नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न नापी विभागका दुई जना अधिकारीलाई शिखरमा पठायो। उनीहरूले बुधबार बिहान ३ बजे शिखरमा आधा घन्टा बिताए।
हामीले नापी विभागका प्रवक्ता दामोदर ढकालसँग जिज्ञासा राख्यौं, 'सगरमाथाको उचाइ नाप्न चुचुरोमै पुग्नुपर्दो रहेछ?'
उनका अनुसार समुद्री सतहबाट सगरमाथा शिखरसम्मको उचाइ नाप्न नेपालले मिश्रित विधि अपनाएको छ। यो परम्परागत र आधुनिक विधिको मिश्रण हो। दुवै विधिबाट संकलित तथ्यांक प्रशोधनपछि सगरमाथाको वास्तविक उचाइ निस्कन्छ।
परम्परागत विधिमा समुद्री सतहबाट स्केलले नाप्न सुरू गरेर जमिनकै बाटो हुँदै शिखरसम्म पुगिन्छ। यसका लागि धेरै समय लाग्छ। उचाइ नाप्ने स्केलले एकचोटिमा ५० देखि ७० मिटर मात्र नाप्न मिल्छ। यसरी दिनको डेढदेखि दुई किलोमिटर नापिन्छ।
कुनै पनि ठाउँको उचाइ निकाल्दा समुद्री सतहदेखिको नाप निकालिन्छ। नेपालको समुद्री पहुँच नभएकाले सिरहाको माडरलाई प्रारम्भिक विन्दु मानिन्छ। समुद्री सतहबाट माडरसम्मको उचाइ भारत सरकारले निकालेर त्यहाँ खम्बामा अंकित गरेको छ।
माडरदेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको पातले डाँडासम्म १ सय ७० किलोमिटर दुरीको उचाइ नाप्ने काम सम्पन्न भइसकेको प्रवक्ता ढकालले जानकारी दिए।
'यही तरिकाले नाप्दै सगरमाथा चुचुरोसम्मै पुग्नुपर्ने हो, तर भौगोलिक जटिलताले सम्भव भएन,' उनले भने, 'त्यही भएर सगरमाथा चुचुरो देखिने कम उचाइका डाँडाहरूसम्म यो विधि प्रयोग गर्दैछौं।'
तीमध्ये पातले डाँडा, छोलेयामु र पिके सब-हिलस्टेसन सोलुखुम्बुमा पर्छन्। यसबाहेक थप नौ डाँडामा उचाइ नाप्ने 'थियोडोलाइट' यन्त्र जडान गरिएको छ। ती डाँडाबाट सगरमाथा चुचुरोको कोण र दुरी निकालिन्छ।
सगरमाथाको उचाइ नाप्ने क्रममा अहिले यी डाँडाबाट चुचुरोको कोण र दुरी निकाल्ने काम भइरहेको ढकालले बताए।
यति गरेपछि पराम्परागत विधि सकिन्छ।
आधुनिकि विधि भनेको 'ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम' अर्थात् 'जिएनएसएस’ हो। यसलाई चलनचल्तीमा 'जिपिएस सिस्टम' पनि भनिन्छ।
नापी विभागले यो सर्भेका लागि २८५ वटा विन्दु पहिचान गरेको छ। सबै विन्दुमा रिसिभर यन्त्र राखिएको छ, जसले स्याटलाइट तथ्यांकका आधारमा उक्त विन्दुको अक्षांश, देशान्तर र उचाइ पत्ता लगाउँछ। सगरमाथा शिखर तिनै विन्दुमध्ये एक हो।
अहिलेसम्म १३५ वटा विन्दुको 'जिएनएसएस' सर्भे सकिएको छ। बाँकी १५० वटा विन्दुको तथ्यांक निकाल्न ६ जनाको टोली ती क्षेत्रमा खटिएको छ। 'जिएनएसएस' सर्भेको काम पन्ध्र दिनभित्र सक्ने लक्ष्य रहेको ढकालले जानकारी दिए।
बुधबार सगरमाथा चुचुरोमा पुगेका नापी अधिकारीहरू त्यहाँको ‘जिएनएसएस’ रिसिभरबाट तथ्यांक संकलन गरी फर्किंदैछन्।
उचाइ नाप्ने प्रक्रिया यतिमै सकिँदैन। उचाइलाई गुरुत्वाकर्षणले पनि फरक पार्छ। त्यही भएर सगरमाथाको उचाइ नाप्दा गुरुत्वाकर्षण सर्भे पनि गर्नुपर्ने ढकालले बताए। 'जिएनएसएस' सर्भे गरेको २८५ वटै विन्दुमा गुरुत्वाकर्षण सर्भे गर्नुपर्छ। यो सर्भेको काम सुरु भएको छैन।
‘हामीसँग यो सर्भे गर्ने मेसिन थिएन, बल्ल आइपुगेको छ,' उनले भने, 'मेसिन हात परेपछि तत्काल अर्को टोली सगरमाथा क्षेत्रमा पठाउँछौं।’
सगरमाथा उचाइ नाप्न संकलन गर्नुपर्ने अर्को तथ्यांक जलवायु पनि हो।
परम्परागत र आधुनिक विधि प्रयोग गरिएका सबै विन्दुहरूबाट त्यहाँको जलवायु तथ्यांक संकलन गर्नुपर्छ। यसले त्यहाँको वातावरण, तापक्रम र हावाको चाप थाहा हुन्छ।
अहिले सगरमाथा आधारशिविर क्षेत्रको जलवायु तथ्यांक संकलन भइरहेको ढकालले बताए।
यी सबै काम सकिएपछि हेलिकप्टरमा क्यामरा जडान गरेर सगरमाथा क्षेत्रको 'लाइडार' सर्भे गरिन्छ। यसअन्तर्गत क्यामरले फाल्ने प्रकाशका आधारमा उचाइको तथ्यांक निस्कन्छ।
यसरी फरक-फरक विधिबाट संकलित तथ्यांकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन गरेपछि बल्ल वास्तविक उचाइ निस्कने ढकालले बताए।
'अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ,' उनले भने, ‘बाँकी काम आगामी आर्थिक वर्षभित्र सक्ने तयारीमा छौं।’
उनका अनुसार यही गतिमा काम भए २०७६ मंसिर वा पुसभित्र सगरमाथाको उचाइ थाहा हुनेछ।
'एउटै तरिकाबाट निकालेको तथ्यांकले वास्तविक उचाइ थाहा हुन्न। फरक-फरक विधिबाट तथ्यांक निकालेर सबैलाई एकैठाउँ प्रशोधन गर्नुपर्छ,' नापी विभागका प्रवक्ता ढकालले भने, ‘त्यसमध्ये जिएनएसएस सर्भे र सम्बन्धित ठाउँको गुरुत्वाकर्षण सर्भे पनि गर्नुपर्ने भएकाले सगरमाथाको उचाइ निकाल्न चुचुरोमा नपुगी हुन्न।'