सानु जिम्बा घरबाट निस्केलगत्तै जोडले हावाहुरी चल्न थाल्यो।
उनी घरबाट दुई सय मिटर मात्र टाढा पुगेका थिए। हावामा थामिन मुश्किल परेपछि इनारको डिल समातेर जोगिन खोजे।
यो वैशाख १२ को घटना हो। अपराह्न करिब साढे चार बजे।
सर्लाही, हरिवन नगरपालिका-५, घुर्कौलीका ५५ वर्षीय सानु जिम्बा जसै घरबाट निस्के, हावाहुन्डरीमा घेरिए। इनारको डिल समातेर जोगिन खोज्नु त झनै अभिशाप बन्यो। उनी हावाको वेगले हुत्तिएर त्यही इनारभित्र खसे।
तीस फिट गहिरो इनार सुकेको थियो। पानी नभएको इनारमा उनी बजारिँदै झरे। उनी चिच्याए, कराए। तर, उनको आवाज बाहिर कसैले सुनेन।
राति अबेरसम्म जिम्बा घर नफर्केपछि चिन्ता बढ्यो। भोलिपल्ट पनि नआएपछि खोजीनिति सुरू भयो। उनकी श्रीमतीले छिमेकीहरूसँग गुहार मागिन्। सबै खोजीमा जुटे।
गाउँभरि खोज्दा पनि जिम्बा कतै फेला परेनन्। घरनजिकै इनारमा खसेका होलान् भन्ने कसैले कल्पनासम्म गरेनन्।
वैशाख १३, १४ र १५ गते यसै बित्यो।
‘गाउँभरि खोजेँ, बूढोलाई कतै भेटिनँ, घरायसी समस्याले एकदमै निराश थिए,’ श्रीमती सञ्जुले भनिन्, ‘पिरलोमा रातदिन रोएँ।’
चौथो दिन सोमबार बिहान ७ बजे स्थानीय बालक विवश पाख्रिन खेल्दै इनारनजिक पुगेका थिए। तल हेर्दा ‘मान्छे’ जस्तो आकृति देखेर उनी आत्तिए। हस्याङ-फस्याङ गर्दै घर फर्किएर आमाबाबुलाई कुरा सुनाए।
त्यसपछि स्थानीय जिम्बाको घरमा पुगे। सञ्जुलाई साथै लिएर इनार नजिकै गए। त्यहाँ जिम्बा छट्पटाइरहेको देखेपछि इलाका प्रहरी कार्यालय हरिवनमा खबर गरे।
हरिवनका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार उद्धारका लागि आवश्यक सामग्री लिएर प्रहरी सवा ८ बजे बिहान घटनास्थल पुग्यो।
जिम्बाको शरीर राम्रोसँग चलिरहेको थिएन। सुरूमा एक बोतल पानी इनारभित्र झारियो। मुस्किलले आधिसर्को पानी जिम्बाले पिए। त्यसपछि प्रहरीले जुस झारे। विस्तारै त्यो पनि पिएपछि जिम्बा अलि तंग्रिएजस्ता देखिए।
जिम्बाले राम्रो शारीरिक प्रतिक्रिया दिन थालेपछि प्रहरीले इनारको बीच भागमा पर्ने गरी रड राख्यो। रडलाई प्रहरी, सशस्त्र प्रहरी र सेनासमेत भएर अठ्याए।
त्यो रडसँग डोरी पनि सँगै लिएर एक जना प्रहरीलाई इनारभित्र झारियो। तिनै प्रहरीले जिम्बालाई रडमा डोरीले राम्रोसँग बाँधे। माथिबाट प्रहरीले डोरी तान्यो र जिम्बालाई बाहिर निकालियो।
बाहिर निस्किँदा जिम्बा अत्यन्तै कमजोर थिए। हातखुट्टा थर्थर कामिरहेका थिए। शरीर शिथिल र गन्हाउन थालेको थियो।
‘तत्काल एम्बुलेन्स बोलाएर हरिवनको नमूना अस्पताल लग्यौं,’ उद्धारमा संलग्न प्रहरी निरीक्षक कार्कीले भने, ‘उपचारपछि उनी तंग्रिएका छन्।’
उपचारपछि घर फर्केका जिम्बा प्रस्ट बोल्न सकिरहेका छैनन्। उनको आवाज गडेको छ। त्यस दिन आफू गाउँकै एउटा बिहेमा जाँदै गर्दा हावाहुरी चलेर इनारको डिल समात्न पुगेको जिम्बाले बताएका छन्।
‘हावा धेरै चल्दा म खसेँ, साह्रै दुख्यो,’ उनले मसिनो आवाजमा सेतोपाटीसँग भने, ‘रोएँ, कराएँ, कसैले सुनेन।’
उनी इनारमा खसेको दिन, भोलिपल्ट र पर्सिपल्ट घरीघरी पानी परिरह्यो। आकाशबाट झरेको त्यही पानी अन्जुलीमा थापेर खाँदै इनारभित्र बसेको जिम्बाले बताए।
दुई-तीन दिनसम्म रुँदा-कराउँदा कोही नआएपछि ज्यान माया मारेको जिम्बाले बताए।
‘बाँच्ने आश थिएन, मर्नै लागेको बेला मलाई प्रहरीले बचायो,’ उनले भने, ‘पानी परिरहेपछि इनार रसाएर डुबेर मर्छु कि भन्ने पिर लागेका थियो। डरले सुत्न पनि सक्थिनँ।’
'नयाँ जीवन पाएको छु, खुसी छु। घरपरिवार पाल्नु छ, उपचार गरेर चाँडै काममा फर्किन चाहन्छु,’ उनले भने।
पाँच नम्बर वडाका अध्यक्ष नागेन्द्रकुमार साहले जिम्बाको ढाडमा समस्या देखिएको बताएका छन्।
‘थप उपचार आवश्यक रहेको डाक्टरले बताउनुभएको छ, ढाड भाँचिएको शंका छ,’ उनले भने, ‘बाँकी उपचार कहाँ गर्ने भनी परामर्श गरिरहेको छु। वडाध्यक्ष भएको हिसाबले उहाँको थप उपचारका लागि पहल गर्दैछु।’
वडाध्यक्ष साहका अनुसार जिम्बा परिवार अतिविपन्न छ। जिम्बाका दुई छोरा छन्। जिम्बा र छोराहरू ज्याला मजदुरी गर्छन्।
भिडियो