जनकपुरधाम ८ स्थित विहारकुण्डमा डकैत गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
बुधबार राति विहारकुण्डमा रहेको जानकी विहारका महन्थ नारायण शरणसँग रहेको नगद तथा मन्दिरको गरगहना लुट्ने उद्धेश्यका साथ आएका ८ जना डाकाहरूलाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।
जानकी विहारका महन्थ नारायण शरणले मन्दिरको जग्गा विक्री गरी राखेको रकम र मन्दिरमै रहेको सुन चाँदी लगायतको गरगहना लुट्नका लागि भारतको विहारबाट डाकाहरूको समूह मोटरसाइकलबाट जनकपुरधाम पुगेको प्रहरीले जनाएको छ।
सुराकीको आधारमा प्रदेश प्रहरी, संघीय प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दै जाँदा जनकपुरधामस्थित लभली होटलमा लुकिछिपी बसेका ८ जना डाकालाई नियन्त्रणमा लिन सफल भएको छ।
होटललाई घेरा हालेर नियन्त्रण लिने क्रममा डाकाहरूको तर्फबाट गोली फायरिङ भएपछि प्रहरीले समेत गोली चलाउँदा भारतको विहार राज्य समस्तीपुर जिल्लाका २४ वर्षीय रवि मलिक डोम घाइते भएको धनुषा प्रहरीले जनाएको छ।
प्रहरीले डाकाहरूसँगमा रहेको भारी मात्रामा हातहतियार तथा २ थान मोटरसाइकल र एक थान स्कुटी समेत बरामद गरेको धनुषाका प्रहरी शेखर खनालले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरूमा भारत समस्तीपुर गदोपुर बस्ने २० वर्षीय रवि मलिक डोम, सिमरी वडा नम्बर ८ विद्यापति नगर थाना बस्ने २० वर्षीय साहिल रजक विवेक, समस्तीपुर पटौरी वडा नम्बर ३ बस्ने २४ वर्षीय अजित कुमार सिंह, समस्तीपुर भगवनापुर चक्सीव वडा नम्बर ४ बस्ने २८ वर्षीय सुजित कुमार राय, समस्तीपुर महोदीनगर वडा नम्बर ६ बस्ने ३० वर्षीय अमितकुमार सिंह, महोदीनगर वडा नम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी साहरघाट वडा नम्बर ५ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र मधुवनी साहरघाट वडा नम्बर ८ बस्ने ३८ वर्षीय पप्पु भनिने सञ्जयकुमार सुमन रहेका छन्।
घाइते मलिकलाई दायाँ र बायाँ तिघ्रामा एक/एक गोली र एक गोली पैतालामा गरी ३ गोली लागेको छ।