चैत १७ गते राति बारा र पर्सामा आएको हावाहुरीबाट २८ मृत्यु भयो। सयौं घाइते भए। त्यत्रो हावाहुरी आउँदैछ भनेर मौसम पूर्वानुमान महाशाखाले भने पहिल्यै सचेत गराउन सकेन।
उक्त घटनाले नेपालको मौसम पूर्वानुमान प्रणालीमाथि नै प्रश्न उठायो। हावाहुरी आउने पूर्वानुमान गर्न सक्ने प्रविधिमा भए पनि दक्ष जनशक्ति नहुँदा बारा-पर्साको घटना भएको कतिपयले तर्क गरे।
तर मौसमी घटनाबारे केही घण्टाअघि नै सूचना दिन सक्ने अत्याधुनिक उपकरणहरु भएर पनि प्रयोगमा नगरिएको अवस्था सुर्खेतमा देखिएको छ। सुर्खेतमा राखिएको मौसमी ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) ले ४ सय किलोमिटर वरपरसम्मको मौसमका बारेमा जानकारी दिन सक्छ।
जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा यस्तो राडार राख्न प्रस्ताव गरेको थियो। सुर्खेतमा जडान गरिएको यो राडार पहिलो चरणको हो। क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाका अनुसार विभिन्न चरणमा जडान गर्नेगरी गरिएको प्रस्तावअनुसार पहिलो चरणको सुर्खेतको रातानाङ्गलामा जडान भैसकेको छ।
उक्त हावापानी कार्यालय नै सुर्खेतमा रहने की नरहने भन्ने अन्यौल र जनशक्ति अभावका कारण सुर्खेतको राडार सञ्चालनमा ल्याउन नसकिएको क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख सापकोटाले बताएका छन् । तर, जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले संघीय संरचनाअनुसार वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयलाई कोहलपुर सार्ने निर्णय गरेपछि राडारबाट सूचना संकलन गरेर बाहिर पठाउने काम भने हुन सकेको छैन।
‘यहाँको र कोहलपुरको हावापानी कार्यालय मर्ज गरेर कोहलपुरमा राख्ने मन्त्रालयले निर्णय गरेपछि यो कार्यालय कोहलपुर जाने भयो,’ सुर्खेतका प्रमुख सापकोटाले भने, ‘यसकारण जनशक्ति नहुँदा र कार्यालयको टुंगो नहुँदा राडारबाट सूचना लिने काम अन्यौलमा नै छ, शायद अब छिट्टै हुन्छ होला।’
सापकोटाका अनुसार हावापानी कार्यालय कोहलपुर सारिएपछि सुर्खेतमा मौसमी राडार सूचना केन्द्र स्थापना गर्ने विभागले प्रस्ताव गरेको छ। त्यसका लागि सूचना अधिकृतसहित सम्बन्धित विषयका ८ जना कर्मचारीको दरबन्दी सृजना गरी मन्त्रालयलाई पठाइएको छ।
४ महिना अघि जडान कार्य सम्पन्न भएको सुर्खेतको राडार अहिलेका लागि परीक्षणका क्रममा रहेको उनले बताएका छन्। यसको निगरानी र सूचना संकलनका लागि सम्पूर्ण रुपमा व्यवस्था नभैसकेकाले अहिले सुर्खेतमा रहेको हावापानी कार्यालयबाट सूचना हेर्ने तर बाहिर पठाउन नसकिने उनले बताए। सापकोटाका अनुसार चालु आर्थिक बर्षको अन्तिमसम्म मौसमी राडार हावापानी कार्यालयकै मातहतमा रहने छ।
यहाँ सबै व्यवस्थापन नहुँदा विशेषगरी सुर्खेतमा भएको राडारले दिने सूचना अमेरिकाको सम्बन्धित कम्पनी ईन्टरप्राईस ईलेक्ट्रोनिक्स कर्पोरेसन (ईईसी)ले पनि संकलन गर्ने गरेको छ। यससँग सम्बन्धित कम्पनी भएकाले सूचना संकलनसँगै मोनिटरिङ गर्ने काम कम्पनीले पनि गरिरहेको सापकोटाले बताए।
ईन्टरनेटका माध्यमबाट राडारको सूचना संकलन गरिने हुँदा दक्ष कर्मचारीसहितको वैकल्पिक व्यवस्था नभएसम्म राडार सञ्चालनमा ल्याउन मुस्किल हुने सापकोटाको भनाई छ। ‘डाँडामा रहेको राडारको सूचना वीरेन्द्रनगरमा बसेर हेर्न ईन्टरनेटबाट नै हो, यहाँको ईन्टरनेट नियमित नहुन पनि सक्छ,’ उनले भने, ‘यसका लागि राडार भएको ठाउँमा बस्ने, बीचबीचमा मर्मत गर्ने जनशक्तिको व्यवस्थापन गर्न नसकिएसम्म सञ्चालनमा ल्याउन मुस्किल छ।’
विश्व बैंको सहयोगमा २७ करोड लागतमा जडान गरिएको सुर्खेतको मौसमी राडार पूर्ण रुपमा सञ्चालनमा आएमा कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४ सय किलोमिटर दुरीसम्मको मौसमको पूर्व सूचना दिने छ। मौसमविद्का अनुसार राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ ।
सुर्खेतस्थित हावापानी कार्यालयका प्रमुख सापकोटाका अनुसार वैशाख ३ गते प्रधानमन्त्री भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु गर्न आउँदा साथमा आएका सचिवहरु राडार राखिएको स्थानमा अवलोकन गर्न जाने कार्यक्रम छ। उनले त्यसक्रममा राडार पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि थप पहल हुन सक्ने आशा व्यक्त गरे।
‘प्रधानमन्त्रीज्यू भेरीबबई आयोजनाको सुरुङ बे्रक थ्रु गर्न आउँदा सचिवहरु राडार भएको ठाउँमा जाने कार्यक्रम रैछ । त्यसबेला उहाँहरुले प्रत्यक्ष हेरेर कसरी छिटो सञ्चालनमा ल्याउने भन्नेबारेमा केही पहल गर्नुहोला नि ।’ सापकोटाले भने ।