सुर्खेतको पूर्वी उपत्यकामा रहेका बस्तीका घर–घरमा धारा पुर्याइने भएको छ। गुर्भाकोट नगरपालिकामा पर्ने उक्त उपत्यकाका लागि ‘सुभाघाट सहरी खानेपानी तथा सरसफाइ आयोजना’ निर्माण हुने भएको हो।
आयोजना निर्माणका लागि बुधबार चार पक्षीय सम्झौता भएको छ। एक कार्यक्रमका बीच आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, गुर्भाकोट नगरपालिका र सुभाघाट खानेपानी उभोक्ता समितिका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
करिब ७२ करोड रुपैयाँ लागतमा बन्ने खानेपानी तथा सरसफाइ आयोजनाबाट उपत्यकामा पर्ने गुर्भाकोट नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका ३ हजार २०० घरधुरीका लागि स्वच्छ खानेपानी उपलब्ध गराइने आयोजना निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष एवम् गुर्भाकोट नगरपालिकाका उपमेयर मैना विकले जानकारी दिइन्।
क्षेत्रीय खानेपानी आयोजनाका प्रमुख पूर्णप्रसाद उपाध्यायका अनुसार सम्झौतापछि अबको केही दिनमा नै आयोजना निर्माणका लागि ठेक्का आह्वान गरिँदै छ। हालको सर्वेक्षण अनुसार आयोजनाबाट १७ हजार १९७ जनसंख्या लाभान्वित हुने उनले बताए।
आयोजना अन्तर्गत उपत्यकामा रहेका घरहरूमा ३ हजार २ सय ५१ धारा जडान गरिने छ।
२० वर्षभित्र ६ हजार ४ सय धारा वितरण गर्न सकिनेगरी आयोजना निर्माण गर्न लागिएको छ।
उनका अनुसार १६ हजार ७३१ मिटर पानीको प्रसारण लाइन रहने छ भने वितरण लाइन १ लाख १३ हजार ३ सय ४० मिटर रहने छ।
चालू आर्थिक वर्षबाट नै निर्माण कार्य सुरू भई आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्नेगरी सम्झौता गरिएको उपाध्यायले जानकारी दिए ।
७१ करोड १३ लाख १८ हजार ६३२ रुपैयाँ लागतमा निर्माण हुने आयोजनाका लागि ५ प्रतिशत लगानी उपभोक्ताको रहने उपभोक्ता समितिका अध्यक्ष विकले जानकारी दिइन्। जसअनुसार ३ करोड ५५ लाख ६५ हजार ९३१ रुपैयाँ उपभोक्ताको लगानी रहने छ भने नगर विकास कोषबाट २५ प्रतिशत ऋण लिइने छ। त्यसमा १७ करोड ७८ लाख २९ हजार ६५८ रुपैयाँ ऋण कोषबाट लिइने छ।
यस्तै, आयोजना निर्माणका लागि लाग्ने लागतमध्ये ७० प्रतिशत नेपाल सरकारको अनुदान रहने छ। जसअनुसार अनुदानस्वरूप ४९ करोड ७९ लाख २३ हजार ४३ रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने उपाध्यायले जानकारी दिए।
सुभाघाट सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सात वटा ट्यांकी निर्माण गरिने छ। दुइटा प्रशोधन केन्द्र निर्माण गरिनेछ। सात वटा ट्यांकीको क्षमता १० करोड ९० लाख लिटर रहने छ।
आयोजना निर्माणको लागि लाग्ने सोही लागतभित्र संस्थाको भवन, भवन वरिपरिको पर्खाल पनि निर्माण गरिने जनाइएको छ।
आयोजनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि चाहिने जमिन सम्बन्धित स्थानीय सरकारले उपलब्ध गराउने छ ।
खानेपानी आयोजनाका लागि मुख्य स्रोतका रूपमा भने भेरी नदी रहेको आयोजनाबाट लाभान्वित क्षेत्र गुर्भाकोट वडा नम्बर ९ मा रहेको आयोना निर्माण उपसमितिका उपाध्यक्ष कमानसिं विकले जानकारी दिए। भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत् लिइने उनले बताए।