नेवार समुदायले मनाउने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा आज मुलुकभर उल्लासका साथ मनाईयो।
हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन् ।
यस्तै आजकै दिनलाई काठमाडौंका नेवार समुदायले ज्यापू दिवसको रूपमासमेत मनाउने गरेका छन्।
काठमाडौंको बसन्तपुरमा शनिबार नेवार समुदायले योमरी पुन्हिः तथा ज्यापु दिवसको र्याली निकालेर मनाए। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ज्यापू संस्कृतिको संरक्षणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री ओलीले सम्मान पनि गरेका थिए। ज्यापू संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ ।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ।
विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन्।
हेर्नुहोस् तस्बिरमा