त्रिपालमुनिको बास। त्रिपालले बारिएको झुप्रोका बाहिरपट्टि जुठा भाँडा। सँगै भएका पानी राख्ने भाँडा पनि खाली। पानी बोक्न बुलबुलेमा जान तयार भएका परिवारका अधिकांश सदस्य । कोही गाग्री बोक्न डोको खोज्दै छन् त कोही फुटेका भाँडा टाल्न साबुन र चपाइएको चुइगम प्रयोग गर्दैछन्।
यो दृश्य हो सुर्खेतको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको हातामा रहेको बाढीपीडित शिविरको।
घरमा पानी नभएपछि उनीहरूले समयमै भाँडासमेत सफा गर्न पाएका छैनन्। २०७१ को बाढीबाट आवासविहीन बनेका सुर्खेतका केही बाढीपीडित वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको कम्पाउण्डभित्र त्रिपालमुनि ५ वर्षदेखि बसिरहेका छन्। उनीहरू माघदेखि यता खानेपानीको समस्या खेप्दै आएका छन्।
अव्यवस्थित रूपमा प्रयोग भएको भन्दै वीरेन्द्रनगर उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उक्त शिविरमा जडान गरिदिएको खानेपानीको लाइन काटेपछि शिविरमा बसेका १६ परिवार बाढीपीडित कम्तीमा ४५ मिनेट लगाएर बुलबुले उद्यानभित्रबाट खानेपानी ल्याउने गरेका छन्।
आफूहरू बसेको ठाउँमा पानी नभएपछि महिनौ अघिदेखि खानेपानीका लागि बुलबुले धाउनुपरेको बाढीपीडित रुपा सिंहले बताइन्। पानीको अभाव भएसँगै उनलाई छोराछोरीको समेत चिन्ता थपिएको छ।
‘बीचमा चार लेनका हाइ-वे छ, बिहान बेलुका पानी ल्याउन बुलबुले जान त्यो हाइ–वे काट्नुपर्छ,’ उनले भनिन्, ‘केटाकेटी पानी लिन जान्छन्, गाडीको चापाचाप हुन्छ कतै च्यापिन्छन् कि भन्ने डर लाग्छ।’
पानी भर्न जाँदा बुलबुलेमा पनि कहिलेकाही आधा घण्टाभन्दा बढी कुर्नुपरेको उनले बताइन्।
संस्थाले लाइन काटेदेखि अत्यावश्यक हुँदा समेत कहिलेकाहीँ पानी उपलब्ध नहुने दिया शाहीले बताइन्।
‘कहिलेकाहीँ स्कुल जाँदा, स्कुलबाट आउँदा सरसफाइका लागि पानी चाहिन्छ । बुलबुलेबाट बोकेको पानी अगाडि नै सकिइसकेको हुन्छ,’ उनले भनिन्, ‘बल्लबल्ल टाढाबाट बोकेको पानी दिनभर त पुग्दैन।’
महिला प्रशिक्षण केन्द्रको पर्खालभन्दा बाहिर पर्ने सडकको नालामा पाइप काटिएपछि जोडिदिन संस्थालाई भनेपछि संस्थाका मान्छे आएर जोड्नुको सट्टा लाइन नै बन्द गरिदिएको दियाले बताइन्।
बन्द भएपछि पनि पानी जडान गरिदिन भन्दै संस्थामा निवेदन दिइएको तर जडान नगरिदिएको शिविरमा बस्दै आएकी रमा योगीले बताइन्।
शिविरमा बस्ने बाढीपीडितले नि:शुल्क उपभोग गर्न पाउनेगरी संस्थाले २०७२ सालमा नै त्यहाँ धारा जडान गरिदिएको थियो । तर अहिले भने संस्थाले मिटर राखेर पैसा तिरेमात्र पानी जडान गरिदिने बताएको योगीले बताइन्।
‘यतिका ५ वर्षसम्म पैसा नतिरेर दिएको पानी अहिले पैसा तिर्नुपर्ने भनेको छ। हामी आफैं यो हालतमा छौं, कसरी पैसा तिर्नु, कसरी मिटर जडान गर्नु,’ उनले भनिन् ।
यता, सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले भने पाइप काटेर अनियमित रूपमा प्रयोग भैरहेकोले लाइन बन्द गर्नुपरेको बताएको छ । पछि लाइन जडान गर्नका लागि जिम्मेवारी लिने कोही नभएपछि जडान गर्न नसकिएको संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले बताए ।
‘सुरूमा बाढीपीडितको त्यस्तो अवस्था भएर हामीले पानी निःशुल्क जोडिदियौं, पछिल्लो समय धाराभन्दा बाहिर लाइन काटेर जथाभावी रूपमा अरुले पनि प्रयोग गर्ने गरेको पाइयो,’ गौतमले भने, ‘यस्तो पाइएपछि हामीले पानीको चुहावट नियन्त्रण गर्न बन्द गर्यौं, पछि जडान गरिदिन भन्दै उहाँहरू आउनुभएको थियो । तर चुहावट हुन दिँदैनौं भनेर जिम्मा कसैले लिन सक्नुभएको छैन, त्यसकारण जडान नगरिएको हो।’
सम्बन्धित वडा कार्यालय, प्रशासन एवम् कोही सरोकारवाला वा बाढी पीडित आफैंले पानीको दुरुपयोग हुन नदिनेगरी जिम्मा लिएमा जडान गर्न सकिने उनले बताए।