जनकपुरधाम उपमहानगरपालिका सफाइ कर्मचारीहरू पुनः आन्दोलनमा उत्रेका छन्।
गएको चार महिनादेखि आफूहरू तलब नपाएको र तलब दिनका लागि पटक पटक ताकेता गरे पनि वेवास्ता गरेपछि उनीहरू फेरि पनि आन्दोलनमा उत्रेका हुन्।
यसअघि चैत १२ गते पनि तलबको माग गर्दै उनीहरूले धर्ना लगायतका कार्यक्रम गरेका थिए।
सफाइकर्मीहरू उपमहानगरपालिका कार्यालयको गेट अगाडि तलब माग गर्दै धर्नामा बसेका थिए। उपमहानगरपालिकाले तलब र स्थायी नगरे काममा नफर्किने उनीहरू बताउँछन्।
सरसफाइकर्मी आन्दोलित भएपछि नगर प्रमुख लालकिशोर साहले जेठ मसान्तभित्रमा तलब उपलब्ध गराउने आश्वासन दिए पनि उनीहरूले धर्ना कार्यक्रम जारी नै राखेका थिए।
आन्दोलित भएका सफाइकर्मीहरूको अगुवा कुशेश्वर मेस्तरले उपमहानगरपालिकाले विगतमा पनि आश्वासन दिए पनि त्यो ठग्ने काम मात्रै भएको आरोप लगाए।
उनले भने, ‘ नगरप्रमुखज्यूको आश्वासनमा हामीलाई विश्वास छैन त्यसैले धर्ना कार्यक्रम जारी नै रहनेछ।’
उनले गत वर्षको माघ फागुन मसान्तदेखि नै आफूहरू तलब नपाएको र मेयर साहद्वारा आजभोलि गर्दा गर्दै चार महिना भइसकेकाले तलब र स्थायी नियुक्त नगरे कार्यमा नफर्किने चेतावनी दिए।