२०७२ सालमा अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतलगायतका विभिन्न जिल्लामा आन्दोलन चर्कियो। राजनीतिक दलबीच साविकको मध्यपश्चिम र सुदूरपश्चिमलाई गाँभेर एउटै प्रदेश बनाउने सहमति भएपछि मध्यपश्चिमवासी छुट्टै प्रदेश हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए। छुट्टै प्रदेशको माग गर्दै मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा चर्किएको आन्दोलनमध्ये सुर्खेतको आन्दोलनले कडा रूप लियो।
२०७२ साउन २५ गते भएको आन्दोलनका क्रममा सुर्खेतमा गोली समेत चल्यो। आन्दोलन उग्र बन्दै गएपछि सुरक्षा फौजले गोली चलायो। त्यसक्रममा ३ जनाको मृत्यु भयो भने दर्जनौं घाइते भए।
तिनै घाइतेमध्येका एक हुन्, दैलेखको नौमुलेका नरबहादुर पुरी।
त्यसबेला २४ वर्षका पुरी पनि आन्दोलनमा होमिए। वीरेन्द्रनगरमा बसेर स्नातक तह अध्ययन गरिरहेका उनी यस क्षेत्रको छुट्टै प्रदेश हुनुपर्ने मागसहित चलेको आन्दोलनमा सहभागी भए। साउन २५ गते दिउँसो आन्दोलनकारीलाई लक्षित गर्दै गोली चल्न सुरू भयो। उनको घाँटीको दायाँपट्टि गोली लाग्यो।
उनी सहभागी भएको आन्दोलनको उपलब्धिस्वरूप प्रदेश त बन्यो तर गोली लागेपछि काठमाडौं पुगेर उपचार गराएका पुरीले सरकारले दिने भनेको उपचार खर्च भने अझसम्म पनि पाएका छैनन्।
आफूले उपचारका क्रममा डेढ लाखभन्दा बढी अस्पतालमा खर्च गरेको भए पनि सरकारले ५२ हजार मात्र दिन खोजेकाले आफू उक्त रकम लिन समेत नगएको उनले बताए।
‘उपचारका लागि काठमाडौं गएँ, डेढ लाख भन्दा धेरै अस्पतालको बिल आयो।’ उनले भने, पछि ५२ हजार कि कति हो, त्यस्तै मात्र निस्किएको छ तपाईंको नाममा भनेपछि म लिनै गइनँ।’
सरकारले आफूहरूको उपचारको लागि गरेको निर्णय कार्यान्वयन पूर्णरूपमा हुनुपर्ने उनको माग छ।
‘सरकारले हाम्रा लागि उपचार गर्ने भनेर गरेको निर्णयअनुसार दिनुपर्ने रकम छिटो पाउनुपर्यो,’ पुरीले भने, ‘कि त दिनै मिल्दैन भन्नुपर्यो, दिन मिल्ने भए निर्णय अनुसार छिटो हामीलाई उपचारमा लागेको रकम दिनुपर्यो।’
२०७२ साउन २६ गते बसेको सुर्खेत जिल्लाको सुरक्षा समितिको बैठकले आन्दोलनका क्रममा सुरक्षा कारबाहीमा परी घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। त्यसकै आधारमा गृह मन्त्रालयले २०७२ साउन २९ गते निर्णय गरी घाइतेहरूको उपचार गरी सोको बिल मन्त्रालयमा पठाइदिन भनी काठमाडौं मेडिकल कलेजलाई पत्र पठाएको थियो।
आन्दोलनकै क्रममा सुर्खेत बस्दै आएका धादिङका रामबहादुर श्रेष्ठलाई पनि छातीमा गोली लाग्यो। सुर्खेतमा व्यवसाय गर्दै आएका श्रेष्ठ सुर्खेतस्थित व्यवसायीहरू सबै आन्दोलनमा सहभागी हुने सुर्खेत उद्योग वाणिज्य संघको अनुरोधमा सहभागी भए। त्यसक्रममा उनको देब्रे छातीमा लागेको थियो।
उपचारका लागि उनले २ लाख ५० भन्दा धेरै रकम खर्च गरिसकेका छन्। तर त्यो खर्च भने अझसम्म पनि सरकारबाट पाएका छैनन्।
सोही आन्दोलनमा सहभागी भएको वीरेन्द्रनगर–६ का अनिश पन्तले तीन लाख रुपैयाँ आफ्नो उपचारमा खर्च गरे। तर, सरकारले भने उनलाई ९० हजार रुपैयाँ मात्र उपलब्ध गराएको छ। पहिलोपटक खर्च भएको रकमबाहेक पछिल्लो खर्च आफूले नपाएको पन्तले बताए। आन्दोलनका क्रममा उनको बायाँ हातमा गोली लागेको थियो।
त्यसबेला आफ्नो हातमा भएको घाउ बल्झिएर अहिले पनि बारम्बार दु:ख दिइरहेको उनले बताए।
मुख्यमन्त्रीसमक्ष निवेदन
प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका घाइतेहरूले आफ्नो उपचारका क्रममा लागेको खर्च र यातायात खर्च उपलब्ध गराइदिन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका छन्। मंगलबार अनिश पन्त, रामबहादुर श्रेष्ठ र नरबहादुर पुरीले संयुक्त रूपमा निवेदन पेश गरेका हुन्।
आफूहरू घाइते भएपछि उपचारका लागि हवाइजहाज चार्टर गरेर काठमाडौं जानुपरेकोले त्यसवापत लागेको भाडा र उपचारमा लागेको खर्च पूरै उपलब्ध गराइदिन भन्दै निवेदन दिएका हुन्। उनीहरूले आफ्नो थप उपचारको व्यवस्थासहित जीविकोपार्जनका लागि योग्यता अनुसारको रोजगारी समेत व्यवस्था गरिदिन प्रदेश सरकारसमक्ष माग गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्दोलनका क्रममा भएका घाइते तथा अपांगहरूको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। प्रदेश प्राप्तिको मुख्य देन आन्दोलनका क्रममा भएका शहीद र घाइतेहरू भएकोले उनीहरूको उपचारसँगै अन्य व्यवस्था गर्न आफू प्रतिवद्ध रहेको बताए।
उनले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य चोकमा शहीद स्मारक निर्माण गर्ने पनि बताएका छन्।
‘शहीदहरूको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएको सबैलाई अवगत छ। ति शहीदहरूको सम्मान गर्नु प्रदेश सरकारको दायित्व हो,’ मुख्यमन्त्री शाहीले भने।