सोमबार त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको ढोका खुल्नुअघि नै हजारौँ विद्यार्थी भेला भैसकेका थिए। केही विद्यार्थी भने पर्खाल र गेट नाघ्दै भित्र छिरिसकेका थिए।
विश्वविद्यालयले अन्तिम पटक राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षा दिन पाउने व्यवस्था गरेपछि हजारौँ विद्यार्थी लाभ उठाउन आकर्षित भएका हुन्। यसरी पढ्न चाहनेहरुमा धेरै सरकारी सेवामा संलग्न समेत छन्।
प्राइभेट परीक्षा दिँदा हाजिर पुर्याउनुपर्ने बाध्यता हुदैँन। त्यस्तै राजनीतिशास्त्र र जनप्रशासनमा थेसिस समेत गर्नुपर्दैन। त्यसको साटो विद्यार्थीले लिखित परीक्षा दिए पुग्छ।
परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि चैत १६ देखि वैशाख १६ गतेभित्र परीक्षा फारम भरिसक्नुपर्ने विज्ञापन गरेको थियो। दोब्बर दस्तुर तिरेर भने आउँदो एक सातासम्म फारम भर्न पाइन्छ।
अन्य विषयमा स्नातकसम्म अध्ययन गरेका तथा रोजगारीमा रहेकाहरुलाई प्राइभेट परीक्षा लाभदायी रहँदै आएको छ। त्रिभुवन विश्वविद्यालयले नेपालमा खुल्ला विश्वविद्यालय स्थापना भएर सक्रिय हुन थालेपछि प्राइभेट परीक्षाको प्रणाली हटाउने तयारी गरेको हो।
सरकार कर्मचारी, सेना, प्रहरीमा स्नातकोत्तर उतिर्ण भए बढुवामा अंक बढ्ने प्रावधान छ। त्यसैले पनि सरकारी सेवामा संलग्नहरुको प्राइभेट परीक्षामा आकर्षण छ। त्रिभुवन विश्वविद्यालयले धेरै आंगिक क्याम्पस र कलेजहरुमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। समेस्टर प्रणालीमा हाजिरी पूरा नगरे परीक्षामा सामेल हुन पाइँदैन। त्यसैले कतिपय अध्ययन बीचमा छाडेकाहरुका लागि पनि राजनीतिशास्त्र र जनप्रशासन आकर्षणको विषय बनेको हो।
विश्वविद्यालयका एक कर्मचारीका अनुसार सुरुवातमा दैनिक २ देखि ३ सयले फारम भरेका थिए। तर पछिल्लो एक साता दैनिक हजारभन्दा बढी विद्यार्थीले प्राइभेटको फारम भरिरहेका छन्। हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयमा प्राइभेट परीक्षाको फारम भर्न पुगेका विद्यार्थीको भिडिओ -