प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा उसै पनि सार्वजनिक शौचालयको अभाव छ।
सार्वजनिक शौचालयको अभावमा यहाँ आउने आगन्तुकहरू खुला रूपमै दिसा-पिसाब गर्न बाध्य हुन्छन्। जबकि, सरकारी निकायको बेवास्ताका कारण लाखौं खर्चेर निर्माण गरिएको एक शौचालय प्रयोगविहीन छ। सोही शौचालय अहिले बासस्थान भएको पाइएको छ। सरसफाइको काम गर्ने एक परिवारले शौचालयलाई नै बासस्थलको रूपमा प्रयोग गर्दै आएको पाइएको हो।
जनकपुरधाम ४ स्वर्गद्वारी नजिक चार वर्ष अगाडि सो सार्वजनिक शौचालय बनाइएको थियो ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले डम्पिङ साइटको रूपमा प्रयोग हुँदै आएको सार्वजनिक जग्गालाई व्यवस्थापन गर्ने उद्देश्यले ३१ लाख रुपैयाँ खर्चेर सुविधा सम्पन्न शौचालय निर्माण गरेको थियो। तर निर्माण भएको चार वर्ष बितिसक्दा पनि सो शौचालय प्रयोगमा नआएपछि वासस्थानको रूपमा भने प्रयोग हुँदै आइरहेको छ।
शौचालय निर्माणको ठेक्का पाएका विवेकानन्द मिश्रले आफूले तोकिएकै समयमा निर्माण पूरा गरे पनि सरोकारवाला निकायले जिम्मा नलिएको बताउँछन्।
सरोकारवाला निकायले ध्यान नदिँदा सुविधा सम्पन्न सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेको मिश्रले गुनासो गरे ।
निर्माण सकेर अन्तिम बिलसमेत परिषदको कार्यालयमा बुझाइ सकेको उनी बताउँछन्।
उनी भन्छन्,‘कहिले प्राविधिकको बहाना त कहिले पैसा नभएको बहानामा मलाई अल्झाइएको छ।’
सम्झौताअनुसारको रकम कार्यालयले फर्छ्यौट नगरेका कारण आफूले निर्माण गरेको संरचना हस्तान्तरण गर्न नपाएको उनको भनाइ छ।
कार्यालयले दायित्व नलिएकै कारण त्यो प्रयोगमा आउन नसकेको उनी बताउँछन् ।
परिषद्का कर्मचारीहरूको गैरजिम्मेवार पूर्ण रवैयाका कारण लाखौं रुपैयाँ बालुवामा पानी खन्याए जस्तो हुन पुगेको मिश्र बताउँछन् । परिषदले चासो नदिँदा आफूले गरेको खर्च पनि नपाएको उनको भनाइ छ ।