किष्ट मेडिकल कलेजकी तत्कालीन शैक्षिक संयोजक डा. अमिता प्रधानले गत मंसिर २३ गते जागिर जोडिन्। दस वर्षदेखि कार्यरत प्रधानले हठात् छोड्नुमा कलेज सञ्चालकले दिने दबाब मुख्य थियो।
त्यही दिन राजीनामा दिएर कलेज छोड्नुमा दबाबभित्रै पनि दबाबको कथा छ। मंसिर २५ गते किष्टले एमबिबिएस दसौं ब्याचका विद्यार्थीको आन्तरिक परीक्षाको नम्बर त्रिभुवन विश्वविद्यालय पठाउँदै थियो।
यो बीचमा कलेज सञ्चालक र प्रधानबीच विद्यार्थीको नम्बर पठाउने विषयमा लामो विवाद चलेको थियो।
प्रधान भन्थिन्- फेल भएका खासै कोही पनि छैनन्, नम्बर पठाऔं।
कलेज भन्थ्यो- हुँदैन। नम्बर नपठाउने।
‘नम्बर नपठाउने विषयमा शुल्क विवाद जोडिन्छ, कलेजले गैरकानुनी तरिकाले शुल्क माग्यो, विद्यार्थीले तिर्न मानेनन्,’ अमितानिकट स्रोतले भन्यो, ‘अबैध शुल्क नतिर्नेको नम्बर नपठाउने दबाब सहन नसकेर उहाँले छोड्नुभयो।’
अमिताले यसअघि पनि यस्ता दबाब झेल्ने गरेकी थिइन्। यसपालि भने आजित भएर राजीनामा नै दिइन्।
प्रधानले छोडेलगत्तै कलेजले किशोरसिंह बस्नेतलाई शैक्षिक संयोजक नियुक्ति गर्यो। त्रिविमा विद्यार्थीहरूको नम्बर पठायो। बस्नेत नियुक्तिपछि पठाइएको नम्बरमा थुप्रै विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गराइएको थियो।
आन्तरिक परीक्षामा फेल भएपछि अन्तिम परीक्षा दिन पाइँदैन। किष्टले फेल गराएकामध्ये एमबिबिएस र बिडिएसका ५० जना विद्यार्थी थिए। उनीहरूले त्रिविको अन्तिम परीक्षा दिन पाएनन्। एक विद्यार्थीका अनुसार तीन पटक लिइएको आन्तरिक परीक्षामा एक दुई जनाबाहेक कोही फेल भएका थिएनन्।
विद्यार्थीले अन्तिम परीक्षा दिन नपाउनुमा अबैध शुल्क नै प्रमुख थियो। गत असोजमा कलेजले एमबिबिएस र बिडिएस दसौं ब्याचका विद्यार्थीलाई अतिरिक्त शुल्क ९० हजार रुपैयाँ मागेको थियो। त्यसमा बीमा, त्रिवि रजिष्ट्रेसन, नेपाल मेडिकल काउन्सिल शुल्कलगायत थिए। त्यो सबै कलेज आफैंले ब्यहोर्नुपर्ने शुल्क हुन्।
कलेजले विभिन्न शीर्षकमा पैसा मागेपछि विद्यार्थी चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) गएका थिए। आइओएमका डिन डा. जगदीशप्रसाद अग्रवालले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलाई पत्र लेख्दै गैरकानुनी शुल्क उठाएकोमा अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै चिठी पठाएका थिए।
सो चिठीसँगै ६९ जना विद्यार्थीले ललितपुर प्रशासनमा उजुरी गरेका थिए। ललितपुर प्रशासन अनुगमनमा त गयो। तर, उसले अबैध शुल्क माग्ने कलेजलाई कारबाही गरेन।
‘हामी अनुगमनमा जाँदा त्यस्तो भेटेनौं, पुष्टि भएन। पछि विद्यार्थी हाम्रो सम्पर्कमै आएनन्, उतै कुरा मिलाए,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी जोशी भन्छन्।
