'बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।'
तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीको जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् ।
नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका – ३३ संयन्त्रद्वारा अधिकारीको जन्मघरमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलिसभामा सहभागी अधिकांशका आँखा बरालका जस्तै रसाइरहेका थिए । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।
श्रद्धाञ्जलीसभामा प्रदेशसभा सदस्य कृष्ण थापाले आफूले बोकेको विचार जनतासमक्ष पुर्याउन सक्ने प्रभावशाली व्यक्तित्व अधिकारी रहेको स्मरण गरे ।
अधिकारीले सधैँ गुनगुनाउने गीतको पंक्ति सम्झँदै थापाले भने, 'आँधी बताससँग जुधेर फुलेको सुन्दर फूल जस्तो, सुख्खा असिनादेखि बचेर झुलेको धानको बालाजस्तो यो जिन्दगी हाम्रो खेर नजाओस् । उहाँ सधैँ गुनगुनाउनु हुन्थ्यो । अब उहाँको सपना हामीले पूरा गर्नुपर्छ । जीवनलाई खेर जान दिनुहुँदैन ।'
नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।
पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले उहाँ गाउँठाउँका सबैले गर्व गर्ने नेता रहेको बताउँछन् ।
अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले गाउँको माटो र यहाँका जनताले रवीन्द्रलाई एउटा सफल नेता बनाउन धेरै भूमिका खेलेको र पञ्चायतकालका धेरै कठिन अवस्थामा पनि गाउँलेको साथ र इमान्दारीले राजनीतिक आन्दोलन अगाडि बढेको स्मरण गर्दै माटाको सम्मानमा पनि श्रद्धाञ्जलिसभा उनकै जन्मघरमा गरिएको बताए ।
श्रद्धाञ्जलिसभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन,लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्षा बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको बताए।
(रासस)