क्रिश्चियन धर्म परिवर्तन
सुर्खेतको वीरेन्द्रनगरमा पर्ने झुप्रा खोला किनारको विपन्न बस्तीका टेकबहादुर रोकाका तीन जना छोरी काठमाडौंमा पढ्छन्।
उनको परिवार क्रिश्चियन होइन, तर उनका छोरीहरू काठमाडौंमा क्रिश्चियनले स्थापना गरेको ‘ज्योतिको घर’ भन्ने संस्थामा पढिरहेका छन्। विपन्न समुदायका बालिकालाई अध्ययन गराउने भन्दै उक्त संस्थाले रोकाका छोरीहरूलाई काठमाडौं लगेको हो।
रोकाका अनुसार उक्त संस्थामा पढ्ने करिब ८० बालिका यही बस्तीका छन्।
छोरीहरूलाई क्रिश्चियन स्कुलमा पढाउने मात्र होइन, यहाँका अधिकांश परिवारले क्रिश्चियन धर्म अंगालेका पनि छन्। रोकाजस्ता केही मात्र छन्, जो अझै हिन्दु धर्म मान्छन्। निःशुल्क संस्थामा पढ्दै आएका तिनका छोरी भने भोलि क्रिश्चियन बन्ने सम्भावना धेरै छ।
रोका आफैं त्यही भन्छन्।
‘हुन त मान्छेले इच्छाअनुसार धर्म मान्ने हो, तर संस्थामा पढेपछि छोरीहरू क्रिश्चियनै बन्छन् जस्तो लाग्छ,’ उनले भने।
विपन्न बस्तीका बालिकालाई काठमाडौं लैजाँदा धर्म परिवर्तनसम्बन्धी सर्त राखिएको हुन्न। पढाइलेखाइमा सहयोग गर्ने आश्वासन मात्र दिइन्छ। सहयोगको भित्री उद्देश्य भने धर्म प्रचार नै हो भन्ने रोकाले बुझेका छन्।
बस्तीमा रहेको चर्चका पादरी हरि वादीका अनुसार यहाँका ८८ घरधुरीमध्ये ६३ परिवार क्रिश्चियन छन्। क्रिश्चियनद्वारा सञ्चालित संस्थाहरू यहाँ सक्रिय छन्। विपन्न र दलित बालबालिकालाई पढाउनेदेखि अरू किसिमका सहयोग गरेर बस्तीमा राम्रो प्रभाव बनाएका छन्।
बस्तीमा कक्षा १ देखि ५ सम्म पढाइ हुने जनजीवन प्राथमिक विद्यालय छ। यो सामुदायिक विद्यालयमा जम्मा ३५ जना विद्यार्थी छन्। जबकि, यहाँ प्राथमिक विद्यालय पढ्ने उमेरका बालबालिका करिब डेढ सय छन्।
धेरै केटाकेटी आफ्ना आमाबाबुसँगै पैसा कमाउन भारत जाने हुँदा विद्यार्थी संख्या कम भएको जनजीवनका प्रधानाध्यापक उषा नेपाली बताउँछिन्।
‘सानै उमेरमा कमाउन जाने चलन छ। केही बालिका अरूको सहयोगमा काठमाडौं पढ्न गएका छन्,’ उनले भनिन्, ‘त्यही भएर बस्तीकै स्कुलमा विद्यार्थी कम छन्।’
क्रिश्चियन धर्म प्रचार गर्ने संस्थाहरूको प्रभाव यहाँका बालगृहसम्म फैलिएको छ।
जिल्ला बालकल्याण समिति, सुर्खेतका अनुसार कर्णाली प्रदेशमा १० वटा बालगृह छन्। तीमध्ये केही बालगृहका सञ्चालक क्रिश्चियन छन्। त्यहाँका नानीबाबुलाई क्रिश्चियन धर्मसँग सम्बन्धित गतिविधिमा सरिक गराइन्छ।
जुम्लाको हाइल्यान्ड बालगृह, हुम्ला र जुम्लामा रहेको माया सदन र हुम्लाको रेडी होमका सञ्चालक क्रिश्चियन हुन्। ती बालगृहमा केटाकेटीलाई नियमित यशुको प्रार्थना गराइन्छ।
सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार माया सदनमा पूर्ण रूपले क्रिश्चियन परम्परा अपनाइएको छ। अरूमा पनि यशुको प्रार्थना, खाना तथा खाजाअघि यशुलाई सम्झन लगाउनेजस्ता क्रियाकलाप भइरहेको उनले बताए।
‘अनाथ बालबालिकालाई आवासीय सुविधासहितको व्यवस्था गर्नु परोपकारी काम हो, तर परोपकारको आडमा धर्म परिवर्तन गराउने सुविधा दिन मिल्दैन,’ सामाजिक विकास मन्त्रालयका ती कर्मचारीले भने, ‘अनुगमनपछि केही नियमन भने भएको छ।’
सुर्खेतको कुल जनसंख्याको ३.४३ प्रतिशत क्रिश्चियन धर्म मान्छन्। जिल्लाको ३ लाख ५० हजार ८ सय ४ जनसंख्यामध्ये १२ हजार २२ जना क्रिश्चियन रहेको तथ्यांक कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका अनुसार सबैभन्दा धेरै जनसंख्या रहेको वीरेन्द्रनगर नगरपालिकामा ५.४ प्रतिशत क्रिश्चियन धर्म मान्छन्। नगरपालिकाको कुल १ लाख ४ सय ५८ जनसंख्यामध्ये ५ हजार ४ सय १३ जना क्रिश्चियन धर्मावालम्बी छन्।
यी पनि हेर्नुहोस्: