पूर्वसांसद गायत्री साहले फागुन २८ गते जन्माएको बच्चामा डाउन सिन्ड्रोम देखियो। उनले गर्भावस्थामा नियमित रूपमा मेडिसिटी अस्पतालका डाक्टरसँग चेकजाँच गराएको र उनीहरूले बच्चाको अवस्थाबारे केही नबताएकाले यस्तो बच्चा जन्मिएको बताएकी छन्। अस्पतालले डाउन सिन्ड्रोम भएका बच्चाको आजीवन औषधीउपचार गरिदिनुपर्ने माग राखेर उनले बच्चालाई अस्पतालमै छोडेकी छन्।
यो घटनापछि आममान्छेमा चासो बढेको छ-डाउन सिन्ड्रोम के हो? कसरी हुन्छ? र आमाको पेटभित्र हुँदा थाहा पाउन सकिन्छ कि सकिन्न?
हामीले यिनै प्रश्न वरिष्ठ स्त्री रोग तथा टेस्ट्युब बेबी विशेषज्ञ डाक्टर नुतन शर्मालाई सोधेका छौं।
के हो डाउन सिन्ड्रोम?
क्रोमोजमोममा हुने असामान्य अवस्था डाउन सिन्ड्रोम हो। सामान्य बच्चामा ४६ क्रोमोजोम हुन्छन् भने डाउन सिन्ड्रोम भएका बच्चामा ४७ क्रमोजोम हुन्छन्। २३ क्रोमोजोमको ठाँउमा थप क्रोमोजोम हुने भएकाले यसलाई ‘ट्राइजोमी क्रोमोजोम’ पनि भनिन्छ। यो वंशानुगत रोग पनि हो। परिवार कसैलाई भएको भए नयाँ बच्चामा पनि हुने सम्भावना हुन्छ।
डाउन सिन्ड्रोम कसरी हुन्छ ?
डाउन सिन्ड्रोम हुनुमा असामान्य खालको क्रोमोजोम र वंशानुगत कारण हुन सक्छन्। बच्चामा डाउन सिन्ड्रोम हुनुको प्रमुख कारण गर्भवती महिलाको उमेर नै हो। बढी उमेरका महिला गर्भवती हुँदा बच्चामा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ।
ढिला बिहे गर्ने अनि ढिलो बच्चा जन्माउँदा यस्तो खतरा हुन्छ। सामान्यत: महिलाले ३० वर्षअघि नै बच्चा जन्माइसक्नु राम्रो हो। अहिले मानिसहरू करियरका कारण ३४ देखि ३८ सम्म बच्चा जन्माउँछन्। ढिला बच्चा पाउने क्रम बढेसँगै डाउन सिन्ड्रोम भएका बच्चा जन्मिने सुरू भएको छ। बढ्दो उमेरमा गर्भवती हुनु नै यसको प्रमुख कारण हो।
एउटा निश्चित उमेरपछि महिलाको डिम्वासयमा अण्डाहरू कम हुँदै जान्छ। ३० वर्षसम्म गर्भवती भएका महिलाबाट जन्मिएका बच्चामा डाउन सिन्ड्रोमको सम्भावना कम हुन्छ। विश्वभर १ हजार गर्भवतीमध्ये १ जना महिलाको बच्चामा यस्तो समस्या देखिन्छ। ४० वर्ष कटेका गर्भवती महिलाहरूलाई आधार मान्दा भने १ हजारमध्ये १३ जना महिलाबाट जन्मेका बच्चालाई डाउन सिन्ड्रोम हुने तथ्यांक छ।
डाउन सिन्ड्रोम भएको बच्चा जन्मिने गर्भमै थाहा पाउन सकिन्छ?
गर्भवतीको स्वास्थ्य परीक्षण गर्दा बिरामी जोखिममा छकी छैन भनेर हामी स्क्रिन गर्छौं। ३५ वर्षभन्दा बढी उमेरका, घरमा कोही असामान्य बच्चा भएको र पहिला पनि डाउन सिन्ड्रोम भएको बच्चा देखिएको थियो भने यस्ता महिलाको हामी विशेष ध्यान दिएर परीक्षण गर्छौं।
नेपालमा यसको परीक्षण हुन्छ र भइरहेको पनि छ। बच्चामा डाउन सिन्ड्रोम छ कि छैन भन्ने केही महिनामै थाहा हुन्छ।
गर्भवती भएको १० देखि १२ साताको बीचमा अल्ट्रासाउन्ड गरिन्छ त्यो बेला बच्चाको पछाडिको भाग कति बाक्लो छ परीक्षण गरेर पत्ता लगाइन्छ।
त्यतिबेला पछाडिको भाग बाक्लो देखियो भने भने १५ देखि १८ सातामा रगत परीक्षण गरिन्छ त्यो बेलामा डाउन सिन्ड्रोम भए/नभएको ८५ प्रतिशत थाहा हुन्छ। यस्तो अवस्थामा बिरामीको पेटबाट सुई हानेर बच्चा नजिकको पानी निकालेर क्रोमोजोम परीक्षण गर्नुपर्छ। क्रोमोजोम परीक्षणपछि बच्चामा डाउन सिन्ड्रोम छ कि छैन सतप्रितशत थाहा पाउन सकिन्छ।
यो रोग पत्ता लाग्नु एकदमै जरूरी छ किनभने डाउन सिन्ड्रोमको कुनै उपचार छैन। रोग पत्ता लागिसकेपछि गर्भपतनमा जान्छौं।
१८ देखि २० सातामा यो रोग पत्ता लागिहाल्छ। ५ महिना नपुग्दै थाहा यस्तो भएको थाहा भए गर्भपतन गर्न पनि गाह्रो हुँदैन। यदि डाउन सिन्ड्रोम नै छ भने गर्भवती तयार भए बढी समय हुँदा पनि गर्भपतनमा जानुपर्छ।
जन्मिएका बच्चा असामान्य
क्रोमोजोम असामान्य हुने भएकाले बच्चा पनि असामान्य खालको हुन्छ। जन्मिनेबित्तिकै यिनीहरूको शरीर नै फरक खालको देखिन्छ। नाक थेप्चो हुने, कान फराकिलो हुने, खुट्टाका औंलाको बीचमा बढी ग्याप हुन्छ। यस्ता बच्चाहरुको जिब्रो बाक्लो हुन्छ। यीनीहरू हँसिला र निर्दोष देखिन्छन्। सामान्य काम गर्न सक्दैनन् र व्यवहार पनि असमान्य देखाउँछन्। उमेर बढ्दै गएपनि त्यो अनुसारको शारीरिक विकास भने हुदैन
डाउन सिन्ड्रोम भएर जन्मेका मानिस ५५-५६ वर्ष बाँचेका छन्।