जनकपुर अञ्चल अस्पालमा बिरामीहरूका लागि आउने बजेट २० वर्षदेखि फ्रिज हुँदै आइरहेको थियो।
तर पछिल्लो वर्षदेखि बिरामीहरूका लागि निःशुल्क भोजन कार्यक्रम सुरू गरिएपछि बिरामीहरू खुसी भए। सुरूमा बिरामीहरूका लागि रहेको निःशुल्क भोजन कार्यक्रम प्रभावकारी रूपमा चले पनि अहिले आएर बिरामीको खानामा समेत भ्रष्टाचार भइरहेको तथ्य बाहिर आएको छ।
२० वर्ष अगाडिसम्म बिरामीहरूको निःशुल्क भोजनका लागि अस्पताललाई प्रत्येक वर्ष ३ लाख रुपैयाँ बजेट पठाइने गरिन्थ्यो । तर फेरि यो कार्यक्रम सञ्चालनमा ल्याइएपछि बिरामीको खानाका लागि बजेट अपुग भएको भन्दै थप बजेटको माग गरियो। त्यसपश्चात वर्षेनी १३ लाख बजेट छुट्याइयो। यद्यपी त्यो बजेटको सही सदुपयोग हुन नसकिरहेको बिरामीहरूको आरोप छ।
जनकपुर अञ्चल अस्पतालको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्ममै १० लाखभन्दा बढी रकम बिरामीको खानामा खर्च भइसकेको छ। जबकी जनकपुर अञ्चल अस्पतालमा सबै बिरामीले निःशुल्क खाना नपाउने गरेको गुनासो बिरामीहरूले गर्दै आएका छन्।
उपचारका लागि पुगेका क्षिरेश्वर नगरपालिका हारसरका राजकुमार साहले अस्पताल प्रशासनले खाना दिनमा पनि भेदभाव गर्दै आएको बताए।
उनले भने, ‘दुई दिनदेखि यहाँ उपचार गराइरहेको छु तर निःशुल्क भोजन उपलब्ध गराइएको छैन।’
अस्पतालको तथ्यांक हेर्दा अस्पतालले उपलब्ध गराउँदै आएको निःशुल्क भोजनको लाभ हजारौं बिरामीले प्रत्येक महिना उठाउँदै आएका छन्। अस्पतालका अनुसार प्रत्येक दिन ५० भन्दा बढी बिरामी निःशुल्क भोजन गर्दै आएका छन्।
अस्पतालको रेकर्ड अनुसार साउन महिनामा २ हजार ७ सय ४६ छाक खाना बापत १ लाख ३७ हजार ३ सय, भदौमा २ हजार ३ सय ९७ छाक खाना बापत १ लाख १९ हजार ८ सय ५०, असोज महिनामा २ हजार ९ सय १७ छाक खानामा १ लाख ४५ हजार ८ सय ५०, कात्तिक महिनामा २ हजार २ सय ४७ छाक खाना बापत १ लाख १२ हजार ३ सय ५० र मंसिरमा ३ हजार ४ छाक खाना बापत १ लाख ५० हजार २ सय रुपैयाँ बिरामीको खानामा खर्च भएको पाइएको छ।
अस्पतालले खर्च गरे अनुसार बिरामीहरूले खाना नपाएको एक जना बिरामी कुरुवा दुःखी खत्वेले आरोप लगाए।
जनकपुर अञ्चल अस्पतालको वरिष्ठ चिकित्सक रामनरेश पण्डितले बिरामीहरूको भोजन अस्पतालमा सहज ढंगले व्यवस्थापन भइरहेको दाबी गरे। उनले बिरामीको खानामा कसैसँग भेदभाव नगरिएको बताए।
अस्पतालमा बिरामीहरूका लागि दिनमा ११ बजे र राति ८ बजे दुई समय खानाको व्यवस्था निःशुल्क रूपमा उपलब्ध गराइने बताइएको छ।
प्रति प्लेट ५० रुपैयाँको दरले खाना उपलब्ध गराउने शर्तमा अस्पतालले स्थानीय होटल व्यवसायी संजय साहलाई ठेक्का दिएको छ।