सुर्खेत चेम्बर अफ कमर्सले वीरेन्द्रनगरमा आयोजना गर्ने भनिएको महोत्सव एक महिनासम्मका लागि स्थगित भएको छ।
नगरपालिकाले मेला तथा महोत्सवसम्बन्धी कार्यविधि नबनाएसम्म वीरेन्द्रनगरमा महोत्सव सञ्चालन गर्न नहुने भन्दै आन्दोलनरत व्यवसायी, महोत्सवका आयोजक र नगरपालिकाबीच भएको छलफलका क्रममा महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो।
चेम्बर अफ कमर्सले मंसिर १९ गतेदेखि वीरेन्द्रनगस्थित खुला मञ्चमा ‘कर्णाली महोत्सव–२०७५’ सञ्चालन गर्ने घोषणा गरेको थियो। महोत्सवको विरोधमा व्यवसायी उत्रिएपछि सोमबार भएको सरोकारवालाहरूबीचको छलफलपछि अब एक महिनापछि महोत्सव सञ्चालन हुने भएको छ।
यस्तै, वीरेन्द्रनगर क्षेत्रभित्र सञ्चालन हुने मेला तथा महोत्सवहरू सम्बन्धित स्थानीय तहले कानुन बमोजिम कार्यविधि बनाउन नगरपालिकालाई अनुरोध गर्ने, नगरपालिकाको कार्यविधि अनुसार नै मेला तथा महोत्सवहरू सञ्चालन गर्ने, कर्णाली महोत्सवका लागि लगाइएको छेकबार नगर विकास समिति र नगरपालिका कार्यालयको समन्वयमा तत्काल हटाउने र महोत्सवका विषयलाई लिएर व्यवसायीहरूले बन्द गरेको वीरेन्द्रनगर बजार खुलाउने निर्णय पनि छलफलबाट गरिएको छ ।
यसअघि सुर्खेत उद्योग वाणीज्य संघअन्तर्गतका १७ वटा वस्तुगत समितिले कार्यविधि नबनेसम्म मेला आयोजना गर्न नहुने भन्दै आइतबार छेकबार भत्काउन पुगेका थिए। त्यसक्रममा व्यवसायी र प्रहरीबीच झडप हुँदा १४ जना घाइते समेत भएका थिए ।