ट्याक्सी चालक विष्णु चौहान गत आइतबार ललितपुरस्थित साझा पेट्रोल पम्पमा लाइन बसेका थिए। एकजना ट्राफिक प्रहरी आएर उनको ट्याक्सी पछाडि टाँसिएको पम्प्लेट उक्काउन खोजे। चौहानले उक्काउन दिएनन्। करिब १०-१५ मिनेट चर्काचर्की गरेपछि ट्राफिक आफ्नो बाटो लागे।
ट्याक्सी चालकहरूले करिब दुई महिनायता शान्तिपूर्ण आन्दोलनका रूपमा ट्याक्सी पछाडि आफ्ना माग तथा गुनासाहरू टाँसेका छन्। उनीहरूको आन्दोलन सम्बोधन गर्नुको साटो सरकारी पक्षले उल्टो ज्यादति गरेको चालक चौहान बताउँछन्।
'हामीले सरकारसँग ट्याक्सी वेथिति अन्त्य गरौं भनेर शान्तिपूर्ण तरिकाले माग राखेका थियौं,' चौहानले भने, 'हामीसँग वार्ता गरेर समस्या सुल्झाउनुको साटो उल्टै हप्कीदप्की सुरू भयो। के यो देशमा शान्तिपूर्ण आन्दोलन गर्न पाइँदैन?'
ट्याक्सी चालकहरूले विरोध गरेको भन्दै यातायात विभागको निर्देशनमा ट्राफिक महाशाखाले पम्प्लेट च्यात्न चालेको हो। पम्प्लेट च्यात्न ट्राफिकहरू ट्याक्सीको पछि नै लाग्न थालेका चालक दीलिप श्रेष्ठ बताउँछन्।
सोमबार दुई विदेशी यात्रुलाई बौद्धबाट ठमेल लैजाँदै गर्दा चावहिलबाट एकजना ट्राफिकले मोटरसाइकलमा पछ्याएको उनी बताउँछन्।
'चावहिलदेखि पछ्याएका ट्राफिकले केहीबेरमा अगाडि लागेर रोके,' दीलिपले भने, 'ट्याक्सी र यातायातबीच सहमति भइसकेको छ। अब यो विरोधको पम्प्लेट हटाउनु भने। मैले सहमति भएको छैन, उक्काउँदिनँ’ भनेपछि ती ट्राफिक झोक्किए।'
ट्राफिकले दीलिपको रोड परमिट र लाइसेन्स समातेर महानगर प्रहरी वृत्त गौशाला आउनु भन्दै हिँडेको दीलिपले जानकारी दिए। ट्राफिकले भने जस्तो सहमति पनि नभएको उनले बताए।
यातायात व्यवस्था विभागले चैत ११ गते महानगरीय ट्राफिक प्रहरीलाई चालकहरूले 'इमोसनल ब्ल्याकमेल गरेर उपभोक्ता झनै ठगेको' भन्दै त्यस्ता पम्पलेट हटाउन चिठी काटेको छ। विभागले चिठीपछि ट्राफिक प्रहरीले पम्प्लेट हटाउन थालेको हो।
बेला बेलामा भाडा समायोजन भएपनि सरकारले कामै नगरेको जस्तो सन्देश प्रवाह भएकाले यो कदम चाल्नु परेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले बताए।
‘गत असोज ७ गते भाडा समायोजन गरेका हौं, अझै पनि उहाँहरू असन्तुष्ट हुनुहुन्छ भने बसेर छलफल गर्न तयार छौं,’ दाहालले सेतोपाटीसगँ भने,‘तर सरकारले वास्ता नगरेझैं गलत सन्देश प्रवाह गर्न हुँदैन।’
चालक चौहान भने यो अभियान सरकारले सुनोस्, वार्तामा डाकोस् र दुवै पक्ष मिलेर ट्याक्सी व्यवसायमा देखिएका समस्या सल्टाउन पहल गरौं भन्ने उद्देश्य आफूहरूको रहेको बताउँछन्।
'हामीले केही नाजायज माग राखेका छैनौं,' उनले भने, 'ट्याक्सीमा ठगी बढेको छ। ठगी हुने वातावरण ने सिर्जना नहोस् भन्ने हाम्रो माग हो। भाडा बढाइदिनू भन्ने मात्र हाम्रो माग होइन। सम्पूर्ण ट्याक्सी व्यवसाय व्यवस्थित गरौं, उपभोक्ता र चालक मारमा नपरून् भन्ने हो। तर यी कुरा सुनेर सल्टाउनतिर लाग्नुको साटो सरकारलाई भद्र आन्दोलनले घोचेको छ।'
ट्याक्सी चालकहरूले भने जस्तो आफूहरूले स्टिकर नहटाएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाको भनाइ छ।
‘हामीले कारबाही पनि गरेका छैनौं र हटाएका पनि होइनौं। हटाउन आग्रहमात्र गरेका हौं,’ प्रवक्ता सापकोटाले भने।
नेपालको संविधान मौलिक हक अन्तर्गत धारा १७ मा प्रत्यक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। संविधानको दायरामै रहेर आफूहरूले गरेको आन्दोलनमा पनि सरकारले यस्तो व्यवहार गरेकाले चालकहरू विरक्तिएको चौहान बताउँछन्।
'धेरै प्रयासपछि हामी सबै एकजुट भएर शान्तिपूर्ण आन्दोलन गरेका छौं,' चौहानले भने, 'यसमा नराम्रो व्यवहार गरिँदिँदा चालकहरूको मनोबल गिर्छ।'