कालीकाटको खाडान्यौपानेमा भएको आगलागी प्रकरणमा वडा सचिव पक्राउ परेका छन्।
आगलागी हुनुअघि भएको रक्सी पार्टीमा संलग्न भएको आशंकामा पलाँता गाउँपालिका–१ का वडा सचिव विष्णुकान्त प्याकुरेललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार आगलागी हुनुअघि मान्छे नबस्ने स्थानीय नवीन न्यौपानेको घरमा मदिरा पार्टी गरिएको थियो। पुस ८ गते स्थानीय खानेपानी आयोजनाको ट्यांकी शिलान्यास गरिएको र सोही रात खसीको मासु लिएर नवीनको घरमा मदिरा पार्टी गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कालीकाटेले जनाएको छ ।
पक्राउ परेका वडा सचिव प्याकुरेल, पलाँता गाउँपालिका–१ का वडाअध्यक्ष मानबहादुर भण्डारीसहित ५ जनाबारे अहिले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। उनका अनुसार वडा सचिव प्याकुरेललाई जिप्रकामा नै राखिएको छ।
उक्त गाउँमा भाडामा बस्दै आएका प्याकुरेलले आगलागीका कारण सबभन्दा आफ्नो क्षति भएको विवरण पेश गरेका छन्। ४ लाख नगदसहित ९ लाख ४१ हजारभन्दा बढी क्षति भएको उनले दाबी गरेका छन्।
उनले पेश गरेका विवरणअनुसार कार्यालयको ल्यापटप, क्यामरा र सम्पूर्ण कागजात जलेको दाबी गरिएको छ। प्याकुरेलले पेश गरेको क्षतिको मुचुल्कामा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमसहितले हस्ताक्षर गरेका छन् ।
तर, आगलागी हुनुभन्दा अगाडि नै उनले भाँडाकुडासहित आफ्नो सामान बाहिर निकालिसकेको पाइएको डिएसपी शर्माले बताए।
प्रहरीका अनुसार उक्त मदिरा पार्टीमा वडाका एक कर्मचारी र दुई जना शिक्षक पनि सहभागी थिए। आगलागी सुरू भएको घरमा १५ क्वाटर (मदिराका बोतल) फेला परेको जनाइएको छ। पलाँता गाउँपालिका मदिरा निषेधित घोषणा गरिएको छ।
सचिव प्याकुरेलले यसअघि आफूले गरेका अनियमितताका कागज पनि आगलागीमा जलेको बहानामा गायब पारेको अनुमान प्रहरीको छ।
८७ घर जलेको झूटो विवरण
खाडान्यौपाने गाउँमा भएको आगलागीमा ३२ घर मात्र पूर्ण रूपमा जलेको पाइएको छ।
आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घर मात्र पूर्ण रूपमा नष्ट भएको तथ्यांक सार्वजनिक गरेको हो।
पुस ८ गते राति भएको आगलागीमा ८७ घर जलेर नष्ट भएको खबर सार्वजनिक भएको थियो।
आगलागीका बेला आफू विदामा रहेको र ड्युटीमा खटिएका प्रहरी र गाउँलेहरूको मिलेमतोमा गलत रिपोर्ट भएको कालिकोटका प्रहरी प्रमुख विनोद शर्माले बताए।
‘त्यसबेला म बिदामा थिएँ, सम्पूर्ण विवरण एकिन रूपमा आउन सकेन। तर, सूचना दिने प्रहरी र गाउँपालिकाका जनप्रतिनिधिबाट नै गलत विवरण जानुलाई सामान्य गल्तीका रूपमा लिन सकिँदैन,’ डिएसपी शर्माले भने ।
थोरै घर जले पनि सञ्चारमाध्यममा संख्या धेरै आएपछि आफैंले अनुसन्धान गरेको उनले बताए। अनुसन्धानपछि ३२ घर मात्र जलेको पुष्टि भएको र धेरै जनाको मिलेमतोमा दोब्बरभन्दा बढी देखाइएको शर्माले बताए।
उनका अनुसार गाउँमा अन्य आश्रित परिवारसमेत जोडेर जम्मा ४२ परिवार प्रभावित भएको देखिन्छ। गलत सूचना दिएर राहत पचाउने खेलमा लागेका सबैको विवरण केही दिनभित्रै सार्वजनिक गर्ने कालिकोट प्रहरीले बताएको छ ।
प्रहरीले ३२ घर मात्र पूर्ण जलेको पुष्टि गरेका बेला गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने ४२ वटै पूर्ण क्षति भएको दाबी गरेका छन् ।
निलम्बनको प्रक्रियामा हवल्दार
विवरण गलत टिपाएको भन्दै इलाका प्रहरी कार्यालय थिर्पुमा कार्यरत प्रहरी हवल्दार योगेन्द्रबहादुर खड्कालाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले बताए।
आगलागी नियन्त्रणपछि विवरण संकलन गर्न हवल्दार खड्काकै नेतृत्वमा त्यहाँ प्रहरी पुगेको र स्थानीयको दबाबमा खड्काले झूठो विवरण पेश गरेको पाइएको उनले बताए।
‘उनको नेतृत्वमा प्रहरी पुगे पनि उनले सही विवरण बुझाएनन्,’ डिएसपी शर्माले भने, ३२ घर जलेकोमा ८७ टिपाएर त्यो हवल्दारले गल्ती गरेको पाइयो। अनुसन्धान हुँदैछ, निलम्बनको प्रक्रिया चलिरहेको छ।’