जनकपुरधामस्थित पब्लिक युथ क्याम्पसले एक जना विद्यार्थीलाई प्रवेशपत्र दिन नमानेपछि उनी परीक्षाबाटै बञ्चित भएका छन्।
कक्षा १२ मा अध्ययनरत महोत्तरी एकडाँरा गाउँपालिका ४ हलखोरीका देवीन रायलाई कलेजले परीक्षाका लागि प्रवेश पत्र नदिएपछि परीक्षाबाट बञ्चित भएका हुन्।
राय कक्षा ११ को आंशिकतर्फको चाइल्ड डेभेलपमेण्ट विषयको परीक्षा दिनबाट बञ्चित भएका छन्।
कक्षा ११ मा पढ्दा कलेजले मागे अनुसारको सम्पूर्ण रकम चुक्ता नगर्दा रायले परीक्षा दिन नपाएका हुन्। सोमबार प्रवेशपत्र लिन क्याम्पस पुगेका उनलाई प्रिन्सिपल शिवनारायण झाले कलेजले मागे बमोजिमको फि नतिरे प्रवेशपत्र नपाउने भन्दै फर्काएका थिए ।
पीडित विद्यार्थी देवीनले प्रवेश पत्र दिन बारम्बार आग्रह गरेपछि उनले ‘जहाँ जुन निकायमा जाने भए जाउ’ भन्दै क्याम्पसबाट निकालिदिएका थिए।
देवीनले कक्षा ११ मा १३ हजार रुपैयाँ चुक्ता गरिसकेको जानकारी दिए। उनले क्याम्पसमा विद्यार्थी पठाए रजिष्ट्रेसन फि बाहेक अन्य शुल्क नलाग्ने सम्झौता भए पनि पछि नमान्दा १३ हजार रुपैयाँ तिरेको दाबी गरे ।