सुर्खेतका केही युवती शनिबार एउटा हलमा भेला भएका थिए।
विदा सदुपयोग गर्दै उनीहरूले आ-आफ्ना महिनावारीका अनुभव बाँडे, प्रजनन् र यौनका कुरा गरे।
यो उनीहरूको सात महिनादेखिको नियमित कार्यक्रम हो।
भेरीगंगा नगरपालिका–१३, रामपुर सुर्खेतका युवती हरेक शनिबार यसैगरी भेला भएर प्रजनन स्वास्थ्य, लिंग र लैंगिकता, किशोरावस्था, मानव प्रजनन प्रणाली, महिनावारी चक्र र प्रजनन क्षमता, कम उमेरको विवाह, गर्भधारणजस्ता विषयमा छलफल गर्छन्।
लुकाइछिपाइ राख्ने गरिएका यी विषयमा खुलेर छलफल थालेका उनीहरू कतिपय समस्या समाधानका लागि आफूसँग भएका ज्ञान पनि बाँड्ने गर्छन्।
यो छलफल निम्ति वडा नम्बर १३ का युवतीहरूले तीनवटा समूह बनाएका छन्। विवाहित युवतीहरू संलग्न ‘विवाहित युवती समूह’ छ भने अविवाहित युवतीहरूको दुईवटा ‘अविवाहित युवती समूह’ छ।
विशेषगरी अविवाहित युवतीहरूको भेलामा किशोरावस्था, महिनावारी चक्र र प्रजनन् क्षमता, कम उमेरको विवाहजस्ता विषयमा छलफल हुन्छ।
विवाहित युवतीहरू भने प्रजनन स्वास्थ्य, लिंग र लैंगिकता, मानव प्रजनन प्रणाली, गर्भधारणजस्ता विषयमा छलफल गर्छन्।
यी समूहका सहजकर्ता मीना विकका अनुसार रामपुरका १५ देखि २४ वर्ष उमेरका सबै युवती छलफलमा सहभागी हुन्छन्।
रामपुरकी निरा विक ‘अविवाहित युवती समूह’ मा आबद्ध भएको दुई महिना भयो। उनी अहिलेसम्म चारपटक छलफलमा सहभागी भइसकेकी छन्।
महिनावारी लगायत घरपरिवारमा भन्न नसकिने समस्या समूहका दिदीबहिनीसँग भन्न सजिलो हुने गरेको उनी बताउँछिन्।
‘परिवारमा आमाबुबा, दाइभाइहरूसँग यस्ता समस्या भन्न लाज हुन्छ, त्यसैले आफूलाई अति गाह्रो नभएसम्म भन्न सकिँदैन,’ उनले भनिन्, ‘समूहमा सबै हाम्रो उमेर मिल्ने दिदीबहिनीजस्ता छन्, आफ्ना सानादेखि ठूला समस्या मज्जाले राख्न सकिन्छ।'
भेरीगंगा नगरपालिका, सेभ द चिल्ड्रेन र स्याक नेपालको समन्वयमा गठन गरिएका ती समूहले युवतीहरूको स्वास्थ्य समस्या पहिचान, समाधान तथा जिज्ञासा सम्बोधन गर्ने प्रयास गरेको सहजकर्ता मीना बताउँछिन्।
‘किशोरी र युवतीहरू घरपरिवार र आफन्तसँग आफ्ना समस्या राख्न सक्दैनन्। समूहका युवतीहरूमा भने साथीको भावना विकास भइसकेको हुन्छ। यसले उनीहरूलाई घरमा खुलेर भन्न लाज लाग्ने समस्या सुनाउन सजिलो हुन्छ,’ उनले भनिन्।
युवतीहरूबीच संकोच नरहोस् भनेर मनोरञ्जनात्मक कार्यक्रमबाट भेला सुरू गरिन्छ। मनोरञ्जनात्मक क्रियाकलापकै माध्यमबाट युवतीहरूले परिवारमा भन्न नसकेका समस्या समूहमा आदानप्रदान गर्ने गरेको उनले बताइन्।
‘समूहका केही सदस्यले समयमै महिनावारी नहुने, लामो समय रोकिनेजस्ता समस्या भन्नुभएको थियो,’ सहजकर्ता मीनाले भनिन्, ‘उनीहरूलाई समूहकै पहलमा स्वास्थ्य संस्था जान सल्लाह दियौं। स्वास्थ्य संस्थाले यसमा सहयोग गर्छौं भनेका छन्।'
भेरीगंगा नगरपालिकामा मात्र किशोरीहरू संलग्न ४२ समूह छन्। यी समूहले प्रजनन, यौन स्वास्थ्य, लैंगिक सचेतना लगायत विषयमा सचेतनामूलक सडक नाटकहरू गर्ने गरेका छन्।