ट्याक्सी चालक युसुफ अली फागुन २५ गते सिराहा जानको लागि पटके परमिट लिन यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी पुगे।
सिरहाको पटके परमिटको उनिसगँ ६ सय ५० मागियो। उनले पनि सरक्क झिकेर दिए। तर बिलमा भने ५ सय मात्र लेखिएको थियो।
उनले यसको कारण सोध्दा टिकट र फारम आदि इत्यादि भनेर फर्काइयो।
उनलाई फेरि (३० गते) सिरहा जाने काम पर्यो। बुधबार उनले सेतोपाटीमा सम्पर्क गरेर त्यहाँको क्रियाकला शंकास्पद भएको बताए। हामी उनीसँगै यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी गयौं।
पटके लिन युसुफसगँ कोठा नम्बर १ मा खरिदार अन्जु घिमिरेको डेस्कमा पुग्यौं।
युसुफले सिरहाको पटकेको लागि आएको जानकारी गराए। खरिदार अन्जु घिमिरेले अर्का कर्मचारीलाई सिरहाको दूरी सोधिन् र उनले अन्दाजको भरमा ३ सय किलोमिटर भनिदिए।
खरिदार घिमिरे ६ सय ५० रूपैयाँ मागिन्। तर बिलमा भने ६ सय मात्र लेखिएको थियो।
६ सय मात्र लेखेको छ नि? भनेर सोध्दा उनले जवाफ दिइन्- निवेदन टिकट।
निवेदन र टिकटको कति कति हो र? सरकारी कार्यालयको बिल त प्रस्ट हुनु पर्ने होइन र भनेर सोध्दा अर्का कर्मचारीले कहाँ जाने मान्छे, तपाईंहरूलाई हतार हुनसक्छ। भनेर बहाना बनाए।
यति भन्नेबित्तिकै खरिदार घिमिरे ५० रूपैयाँ फिर्ता दिइन्।
युसुफले तीन दिनअगाडि बिलमा ५ सय र आज किन ६ सय भनेर सोध्दा उनले कुरा टारिन्।
हामी यही प्रश्न लिएर कार्यालय प्रमुख लेखनाथ पोखरेलकोमा गयौं।
किलोमिटर थाहा नभएर यस्तो गल्ती भएको हुन सक्ने उनले बताए।
‘उहाँहरूलाई किलोमिटर थाहा नभएर होला। पैसा फिर्ता दिनुहुन्छ,’ उनले भने।
बिलमा भन्दा धेरै रकम किन भनेर सोध्दा उनले पनि कुरा चपाए। उनले ६ सय लिइएको बिल केरेर ५ सय बनाई युसुफलाई १ सय रुपैयाँ फिर्ता दिए।
सल्लाघारी कार्यालयमा भइरहेको यो घुसबारे यातायात व्यवस्था विभागले भने अनभिज्ञता देखाएको छ।
मंसिर २८ पछि सबै अधिकार प्रदेशमा गएको हुनाले विभागले केही गर्न नमिल्ने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए।
‘प्रदेशमा अधिकार गएपछि अनुगमन केही घटेको हुनसक्छ। पहिले हामीले सल्लाघारी कार्यालयकै एकजना नायब सुब्बालाई अनुगमन गरेर कारबाही गरेका थियौं। अहिले हामीसँग अनुगमन र कारबाहीको अधिकार छैन’ उनले सेतोपाटीसँग भने।