको कान्छी आज पनि सम्झन्छिन्।
'बिहे हुँदा सानै थिएँ। अन्माइसकेपछि ससुराले बोकेर ल्याउनुभएको याद छ,' उनले भनिन्, 'सासूससुराले धेरै माया गर्नुहुन्थ्यो। आफू सारी लाउन नजान्ने। उहाँहरूले लाइदिनुहुन्थ्यो। कपाल कोर्न नसक्ने। सासूले बाटिदिनुहुन्थ्यो।'
बालख कान्छीको स्याहार मात्र होइन, त्यो बेला बुहारीले 'गर्नैपर्ने' कामका भार पनि उनको काँधमा थोपरेनन् परिवारले।
आफूलाई निकै भाग्यमानी भन्दै उनले सुनाइन्, 'बिहान चाँडै उठ्यो भने सासूले गाली गर्नुहुन्थ्यो। दैलो पोत्न नदिने। यति सानो हात छ, कसरी पोत्छेस् भन्नुहुन्थ्यो। घरमा काम गर्ने मान्छे थिए। सबै काम उनीहरूले गर्थे।'
यो उमेरका आमा-हजुरआमाहरूका दु:खैदु:ख सुन्दै आएकी मलाई कान्छीको कुराले साँच्चै अचम्म बनायो। ससुरा, बुढाससुरा-बुढीसासू पनि रहेछन्। उनीहरू पनि कान्छीलाई बिहान सबेरै 'नउठ' भन्थे। तै कान्छी हतारिँदै उठ्ने रहिछन्।
'किन त्यस्तो त?'
'बिहानै उठेर बुढाससुरालाई तमाखु हालेर दिन्थेँ। पर्दैन भन्नुहुन्थ्यो, तर म आफूलाई पनि खानुपर्ने अनि,' कान्छीले सुनाइन्।
'त्यति सानो उमेरमै तमाखु खानुहुन्थ्यो?'
'बिहे गरेको अलि समयपछि हो। मेरा बुढाससुराले 'तँ सल्का न' भन्नुहुन्थ्यो, बानी लाग्यो। अनि सल्काउँदा तान्न पाइन्छ भनेर बिहानै उठेर तमाखु तयार पार्ने,' उनले भनिन्, 'ठूल्ठूला पात भएको तमाखु तानेर धुवाँ बुङ्ग आइसकेपछि सल्कियो भनेर दिन्थेँ। त्यस्तो माया गर्थे मलाई।'
कान्छीले 'एक सर्को तमाखु' मा पनि माया नै भेटिन्, जुन उनले जीवनका आठ दशक काटिसक्दा पनि बिर्सेकी छैनन्।
'कसैले गाली नगर्ने। माइत जान लाग्यो भने किन जानु, आमा यहीँ आउनुहुन्छ भन्ने, मलाई नपठाउने,' यसमा पनि सासू-ससुराको माया नै सम्झेकी छन्। उनका आमा र दाजुभाइ बेलाबेला घरमै भेट्न आउने रहेछन्।
माइत किन नपठाएको भन्ने मेरो जिज्ञासामा उनी भन्छिन्, 'खै, माइतमा काम लगाउँछन् भनेर हो कि!'
उनलाई श्रीमानको घरमा आमाबुबाकहाँ जत्तिकै सुख भएको बताउँछिन्। आफ्ना नन्द-आमाजूसँग खेल्थिन्। कहिले गाउँतिर पुग्थिन्। आफूभन्दा साना केटाकेटी भेला पारेर बेहुला-बेहुली खेल्थे। धोक्राको डोली बनाएर दुईतिर बोक्थे। सासूले खान बोलाएपछि बल्ल घर आउने रहेछन्।
'सासूले आफ्नी आमाले जस्तो माया नगरेको भए को बसिरहन्थ्यो र,' उनले भनिन्, 'आफ्नै आमाकहाँ गइन्थ्यो नि!'
