सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशमा हुने भएको छ।
विश्व रेडियो दिवसको अवसरमा देशमा प्रसारण भइरहेका सामुदायिक रेडियोहरूको छाता संगठनका रूपमा रहेको संघले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्न लागेको हो।
कर्णाली प्रदेशमा रहेका छाउपडी, जातीय भेदभावलगायतका कुप्रथाका विषयमा छलफल गर्ने उद्देश्यसहित यो प्रदेशमा सम्मेलन आयोजना गरिएको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बताए।
सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि एवम् यस क्षेत्रका चुनौतीहरूको बारेमा छलफल गरिने उनले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय बनेका सामुदायिक रेडियो विरोधी नीति, नियम र कानुनहरूको विरोधसहित आगामी रणनीतिहरू सम्मेलनमार्फत् तय गरिने छ।
गैरनाफामूलक उद्देश्यले सञ्चालनमा रहेका सामुदायिक रेडियोहरूले श्रमजीवी पत्रकार ऐनले गरेका व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्नका लागि आइपरेका समस्याबारे छलफल तथा ऐन, कानुनहरूको संशोधनको सरकारसँग माग पनि सम्मेलनमार्फत् गरिने अध्यक्ष खतिवडाले जानकारी दिए।
बढ्दो असमानता न्यूनीकरण, विपद् लगायतका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम समुदाय निर्माणमा सामुदायिक रेडियोहरूको भूमिकाका विषयमा पनि सम्मेलनमा छलफल गरिने छ।
राजनीतिक स्थायित्व र समृद्धितर्फको यात्रामा सामुदायिक रेडियोले संवाद, सूचनाको पहुँच र सुशासन अभिवृद्धिमा पुर्याउन सक्ने योगदानका बारेमा पनि सम्मेलनमा छलफल गरिने छ।
फागुन १ र २ गते हुने सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोहरूका अगुवा तथा अभियन्ता, सामाजिक रूपान्तरणका अभियान्ता, नागरिक संगठन एवम् राजनीतिक दलका नेताहरूको सहभागिता रहने जनाइएको छ।
सम्मेलनलाई सम्बोधन गर्न संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पनि सुर्खेत आउने अकोराबले जनाएको छ।