हिजो र आज गरी लगातार दुई दिनको एसईई परीक्षा रद्द भएपछि आक्रोशित जनकपुरधामका परीक्षार्थीहरु संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजीमा उत्रेका छन् ।
बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेपछि आक्रोशित परीक्षार्थीहरु विभिन्न नारा लगाउँदै संघीय र प्रदेश सरकार विरुद्ध उत्रिएका हुन् ।
आफूहरु परिक्षाको हलमा प्रवेश गरिसकेको र कापी दिने समयमा परीक्षा रद्द गरिएको सूचना पाएपछि नाराबाजी गरेको राजर्षि जनक विद्यालय कुर्थाका एसईईका विद्यार्थी सन्तोष कुमार यादवले बताए ।
यता अहिले आक्रोशित परिक्षार्थीहरु आ-आफ्नो केन्द्रबाट नारा जुलूस गर्दै राजमार्ग घेराउ गर्न पुग्दैछन्। जुलुस अहिले पिडारी चोक पुगेको छ।
आक्रोशित परीक्षार्थीहरुले प्रदेश दुईको मुख्यमंत्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बसेका छन् भने अहिले केही बेरमा उनीहरु राजमार्ग पीडारी चोकमा टायर बालेर प्रदर्शन गर्ने तयारी गरेका छन् ।
त्यसैगरी आक्रोशित विद्यार्थीहरूले परीक्षा रद्द गरिएको आक्रोशमा जनकपुरधामका एसईई परीक्षार्थीद्वारा ज्ञानकूप स्कूलमा तोडफोड गरेका छन्।
आक्रोशित परीक्षार्थीको भीडले विद्यालयका डेस्क बेन्च तोडफोड गरेको याज्ञवल्क्य ज्ञानकूपका प्रधानाध्यापक सञ्जय कुमार झाले बताए।
यससँगै उनीहरू केहि गाडीहरू तोडफोडसमेत गरेका छन्।