प्रशासनले किष्टलाई अबैध शुल्क मागेकोबारे चिठी लेख्यो। किष्टले उत्तर दियो- हामीले गैरकानुनी शुल्क मागेका छैनौं, कोही विद्यार्थीलाई त्यस्तो लागेर उजुरी गरेको भए विद्यार्थीको विवरण उल्लेख गरीपाउँ।
किष्टले अबैध शुल्क सच्याउनको सट्टा उजुरी गर्ने विद्यार्थी को थिए जान्न खोजेको थियो। उजुरी गर्ने विद्यार्थी पत्ता लगाएर परीक्षामा बन्देज लगायो।
विद्यार्थीका अनुसार मंसिर १८ गते त्रिविको परीक्षा फारम भर्ने अन्तिम मिति थियो। त्यसैदिन डा. प्रधानले सबै विद्यार्थीलाई बोलाएर भनेकी थिइन्, ‘फारम भर्नु, मजाले पढ्नु परीक्षा दिन पाइन्छ।’
तीन पटकका आन्तरिक परीक्षामा १२० नम्बर पुर्याएका विद्यार्थीले अन्तिम परीक्षा दिन पाउँछन्। यसभन्दा पहिले किष्टले यस्ता विद्यार्थीलाई परीक्षामा सामेल गराएको थियो।
विद्यार्थीले परीक्षा फारम भरे। पुस ५ गते परीक्षाको दिन कलेज पुग्दा पचास विद्यार्थीलाई प्रवेश पत्र दिइयो। तर, प्रवेश पत्रमा रातो चिह्न लगाइएको थियो। उनीहरूलाई परीक्षा हल छिर्न दिइएन।
‘तिमीहरू आन्तरिक परीक्षामा फेल भएका छौ, टियुले प्रवेश पत्रमा रातो चिह्न लगाइदिएको छ, परीक्षा दिन पाउँदैनौं,’ कलेज प्रशासनले भन्यो।
परीक्षा दिन नपाएपछि विद्यार्थी घर फर्किए। ‘हामीलाई परीक्षा दिन रोक लगाउनुमा बढी शुल्कको बिरोध नै प्रमुख कारण थियो,’ ती विद्यार्थीले भने।
दोस्रो वर्षको कक्षा माघ ४ गते सुरू हुने भनिएको थियो। विद्यार्थीहरू कलेज आए। कक्षा सुरू भएको सात दिन पुगेपछि किष्टले अगाडि नबुझाएको ९० हजार अतिरिक्त शुल्कसहित दोस्रो किस्ता ९ लाख ६२ हजार बुझाउन विद्यार्थीलाई दबाब दिन थाल्यो।
यो शुल्क बुझाउन दस दिनको बिदा नै दियो। बिदाको दुई दिनअघि प्रिन्सिपल बालमानसिंह कार्कीले विद्यार्थीलाई भनेका थिए- हामीसँग जोरी खोज्दा के हुन्छ त्यो त थाहा पायौ होला, हामी जे पनि गर्न सक्छौं।’
कतिले दस दिनभित्रै शुल्क बुझाए। कतिले बुझाउन सकेनन्।
‘नबुझाउनेलाई कलेजले कक्षामा बस्न दिइएन। ९० हजार र दोस्रो किस्ताको रकम नबुझाएसम्म नआउनु भन्यो। हामी पन्ध्र दिन कक्षामा बस्नै पाएनौं,’ ती विद्यार्थीले भने।
कक्षामै बस्न नदिएपछि अतिरिक्त शुल्कसहित दोस्रो किस्ताको रकम तिर्न बाध्य भएको ती विद्यार्थीले बताए। ‘एक महिना ढिलो बुझाएको भनेर कलेजले चार प्रतिशत ब्याजसमेत जोडेर पैसा लियो,’ ती विद्यार्थीले भने।
किष्टको ब्ल्याकमेलिङ
किष्टले एमबिबिएस र बिडिएस पहिलो वर्षका विद्यार्थीलाई पुसमै कसिसकेको थियो। उसले विभिन्न शीर्षकमा कानुनविपरीत शुल्क माग्दै एमबिबिएस/बिडिएस पहिलो वर्षको पढाइ रोकेको थियो।