सानै उमेरमा सासूको व्यवहार देखेर हुर्केकी कान्छीले यही संस्कार सिकेकी छन् सायद। अहिले उनले पनि आफ्ना बुहारीहरूलाई एकदमै माया गर्ने परिवारका सदस्यले सुनाए।
सामान्यतया बिहे गरेपछि सारी-धोती लगाउने चलन। उनले भने यसमा पनि माया पाइन्। उनी आफूले धेरैपछिसम्म दौरा-सुरूवाल लगाएको सुनाउँछिन्।
'स्वयम्भरमा पनि मैले दौरा-सुरूवाल लगाएकी थिएँ। बिहेका दिन मात्र फरिया लगाएँ,' उनले बिहेको दिन सम्झिँदै भनिन्, 'थुप्रै गहना बनाएर ल्याएका थिए। लस्करी मुन्द्रा, टप, शिरबन्दी, तिलहरी, नौगेडी, बाला लगाएँ नि।'
ती गहनासँग जोडिएको उनको सम्झना ताजै छ।
२००७ सालमा देशको अवस्थाले लुटपाट बढेको थियो। चोरी हुन्छ, लुट्न आउँछन् भन्ने डरले उनका परिवारले सुनचाँदी लुकाउने भएछन्। उनीहरूको घरको छिँडीमा भैंसी बाँधिन्थ्यो। ससुराले सबै गहना छिँडीमा गाड्न खाल्डो खनेछन्। तर, आत्तिएका ससुराले गहनाको पोको छेउमै राखेर खाल्डो मात्र खनेर आएछन्।
'पछि सासूले भकारो सोहोर्न जाँदा देख्नुभएछ। अनि ल बूढाले त गहना बेस्सरी गाड्नुभएछ भन्दै जिस्क्याउनुभयो। हामी त केटाकेटी, बेस्कन हाँसेका थियौं,' यो घटना सम्झिँदा अहिले पनि उनको अनुहारमा मुस्कान आउँछ।
२००७ सालताका गरगहना मात्र होइन, छोरी-बुहारी पनि जोगाउनुपर्ने अवस्था भएको उनी सुनाउँछिन्। यसको पीर उनका सासूससुरालाई औधी थियो। त्यो बेला 'मुक्तिसेना' को डर रहेछ। खेतीपातीमा जाँदा पनि उज्यालैमा आउनुपर्ने रहेछ। राणाहरूले मान्छे लखेटेको बेला थियो। घरघरमै आएर मान्छे थुतेर लान्छ भन्ने सुनिन्थ्यो। यसले सबै तर्सिएका थिए।
'उ बेला त्यहाँ (अहिले बसेको घरअगाडि देखाउँदै) तीन तलाको गज्जबको घर थियो, टायल हालेको,' उनले आफ्नो सम्झना निखार्दै भनिन्, 'ससुराले छोरीबुहारी जोगाउन भनेर त्यही बेला टायलपट्टिको चिम्नी भत्काउनुभयो।'
चिम्नीबाट मान्छे छिरेर भित्र आउँछन् भनेर भत्काएको उनले सुनाइन्।
उनका देवर-जेठाजू थिएनन्। दुइटी सासू थिए। एक-एक जना नन्द-आमाजू भए पनि दुवैको २०-२५ वर्षमै निधन भयो। छोरी भने पनि बुहारी भने पनि कान्छी नै एउटी।
उनका ससुरा हर्कबहादुर दुलाल। आफ्नो जमानाका निकै चल्तापूर्जा व्यक्ति रहेछन्। कान्छीका अनुसार त्यो बेला दलितहरूलाई पढ्न-लेख्न वर्जित थियो। हर्कबहादुरले भने राति राति नैकापको कालिका मन्दिरमा जोगीहरूसँग लेखपढ सिकेका थिए। एक माना चामल दक्षिणा दिएर खरिपाटीमा लेख्न सिके। पछि गाउँमा वकिलको भूमिका निर्वाह गर्ने गरेको उनले सुनाइन्।
आफू लेखपढ गरेकाले हर्कबहादुरले आफ्ना छोरालाई पनि राणाहरूसँग अनुमति लिएर दरबार स्कुल हालेको कान्छी सुनाउँछिन्। यसको पुष्टि-प्रमाण भने उनीसँग छैन। श्रीमानले आठ कक्षासम्म पढेको भन्ने उनलाई थाहा छ।
ससुराको बयान गर्दै कान्छी भन्छिन्, 'त्यो बेला सार्कीलाई घरभित्र हुल्दैनथे। पढलेख र अरू सुविधा पाउनै गाह्रो। तर लुकेरै भए पनि ससुराले पढ्नुभयो। उहाँ धेरै बाठो हुनुहुन्थ्यो।'
ससुराको चतुर्याइँको उनी उदाहरण दिन्छिन्। त्यो बेला राणाहरूबाहेक अरूले रातो टायलको छाना हाल्न पाइन्नथ्यो। कान्छीका ससुराले भने टायलै हालेर बनाएछन्। टायल हालेपछि राणाहरूले घर लिलाम गर्दिन्छु भनेर धम्क्याएछन्। उजुरी परेको ठाउँमा ससुरा गएर त्यस्तो बनाएकै छैन भनेर दाबी गरेछन्। हेर्न आउने कोही भएनन्। उनले घर जोगाए।
