पाँचथर प्रहरीले फाल्गुनन्द गाँउपालिका–२ इम्बुङका देवेन्द्र शिवाले कीर्ते गरी नागरिता बनाएको घटनामा तत्कालीन सहायक ५ सरकारी कर्मचारीसहित ८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको छ।
३ वटा नागरिकता बनाएको घटनाको अनुसन्धानका क्रममा ५ सरकारी कर्मचारीसहित ८ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो।
अन्तिमपल्ट २०७२ सालमा जात तथा थर नै फरक पर्ने गरी गौरव नेम्बाङको नाममा कीर्ते गरी नागरिकता बनाएकोमा तत्कालीन साहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, कार्यालयका फाँटवाला प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालीन गाविस सचिव सुरेस सुवेदी र रमेश ताम्ली गरी ५ जना सरकारी कर्मचारीसहित कीर्ते नागरिकताको सनाखतमा नागरिकता प्रयोग भएका दुर्गाभक्त नेम्वाङ, दुर्गभक्तको नाममा सनाखत गर्ने राजेन्द्र नेम्बाङ र नागरिकता बनाउने देवेन्द्रविरूद्ध मुद्दा अघि बढेको हो । यी मध्ये देवेन्द्र र दुर्गाभक्त पक्राउ परिसकेका छन्।
कात्तिक १६ गते स्थानीय एक महिलालाई बलात्कारको प्रयास गरेको अरोपमा देवेन्द्र पक्राउ गरेका थिए। उनी जिल्ला कारगार पाँचथरमा पुर्पक्षमा थुनामा छन्।
गौरव नेम्वाङको नाममा प्रहरीले शंका गरेपछि घरमा छापा मार्दा उनको नामका कीर्ते गरी बनाइएका ३ वटा नागरिकता फेला परेपछि थप अनुसन्धान अघि बढेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।
उनले सोही नाममा राहदानी र मार्कसिट बनाएको खुलेपछि अनुसन्धान थप अघि बढेको थियो।
तीनैवटा नागरिकता फरक फरक मितिमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट लिइएको देखिन्छ। देवेन्द्र शिवा, अंकित शिवा र गौरब लिम्बुको नाममा २०६३, २०७० र २०७२ सालमा नागरिकता लिएको खुल्न आएको छ ।
नागरिकता ऐन अन्तगर्त हदैसम्मको सजायको माग गरी ८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ।
अभियुक्त देवेन्द्र सिवाले २०६३ सालमा अंकित शिवाको नाममा नागरिकता बनाएको पाइएको छ। यो नागरिकता रद्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।
तत्कालीन गाविस सचिवले असोज–२९ गते सिफारिस गरे पनि कात्तिक २९ गते सनाखत भएको खुल्न आएको थियो। तर नागरिकता भने फागुन–१८ गते मात्र जारी भएको देखिन्छ । निक्कै सावधानीपूर्वक काम गरेजस्तो देखिएको डिएसपी कुँवर बताउँछन्।
विभिन्न कोणवाट अनुसन्धान गरिएको उनले जानकारी दिए ।