शुक्रबार साँझ करिब ५ः४५ बजे।
सन्तोष कुँवर र उनकी श्रीमती अम्बिरा कार्की कुपण्डोलबाट तीनकुने डेरातर्फ गन्तव्य तय गरिरहेका थिए।
उदयपुर त्रियुगा नगरपालिका-६ स्थायी घर भएका उनीहरू तीनकुने बस्छन्। साधारण व्यवसायी हुन्। स्कुटर कुँवरले हाँकिरहेका थिए।
नयाँ बानेश्वर चोकमा आइपुगेपछि ट्राफिक लाइट (रातो बत्ती) बल्यो। उनीहरू केहीबेर जाममा परे। हरियो बत्ती बलेपछि कुँवरले स्कुटर अगाडि बढाए।
संसद भवनको ठिक अगाडि आफ्नै लेनमा स्कुटर चलाइरहेका थिए, कुँवरले।
पछाडिबाट तीब्र गतिको भिआइपी गाडी क्रसर भयो। त्यसको पछुवा बा१झ ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यान थियो।
‘भिआइपी स्कर्टिङ गरिरहेको भ्यानले पेल्दै-पेल्दै हामीलाई लडाइदियो,’ कुँवरले सेतोपाटीसँग भने। स्कुटर र दुबै जना सडकमा पछारिए।
पछाडि अर्को मोटरसाइकल थियो। सो मोटरसाइकलका चालकले तत्कालै ब्रेक लगाएर सावधानी अपनाएकाले सडकमा पछारिएका उनीहरू जोगिए। मोटरसाइकलको ठाउँमा गाडी भएको भए उनीहरूलाई जे पनि हुन सक्थ्यो।
ठक्कर दिने सशस्त्र प्रहरीको भ्यानले आफ्नै गाडीबाट र आँखैअगाडि घटेको त्यो घटना वास्ता गरेन। कुँवरका अनुसार त्यो गाडी तीब्र गतिमा थियो।
‘होस् हवास् गएजस्तो भयो, हामी दुबैलाई केही चाहिँ भएन, स्कुटर चाहिँ हल्का कोरियो,’ कुँवरले भने, ‘मेरो देब्रे खुट्टाको थोरै छाला पिल्सिएको छ।’
खासै चोटपटक नलागेकाले उनीहरू उठेका थिए। स्कुटर उठाएर पुनः डेरातर्फ लागे।
‘भोलिपल्ट (शनिबार) पो थाहा भयो ठक्कर दिने त्यो भ्यान पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्कर्टिङको रहेछ,’ कुँवरले भने।
घटनाको भिडियो शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दुबैलाई बानेश्वर प्रहरी बृत्तले बोलायो। त्यहाँ सशस्त्र प्रहरी पनि थिए।
‘उहाँहरू को-को हुनुहुन्थ्यो, हामीले ख्याल गरेनौं। चिनेनौं। केही क्षतिपूर्ति दिनुपर्ने वा उपचारको आवश्यकता के छ भनेर सोध्नुभयो,’ कुँवरले भने, ‘केही पनि नभएकाले हामीले दाबी गरेनौं।’
बानेश्वर प्रहरी बृत्तका अनुसार दुबै पक्षलाई ‘मौखिक मिलापत्र’ गरी पठाइएको छ।
तर, प्रहरीले स्कुटर चालककै गल्ती भन्दै चन्दको स्कर्टिङमा खटिएको भ्यानलाई बिना कारबाही छोडेको छ।
‘त्यो स्कुटर आफैं ठोक्किएको हो,’ बानेश्वर बृत्तका प्रहरी नायब उपरीक्षक गोविन्द काफ्लेले भने, ‘दुबै पक्ष मिलेर गए। खासै ठूलो घटना हैन।’
स्कर्टिङको भ्यानले पेल्दै स्कुटरलाई ठक्कर दिएको भिडियोमा देखिन्छ। स्कर्टिङ भ्यानको ठाउँमा सर्वसाधारण कोही परेका भए ट्राफिक प्रहरीको कारबाहीमा पर्थे। लाइसेन्स जफत गरी चिट काटेर बग्गीखाना लगिन्थ्यो। पूर्वप्रधानमन्त्रीको स्कर्टिङको भ्यान परेकाले ‘मिलापत्र’ गरी छोडिएको छ।
चन्द लोकन्थलीस्थित निवास जाँदैथिए। ‘घटना साधारण भएकाले हामीले केही कारबाही गर्नुपर्ने देखेनौं,’ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले भने।
कुँवरका अनुसार दुबै पक्ष भेला भएर छलफल हुँदा स्कर्टिङको गाडीबाट गल्ती भएको स्वीकार गरेका थिए। ‘हामीबाट गल्ती भयो, हतारमा भएकाले हामीबाट मानवीय त्रुटि हुन पुग्यो,’ सशस्त्र प्रहरीलाई उद्धृत गर्दै कुँवरले भने।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री चन्दले सो घटना शनिबारमात्र आफूले थाहा पाएको बताएका छन्।
तर, चन्दले त्यो स्कुटरलाई ठक्कर दिएको स्वीकारेका भने छैनन्। ‘मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुई वटा गाडीको बीचमा परेर आत्तिएर भ्यानको पछाडि ठोक्किइ लडेको र लगत्तै उठेर हिँडेको थाहा भयो,’ सुरक्षाकर्मीको हवाला दिँदै उनले लेखेका छन्, ‘म अनभिज्ञ थिएँ, विभिन्न मिडिया र फेसबुकमा मेरो बारेमा नराम्रा कमेन्ट देख्दा दुःखित् छु।’
कुँवरले भिआइपीको सवारीमा हुने लापरबाही रोकिनुपर्ने बताए। ‘भिआइपी स्कर्टिङमा भएका गाडी पनि विस्तारै कुदाउँदा हुन्छ, जसरी सर्वसाधारणले कुदाइरहेका छन्,’ कुवँरले भने, ‘ओभरटेक गर्दा साना सवारीलाई पनि वास्ता गर्नुपर्छ। सडकको भीड हेरेर ओभरटेक गर्नुपर्छ।’