आज २७ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ।
यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ मूल नारासहित सो दिवस मनाइएको छन्।
कमलादीदेखि सुरू भएको प्रभातफेरी कार्यक्रम लैनचोरमा पुगेर भेला भई समापन भएको थियो।
सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन्।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।
अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। प्रधनमन्त्रीको सन्देशमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्तिहरूको राज्य प्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ। उनीहरूले पनि अरु सरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध छ ।’
अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानूनी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पुर्याएको सन्देशमा जनाइएको छ।