सुर्खेतको सिम्ता गाउँपालिकामा स्कुल गएका तीन जना बालिका वेपत्ता भएका छन्। सिम्ता गाउँपालिका वडा नम्बर ५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ती बालिका ४ दिनदेखि वेपत्ता छन्।
यही पुस १० गतेदेखि सम्पर्कबिहिन रहेको ती बालिकाका परिवारले जनाएका छन्। वेपत्ता हुनेहरूमा १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री, उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री छन्।
निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो हाफ टाईमको समयमा कापी बिर्सिएको भनेर घरमा आएकी थिईन्। त्यसलगत्तै फेरि विद्यालय गएकी उनी घर फर्किएकी छैनन्। निशासँगै यमुना रिसिमा पनि हाफ टाईममा घर आएका थिए । तीनैजना लगत्तै विद्यालय जान भनेर फर्किएका भगवतीले बताईन् ।
यमुना खत्रीको फुपुको घर बुटवल भएको र त्यहाँ जाने भन्दै उनीहरू सल्लीबजारसम्म पुगेको गाडी चालकहरुबाट आफूले सुनेको यमुनाकी आमा दिपा खत्रीले बताएकी छन्। गाडी चालकले मेहलुकनामा रात परेपछि आफ्नै घरमा राखेको र बिहान थाह नै नदिई बालिकाहरू हिँडेको बताएको दिपाले बताएकी छन्।
ईलाका प्रहरी कार्यालय छिन्चुले ती बालिकाहरूको खोजी भइरहेको बताएको छ। सबै ठाउँमा हुलिया कटाईसकिएको प्रहरीले बताएको छ। हाल एक जना चालकलाई प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको जनाइएको छ।
हराएका बालिकाहरुका बाबु रोजगारीका लागि भारतमा छन्।