जनकपुरधाम वडा नम्बर ६ का रञ्जीत मल्लिकको छोराको मुटुमा प्वाल छ। रञ्जीत अहिले छोरा प्रेमको उपचारका लागि पैसो जोहो गर्न लागिपरेका छन्।
चिकित्सकले छोराका उपचारका लागि निजी अस्पताल गए चारदेखि ५ लाखसम्म खर्च लाग्ने बताएपछि उनी पैसाको जोहोमा लागेका हुन्।
आर्थिक संकटले उनलाई थिलोथिलो पारेको छ। भएको केही पैसा यसअघि छोराको लागि विभिन्न टेस्ट गर्दा सकिसकेका छन्।
सरकारी अस्पतालमा उपचार गराउँदा पनि कम्तीमा डेढदेखि २ लाखसम्म खर्च लाग्ने चिकित्सक बताउँछन्। तर रञ्जीत भने के गरुँ र कहाँबाट त्यत्रो पैसा जोहो गर्ने भनेर सोच्न पनि सकिरहेका छैनन्। उनी भन्छन् ‘बेटाके बेर बेर बोखार लगै छलै डाक्टरलग जचेलियै त कहलक एक्सरे कराउ आ जब एक्सरे करेली त मुटुमे छेद देखौलकै ओहि लागि काठमाण्डूमे ईलाजमे अभितकमे १ लाख रुपैँया खर्च भगेल हब लेकिन डाक्टर कहै है अहिके लेल अहाँकेँ अपरेशन कराबी टा पड़त बच्चाके मुटुके आब हम कि करु ।’ (छोरालाई पटक पटक खोकी लागिरहँदा डाक्टरकोमा लगे। डाक्टरले ऐक्सरे गर्न भनेपछि ऐक्सरे गर्दा मुटुमा प्वाल देखियो। त्यसैकै लागि काठमाडौंमा लगेर उपचार गराउँदा १ लाख बढी खर्च भइसक्यो। अब अपरेशन गर्नुपर्छ रे त्यत्रो पैसा कहाँबाट ल्याऊँ)
यस्तै, समस्याबाट जनकपुरधाम वडा नम्बर १ का धिरुकुमार मेस्तर समेत यही पीडाबाट गुज्रिरहेका छन्। उनको आमाको पेटमा पथरी भएको छ उपचारका लागि पैसाको आवश्यकता छ तर उनीसँग पैसा छैन।
उनी भन्छन्, ‘आठ घण्टा यहाँ ड्युटी गर्छु त्यसमा पनि ६ सयको दरले ज्याला पाउँछु थोरै भए पनि सुख दु:ख गरेर परिवार धान्दै आइरहेको थिएँ। अहिले भने त्यो पनि छैन कहाँ जाऊँ के गरूँ जस्तो भइसकेको छ।’
रञ्जीत र धिरु बेरोजगार भएर उनीहरूसँग पैसा नभएको भने होइन। जनकपुरधाम उपमहानगरपालिकामा उनीहरू काम गर्छन् तर विगत चार महिनादेखिको तलब नपाएर उनीहरू अहिले आन्दोलित छन्।
जसले गर्दा रञ्जीत छोरो प्रेमको उपचार गराउनबाट बञ्चित छन् भने धिरु आमाको पथरीको उपचार गराउनबाट बञ्चित।
सरसफाइ कर्मचारीहरूले दुई सूत्रीय माग राख्दै अहिले आन्दोलन गरिरहेका छन्।
उनीहरूको बाँकी रहेको ४ महिनाको तलब दिनुपर्ने र नियुक्ति दिइनुपर्ने माग छ।
आन्दोलित कर्मचारीहरूसँग जनकपुरधाम उपमहागरपालिकाका प्रमुख लालकिशोर साहले जेठ मसान्तसम्ममा तलब उपलब्ध गराइदिने प्रतिवद्धता जनाए पनि कर्मचारीहरूले मेयरले यस्ता प्रतिवद्धता बारम्बार गरे पनि पूरा गर्नबाट पछाडि हटेको भन्दै विश्वास नगर्ने बताउँदै आएका छन्।
यसैबीच जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी झाले आन्दोलित कर्मचारीहरूको माग चाँडै नै पूरा गरिने बताएकी छिन् ।
उनले भनिन्, ‘हामी बिहीबार नै सूचना निकाल्नेछौं करारमा कर्मचारी नियुक्तिका लागि।’
उनले चाँडै नै सरसफाइ कर्मचारीहरूको समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।
उनले अगाडि भनिन्, ‘हामीले करार नियुक्तिका लागि सूचना निकालेर समस्याको निकास दिन्छौं, तर सफाइ कर्मचारीहरूको ४ महिनाको बाँकी तलब सम्बन्धमा निराकरण गर्नमा संघको परिपत्र नै बाधक बनेको छ।’
केन्द्रीय सरकारले बाँकी रहेको तलब उपलब्ध नगराए अन्त्यमा आफूहरूले व्यक्तिगत रूपले भए पनि पैसा उपलब्ध गराएरै छाड्ने उपप्रमुख मिश्रले आश्वासन दिइन्।
उपप्रमुख मिश्रले १ हप्ताभित्रमा सफाइ कर्मचारीहरूको समस्याको हल निस्किने दाबी समेत गरिन्।
दैनिक ६ सय रुपैयाँको ज्यालामा काम गरिरहेका कुल ५६ जना सफाइ कर्मचारीको जम्मा ४ लाख ३२ हजार रुपैयाँ तलब बाँकी रहेको छ।