कक्षा सुरू भएको पन्ध्र दिनमै कलेजले एमबिबिएसमा प्रतिविद्यार्थी एक लाख रुपैयाँ र बिडिएसमा ९७ हजार ९०४ अतिरिक्त शुल्क मागेको थियो।
पैसा नदिए कक्षा सञ्चालन नगर्ने भन्दै किष्टले विद्यार्थीलाई अतिरिक्त रकम तिर्न बाध्य बनाउन खोज्यो। ‘जाडो बिदा’का लागि कक्षा बन्द भन्दै पढाइ रोक्यो।
केही समयअघि विद्यार्थीलाई चिठी थमाउँदै किष्टले विभिन्न शीर्षकहरूमा शुल्क बुझाउन भन्यो। उसले त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आइओएम, बोर्ड परीक्षा शुल्क, स्वास्थ्य बीमा, नेपाल मेडिकल काउन्सिल शुल्कलगायत शीर्षकमा एक लाख रुपैयाँ माग्यो।
एमबिबिएस/बिडिएस कार्यक्रममा यी सबै शुल्क समेटेर तीन किस्तामा भुक्तानी गर्ने व्यवस्था छ। त्यसबाहेक मेडिकल कलेजले शुल्क मागे वा लिए कानुनविपरीत हो।
एमबिबिएसका लागि आइओएमले काठमाडौंमा ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। उक्त शुल्कमध्ये भर्ना भएको वर्ष पचास प्रतिशत, दोस्रो र तेस्रो वर्ष २५ प्रतिशत तिर्नुपर्ने नियम छ।
तथापि, किष्टले कक्षा नै बन्द गरेर अतिरिक्त रकम उठाउन खोज्यो। अन्तिममा घुँडा टेकाएरै छोड्यो। ‘अतिरिक्त रकम तिरे मात्र कक्षा सुरू गर्ने भनेर अडान राखिरहेपछि तिर्न बाध्य भयौं,’ एक अभिभावकले सेतोपाटीसँग भने। तर, एक लाख अतिरिक्त रकमको बिल भर्पाइ भने किष्टले दिएन।
यस्तो शुल्क नतिर्दा पहिलो वर्ष अध्ययन गर्ने धेरै विद्यार्थीले अन्तिम परीक्षा दिन नपाएको थाहा भएपछि बाध्य भएर पनि शुल्क तिर्नुपरेको ती अभिभावकले बताए।
परीक्षाबाट बञ्चित भएका ती विद्यार्थीका अनुसार कलेजले पुरक परीक्षाका बेला पनि अबैध शुल्क माग्न सक्छ। फेरि पनि ब्ल्याकमेलिङ गरेर सताउन सक्छ। त्यसैले उनीहरुले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्।
‘कारबाही हुन्छ भनेर हामी उजुरी गर्न सम्बन्धित निकायमा जान्छौं, हामीलाई ती निकायले सुरक्षित हुने प्रत्याभूति पनि दिँदैनन्,’ ती विद्यार्थीको दुःखेसो छ।
गैरकानुनी शुल्क लगायतको विवादबारे कुरा गर्न सेतोपाटीले किष्ट कलेजसँग सम्पर्क गर्यो। किष्टले जवाफ दिनुको सट्टा टार्यो।
‘म अहिले कक्षामा छु, बोल्न मिल्दैन, पछि कुरा गरौंला,’ किष्टका शैक्षिक संयोजक किशोरसिंह बस्नेतले भने। त्यसपछि उनी सम्पर्कमा आएनन्।
किष्टमाथि छानबिन गर्न मेडिकल काउन्सिलको निर्देशन
अतिरिक्त शुल्क नबुझाउँदा फेल गराई त्रिविको परीक्षामा सहभागी हुन नदिएको विषयमा मेडिकल काउन्सितलमा विद्यार्थीहरुले लिखित उजुरी गरेका छन्।
किष्टका केही पीडित विद्यार्थीले मेडिकल काउन्सिलमा बिहीबार लिखित उजुरी दिँदै कारबाही गर्न तथा विद्यार्थीको भविष्यमा खेलवाड नगर्न माग गरेका हुन्।
