शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर आइतबार डेरा खोज्न सहर निस्किए।
तीन वर्षअघि शिवपुरी आएका कुँवरलाई तिहारसम्म जसरी पनि डेराको टुंगो लगाउनु छ। अब उनको परिवार निकुञ्जभित्रको क्वार्टरमा बस्न पाउने छैन। शिवपुरीबाट उनको सरूवा बबरमहलस्थित राष्ट्रिय निकुञ्ज विभागमा भएको छ। जहाँ क्वार्टर सुविधा छैन।
सरकारी कर्मचारीको सरूवा स्वाभाविक प्रक्रिया हो। कुँवरका सन्दर्भमा भने यो अस्वाभाविक पनि हो। किनभने, केही दिनअघि मात्रै उनले ओशो तपोवनले धार्मिक वनका नाममा लिएको २२ रोपनी ६ आना जग्गा निकुञ्जलाई फिर्ता गराउने निर्णय गरेका छन्।
ओशो तपोवन आफैंमा धार्मिक संस्था होइन। २०४७ चैत ५ गते यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक गैरसरकारी संस्थाका रूपमा दर्ता भएको थियो।
संस्थाको विधानमा कहीँ पनि धार्मिक निकाय, समुदाय वा समूह भनी उल्लेख छैन। तै ओशो तपोवनले २०६२ देखि निकुञ्जको २२ रोपनी ६ आनामा फैलिएको वन धार्मिक संस्थाका रूपमा पाएको थियो।
वन नियमावली २०५१ ले कानुनबमोजिम दर्ता भएका धार्मिक निकाय, समूह वा समुदायले परम्परागत वा सनातनदेखि चलिआएको धार्मिक कार्यका लागि प्रयोग गरिएको वन सुनियोजित व्यवस्थापन गर्न चाहे सुम्पन सकिने व्यवस्था गरेको छ।
नियमावलीअनुसार धार्मिक वनको सम्झौता १० वर्षको हुन्छ। यसअनुसार तपोवनले वन उपयोग गर्ने समय २०७२ पुसमै सकियो। सम्झौता सकिए पनि उसले नवीकरणका लागि निकुञ्ज प्रशासनमा निवेदन दिएन। बरू वनभित्र स्वीकृति नै नलिई बाटो, पुल, ड्यामलगायत भौतिक संरचना बनाउन थाल्यो।
त्यस्ता संरचना बनाउँदा जथाभाबी निर्माण सामग्री फालेको स्थानीयवासीले गुनासो गरे। निकुञ्ज प्रशासनले ठेकेदारलाई पक्रियो।
'ठेकेदार छाडिदेऊ भनेर विभिन्न ठाउँबाट दबाब आयो। मैले मुद्दा अदालत गइसक्यो, अब अदालतबाट जे फैसला आउँछ त्यहीअनुसार हुन्छ भनिदिएँ,' कुँवरले आइतबार सेतोपाटीसँग भने, 'प्रक्रियामा गइसकेपछि त कानुनअनुसार हुनुपर्यो नि।'
गोलढुङ्गा जीतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सदस्यले तपोवनले धार्मिक वनमा कानुनविपरित काम गरेकाले कारबाही माग्दै निकुञ्जमा निवेदन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा पनि उजुरी परेको थियो। हेलो सरकारले यसबारे स्थलगत अनुसन्धान गर्न निर्देशन दियो।
'फिल्ड निरीक्षण क्रममा ओशो तपोवन धार्मिक वन समितिले वन क्षेत्रमा बिनाअनुमति बाटो, पुल, ड्याम, भवन लगायत संरचना निर्माण गरेको देखियो,' कुँवरले भने, 'किन यस्तो गरेको भनेर हामीले उहाँहरूसँग स्पष्टीकरण माग्यौं।'
निकुञ्जले ०७४ चैत १९ मा सोधेको स्पष्टीकरणको जवाफ तपोवनले २०७५ वैशाख ३ गते दियो।
अनुसन्धान क्रममा विभिन्न निकाय र शक्तिकेन्द्रबाट आफूलाई दबाब आएको कुँवरले बताए।
'अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट पनि फोन गर्नुभयो, मैले अनुसन्धान गर्न नपाउने कहाँ भनेको छ भन्दिएँ,' कुँवरले भने, 'अरूले पनि फोन गर्नुभएको थियो। मैले कुरा सुनेँ, तर कानुनले दिएको अधिकार त प्रयोग गर्न पाउनुपर्यो भनेँ।'
