पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा खाजा खाने क्रममा सिसा मिसिएको नुन खाएर ८ जना गम्भीर बिरामी भएका छन्। उनीहरूको पाँचथर अस्पताल र समर्पित हस्पिटलमा उपचार भइरहेको छ।
बिरामीमध्ये गम्भीर रहेका मिक्लाजुङ ३ आरुबोटेका २२ वर्षीया लक्ष्मी लिम्बू र १८ वर्षीया मनिषा नेपालीको जिल्लास्थित समर्पित हस्पिटलमा उपचार भइरहेको छ भने अन्य सोही ठाउँका मेनुका दास वर्ष १७ ,विस्नु विक १९,मुना लिम्बू ९,मनकुमारी फियाक ३३ सोना लिम्बू १९ र युहाना शेर्मा १३ को पाँचथर अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ।
एक गैर सरकारी संस्थाद्वारा सञ्चालित ३ महिने ढाका वुनाई तालिममा सहभागी भएका उनीहरूलाई आइतबार बिहान खुवाइएको खाजा(थुक्पा) मा नुनमा सिसा मिश्रण गरी खाजामा लगाइएको थाहा भएपछि उनीहरूलाई संस्थाकै पहलमा बुधबार अस्पताल भर्ना गरिएको हो ।
बिहानको खाजामा नुन कम लागेको भन्दै नुन थप गर्ने क्रममा सिसाका कणहरू फेला परेपछि शंका लागेर हेर्दा किचनमा राखिएको नुनको भाँडामा नै सिसा मिसाइएको पाइएको बिरामी मध्येकी सोना लिम्बूले बताइन्।
तालिमकी प्रशिक्षक समेत रहेकी स्थानीय होटल व्यवसाय गर्ने जसमिन फियाक लिम्बूको पसलमा त्यस्तो फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरी अनुसन्धान प्रकृया सुरू गरेको आयोजक संस्था मिलन केन्द्रका अध्यक्ष वहादुरसिं नेम्वाङले बताए।
उनका अनुसार खाजामा मिसावट भएको थाहा पाएपछि एम्बुलेन्समार्फत् उनीहरूलाई उपचारको लागि सदरमुकाम ल्याइएको हो।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मिलन केन्द्र नेपालको आयोजनामा जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक सहयोगमा सञ्चालित उद्यम विकास तालिमका ६ जना सहभागीसहित स्थानीय होटलकी छोरी र अन्य एक गरी ८ जना बिरामी हुने गरी भएको घटना आफैंमा शंकास्पद र अनुसन्धान गर्नुपर्ने रहेको बताइन्छ।