विद्यार्थीको उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले किष्टमा तुरुन्त छानबिन गरी सत्य तथ्य पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयलाई पत्र काटेको छ।
काउन्सिलले शुक्रबारै त्रिवि रजिष्ट्रारलाई पत्र लेख्दै छानबिन गर्न निर्देशन दिएको काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले बताए।
‘पहिले मौखिक उजुरी आएको थियो, मौखिक उजुरमा छानबिन गर्ने आधारहरू उल्लेख थिएन,’ बाँस्कोटाले सेतोपाटीसँग भने, ‘लिखित उजुरी आएलगत्तै त्रिविलाई छानबिन गरी कारबाही गर्न पत्र लेखेको छु।’
शिक्षा मन्त्रालयको छानबिन टोली किष्टमा
किष्ट मेडिकल कलेजले विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गराएर बोर्ड परीक्षामा बञ्चित गराएको विषयमा शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
सहसचिव डा. हरि लम्सालको नेतृत्वमा मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रसहितको छानबिन समिति गठन गरेको हो। शिक्षा सचिव खगराज बरालका अनुसार शुक्रबारदेखि टोलीले किष्टमा गएर छानबिन थालेको छ।
टोलीले किष्ट मेडिकल कलेज पुगेर शुक्रबार कागजात खोजेको थियो। कलेजले कागजात दिइसकेको छैन।
‘अबैध शुल्क, विद्यार्थी पास फेल र अन्तिम परीक्षामा सहभागी गराउन नदिइएका सबै कागजात माग गरिएको छ,’ बरालले भने, ‘सबै कागजात प्राप्त भएपछि के भएको हो निष्कर्षमा पुग्छौं।’
गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत फेला
यता, गण्डकी मेडिकल कलेजका एक विद्यार्थी पोखरास्थित फेवाताल किनारमा मृत भेटिएका छन्।
एमबिबिएस चौथो वर्षमा अध्ययनरत् म्याग्दी बेनी नगरपालिका–८ का २२ वर्षीय शिशिर केसी शनिबार फेवातालमा मृत भेटिएको कास्की प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका–१८ सेदीस्थित वाटरफ्रन्ट होटल नजिकै फेवातालको किनारमा केसीको शव फेला परेको गण्डकी प्रदेश प्रहरीका सूचना अधिकारी डिएसपी गोविन्द पुरीले बताए।
उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल, गण्डकी पठाइएको छ। प्रारम्भिक रुपमा आत्महत्याजस्तो देखिए पनि त्यसभित्रका कारण खोजीमा प्रहरी जुटेको उनले बताए। ‘कपडा, मोबाइल, हेल्मेट शंकास्पद अवस्थामा फेला परेको’ सूचना आएपछि केसीको खोजीमा प्रहरी जुटेको थियो।
गण्डकी मेडिकल कलेजमा लागेको ताला ४५ दिनमा शनिबार मात्र खुलेको थियो। विद्यार्थीबाट गैरकानुनी शुल्क उठाएको आरोपमा कलेजका सञ्चालक खुमा अर्यालसहित सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्माविरुद्ध ठगी मुद्दा परेको छ। खनाल र शर्मा पक्राउ परिसकेका छन्, अर्याल फरार छन्।