तपोवनको जवाफ निकुञ्जलाई चित्त बुझेन। सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले वन निकुञ्जमा फिर्ता ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन दिए। त्यही प्रतिवेदनका आधारमा कात्तिक ८ गते कुँवरले उक्त वन निकुञ्जमा फिर्ता ल्याउने निर्णय गरे।
यो निर्णय भएको भोलिपल्टै कात्तिक ९ गते कुँवरको विभाग सरूवा भयो।
'समय पुगेको थियो, त्यही भएर पनि सरूवा भयो होला। त्यो ठूलो कुरा होइन। यहाँ बसेर मैले कुनै ठूलै काम गरेको होइन,' कुँवरले भने, 'शक्तिकेन्द्रसँगको पहुँच र सम्बन्धका आधारमा गैरकानुनी तरिकाले वन मासिनु भएन भन्ने हो।'
उनले सबै भौतिक संरचना भत्काई पहिलेकै अवस्थामा ल्याउन तपोवनलाई निर्देशन दिएका छन्। भत्काउन अटेरी गरे कारबाहीको चेतावनी पनि दिएका छन्।
यसपालि त समय पुगेको भएरै सरूवा गरियो होला, तर वन मास्ने समूहविरूद्ध निर्णय गर्दा कुँवर स्थानान्तरणमा परेको यो पहिलोपटक होइन।
तीन वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट उनलाई अस्वाभाविक ढंगले सरूवा गरी शिवपुरी ल्याइएको थियो।
चितवन राष्ट्रिय निकुञ्जनजिकै स्वामी कमलनयनाचार्यको आश्रम थियो। आश्रम बनाउन उनले कानुनी प्रक्रिया पूरा गरेका थिएनन्। उनका सहयोगी भने आश्रम वरपर निकुञ्जको जग्गा मिचेर अन्य भौतिक संरचना बनाउन उद्दत थिए।
नारायणी नदीको त्रिवेणीधामस्थित गजग्राह क्षेत्रमा वन फडानी गरेको भन्दै कमलनयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई निकुञ्जले २९ असार २०७२ मा पक्राउ गर्यो। त्यतिबेला कुँवर निकुञ्जका प्रमुख संरक्षण अधिकृत थिए।
'अनुसन्धानपछि हामीले उनलाई वन मुद्दा चलाउन खोजेका थियौं, तर जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्न मानेन,' कुँवरले भने, 'यसमा महान्यायाधिवक्ता कार्यालयको दबाब थियो। दलहरू पनि घटना मिलाउनतिर लागे।'
चितवनकी सांसद गीता वाग्लेको जमानीमा कृष्ण प्रपन्नाचार्य तारेखमा रिहा भए। कृष्ण प्रपन्नाचार्यलाई पक्राउ गरी अनुसन्धान गरेका कुँवरको भने सरूवा गरियो।
'त्यतिबेला मलाई सरूवा गर्नुको मुख्य कारण नै उनलाई पक्रनु थियो,' कुँवरले भने, 'धार्मिक मान्छे भनेपछि एकातिर नागरिकमा पनि अर्कै भावना हुने, अर्कातिर नेताहरू पनि उनीहरूलाई रिझाउनतिर लाग्दा रहेछन्।'
स्वामी कमलनयनाचार्यदेखि स्वामी आनन्द अरूणको तपोवनले वनमाथि अतिक्रमण गर्नु दु:खद भएको कुँवरले बताए।
'उहाँहरूजस्तो अरूलाई आदर्श सिकाउनेहरूले त झन् वनको महत्वबारे पनि सिकाउनुपर्ने हो,' उनले भने।
उत्तरी काठमाडौंमा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १ सय ५९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको मध्यवर्ती क्षेत्रले १ सय १८ वर्ग किलोमिटर जमिन ओगटेको छ।
यो निकुञ्जले तीन किसिमले काठमाडौं उपत्यकालाई पानी दिन्छ। यही क्षेत्रबाट काठमाडौंमा पिउने पानी ल्याइन्छ। उपत्यकाका बागमती र विष्णुमती नदीको जलाधार क्षेत्र यही हो। काठमाडौंको जमिनमुनिबाट निस्कने पानी पनि यही क्षेत्रले 'रिचार्ज' गर्छ।
'शिवपुरी निकुञ्जको वन काठमाडौंको लाइफलाइन हो, यसैले काठमाडौंमा पानी दिन्छ, यसैले हावा पनि,' कुँवरले भने, 'यसलाई विभिन्न बहानामा मास्दै जाने हो भने भोलि काठमाडौंको हालत के होला?'