२०७४ सालमा दुई चरण गरी स्थानीय तहको निर्वाचन सम्पन्न भयो। पहिलो चरणअन्तर्गत वैशाखमा निर्वाचन भएको स्थानीय तह सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको परिणाम जेठको पहिलो साता आयो।
निर्वाचित जनप्रतिनिधिहरू खुसियाली मनाउँदै थिए। निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै बुद्धपथ भित्रपट्टिको खाल्डा परेको बाटो पुनः पिच गर्ने कार्य सुरू भयो। त्यो काम स्थानीय सरकारको पहलमा भएको होइन, तै पनि धेरैले स्थानीय सरकार गठनपछिको उपलब्धिसँग दाँजे।
काम भैरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै स्थानीय सुशील खड्काले लेखे, ‘स्थानीय सरकार आएपछि के हुन्छ भन्दा यसरी काम धमाधम हुन्छ।’
उक्त पोष्टमार्फत् उनले आफू जस्तै अन्य व्यक्तिले गरेको स्थानीय सरकारप्रतिको आशालाई प्रष्ट पारेका थिए।
स्थानीय सरकार बनेपछि वीरेन्द्रनगरमा बजारमा रहने जनताका थुप्रै आशाहरूमध्ये सडकका खाल्डाखुल्डी पुरिने पनि थियो। स्थानीय सरकार आएको दुई वर्ष पुग्न लागेको छ। तर वीरेन्द्रनगर उपत्यकाभित्रका सडकमा पिच उत्रिएर बनेका खाल्डाहरू भने उस्तै छन्।
वीरेन्द्रनगरस्थित गणेशमार्गमा बस्ने यमुना आचार्यको पनि नजिक सरकार बनेपछि सडक सुधार हुने आशा थियो। उनले आफ्नो नगरमा स्थानीय सरकार बनेको र प्रदेशमा प्रदेश सरकार बनेको नजिकैबाट नियाल्ने मौका पाइन्। तर, उनकै घरछेउमा रहेका सडकका खाल्डा भने सुध्रिएको हेर्न पाएकी छैनन्।
‘स्थानीय सरकार पनि बन्यो, प्रदेश सरकार पनि बन्यो,’ आचार्यले भनिन्, ‘तर हाम्रा छेउका सडक भने दिनका दिन भत्किरहेका छन्। कहिले बन्छन् थाहा छैन।’
यिनै वीरेन्द्रनगरका सडकमा नगरका जनप्रतिनिधिहरूसँगै प्रदेश सरकारका प्रतिनिधिहरू नियमित यात्रा गर्छन्। सडकका खाल्डोले भने असहज महशुस नगरेको जस्तै भएको छ।
कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यकाभित्र करिब ८२ किलोमिटर सडक छ। वीरेन्द्रनगर नगरपालिकामा रहेकोे तथ्याङ्क अनुसार त्योमध्ये ४२ किलोमटर सडक पहिलेदेखि पक्की छ।
यस्तै, २६ किलोमिटर ग्राभेल र १४ किलोमिटर कच्ची सडक उपत्यकाभित्र छ । तर, कालोपत्रे भएका भनिएका बजारभित्रका सडक नै जीर्ण छन्।
बजारका मुख्य सडकहरूसँगै छेउछाउमा पर्ने विभिन्न सडकका खाल्डोमा बर्खामा पानी भरिएर सताउने गरेको छ भने हिउँदको समयमा धूलो उडेर सास्ती दिने गरेका छन्। खाल्डोहरूका कारण सवारी चालकसँगै पैदलयात्रीहरूलाई समेत सास्ती हुने गरेको छ।
‘यही वर्षभित्र बाटा सुध्रिन्छन्’
वीरेन्द्रनगर उपत्यकाभित्रका बाटा यही वर्षभित्र सुधार हुने नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए। सडकलाई पिच गर्ने कार्य सुरू भैसकेको र यो वर्षभित्र बजार र आसपासका बाटा सुधार भैसक्ने उनले बताए।
‘बाटोका खाल्डो पुर्ने मात्र नभई पिच नै गर्ने कार्य सुरू भएको छ,’ उनले भने, ‘अहिले जीर्ण बनेका विभिन्न सडक पिच गर्ने काम अगाडि बढिसकेको छ। यो काम जेठ मसान्तभित्र नै सक्नेगरी लागेका छौं।’
विमानस्थलदेखि गणेशचोकसम्मको बाटो पिच गर्ने काम सुरू भइसकेको उनले जानकारी दिए।
मेयर सुवेदीका अनुसार उक्त बाटोअन्तर्गत विमानस्थलबाट जिल्ला प्रहरी कर्यालय हुँदै गणेशचोकसम्म १६ करोडको लागतमा पिच हुँदै छ।
यस्तै, मंगलगढीदेखि काँक्रेबिहारसम्मको सडक पनि पिच गर्नका लागि ठेक्का भैसकेको र यो वर्षभित्र पूरा गरिने उनले बताए। उनका अनुसार बीच बजारदेखि घण्टाघरसम्मको सडक ठेक्का प्रक्रियामा गएको छ।
बजारभित्रका अन्य सडकहरू सुधार गर्नका लागि पनि नगरपालिकाले प्रक्रिया सुरू गर्ने मेयर सुवेदीले बताए।
‘अहिले केही बाटाको काम सुरू भैसकेको छ, केही ठेक्का प्रक्रियामा छन्,’ उनले भने, ‘बजारका केही खण्डहरूको काम पनि सहरी विकास मन्त्रालयसँग कोशिसमा छ, नयाँ पिचको काममा नै हामी अगाडि बढेका छौं।’