'धेरै पछि त्यो घर भत्काउँदा ती टायल गोटाको १०/१५ रुपैयाँमा बेचेको,' उनले सुनाइन्।
दलित समुदायका सदस्यलाई घरमै नहुल्ने चलन भएका बेला पनि उनीहरूले गाउँमा चरम विभेद खेप्नु परेन।
'खान पुग्ने धान फल्ने खेत थियो। गाउँलेकहाँ गएर कहिल्यै मागेर खानुपरेन। त्यसैले विभेद भन्ने थाहा भएन,' उनले भनिन्, 'कसैको बिहे पर्दा गाउँलेहरू बेहुलीको घर लैजान गहना मागेर लान्थे हामीसँग।'
कान्छीकी ६५ वर्षीया छोरी पवनलक्ष्मी सही थाप्छिन्। आमाछोरी दुवैको भनाइले उनीहरूको आर्थिक अवस्था बलियो भएकाले पनि समाजमा विभेद सहनु नपरेको भन्ने बुझिन्छ।
'आर्थिक अवस्था कमजोर हुँदा अरूका लागि काम गर्नुपर्छ। काम गर्ने मान्छे फेरि दलित भनेर हेपिन्छ। हामीलाई अन्त गएर हात फिँजाउनै परेन,' कान्छी र पवनलक्ष्मी भन्छन्।
कान्छी ससुरा सहयोगी भएकाले पनि समाजमा धेरै सहज भएको बताउँछिन्।
'कोही मर्दा लास उठाइदिनेदेखि कसैको बिहेमा लैजाने गहनासम्म व्यवस्था गरेर व्यवहार चलाइदिनुहुन्थ्यो ससुराले,' उनले सुनाइन्, 'गाउँका नेवार, बाहुन सबैका घरमा हामी 'पर्म' जान्थ्यौं। अरू पनि हाम्रो घर आउँथे।'
यति हुँदाहुँदै उनीहरूको पँधेरो भने छुट्टै रहेको उनले सुनाइन्।
उनीहरूको घरमा जाँडरक्सीको चलन थिएन। उनका बुढा ससुराले नखाने रहेछन्। उनीपछिका पुस्ताले पनि खाएनन्।
त्यो बेलाको समाजमा अपवादझैं लाग्ने यो सुखी परिवारमा एकैपटक दुःखले घेर्यो। कान्छी ३० वर्षकी थिइन्। उनका श्रीमान क्षयरोग लागेर बिते। एकै वर्षमा परिवारका चार जनाको मृत्यु भएको उनले बताइन्।
अनि सुरू भए संघर्षका दिन। चौध वर्षमा पहिलो सन्तान जन्माएकी उनको यो बेलासम्म ८ सन्तान भइसकेका थिए। राजनीतिक विश्लेषक तथा लेखक विश्वभक्त दुलाल (जो 'आहुति' नामले चिनिन्छन्) उनका कान्छा छोरा हुन्। उनी गर्भे टुहुरो रहेछन्। बुबाको निधन हुँदा उनी ८ महिने गर्भमा रहेको कान्छीले सुनाइन्।
कान्छीका ८ सन्तानमध्ये ५ जना मात्र बाँचेका छन्।
'त्यो बेला सन्तान धेरै हुने। अहिले त यही गाउँमा दुइटा-तीनटा पनि देखिँदैनन्। पाल्न गाह्रो हुन्छ नि त। मेरा तीनवटी छोरी बितिहाले। सबभन्दा जेठी यो, श्रीमान बित्दा १५-१६ की थिई,' छेउमा बसेकी पवनलक्ष्मीलाई देखाउँदै उनले भनिन्।
पवनलक्ष्मीले बिहे गरेकी छैनन्। बुबा बितेपछि घरमा आमालाई भाइबहिनी स्याहार्न, हुर्काउन सघाउँदा-सघाउँदै जीवन बितेको उनी बताउँछिन्।
जग्गा, गहना बेच्दै उनीहरूले जीविका चलाए। यसरी हुर्किएका उनका सन्तान अहिले देश-विदेशमा छरिएका छन्।
आफ्ना धेरैजसो परिवारका सदस्य र नातेदारले अन्तरजातीय बिहे गरेको कान्छी सुनाउँछिन्। कसैले बाहुन, कसैले राई त कसैले महर्जनसँग बिहे गरेका छन्।
कान्छी अहिले पवनलक्ष्मी र एउटी नातिनीसँग बस्छिन्। राजनीतिमा चासो राख्छिन्। आफ्नै पालामा दुनियाँ बदलिएर पूरै गाउँलेले एउटै धाराको पानी खान पाएको र बाहिरी समाजबाट छुवाछुत हट्दै गएको देखेर उनी दंग छिन्।
तै उनी भन्छिन्, 'अहिलेसम्म गाउँलेको घरमा गएर भोज खाएकी छुइनँ।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी
अहिलेसम्म प्रकाशित भएका हजुरआमाका कथा पढ्न क्लिक गर्नुहोस्ः