उन्नता शर्मा (नाम परिवर्तन)को बाल्यावस्था ठिकै चल्दै थियो। बा, थिए, आमा थिइन्। कपनमा घर थियो। उनको लालनपोषण र शिक्षा राम्रै चलेको थियो।
१३ वर्षअघि बाबुले दोस्रो बिहे गरे। आमाले घर छोडिन्। आमासँगै उनी र बहिनी पनि डेरामा बस्न थाले।
बाबुबाट कुनै पनि सहयोग प्राप्त हुन छाड्यो। आमाले छापाखानामा काम गरेर छोरी पढाउन थालिन्।
जसोतसो जिन्दगी चलिरहेको थियो। उन्नता सरकारी स्कुल पढ्थिन्।
एसइई परीक्षा नजिकिएपछि २०७३ सालबाट उनी नियमित ट्यूसन जान थालेकी थिइन्।
पन्ध्र वर्ष पुग्दै थिइन्। डेरानजिकै आकार ट्युसन सेन्टर थियो। बेलबारीका सन्तोष गुरूङ ट्यूसन सेन्टर चलाउँथे।
युवा अवस्थाका गुरूङले उन्नतालाई पढाइमा खुबै सहयोग गरे।
एसइई नजिकै आएपछि एक दिन गुरूङले प्रस्ताव राखे, ‘म भाइबरबाट चिट चोराएर परीक्षामा सहयोग गर्छु ल।’
सरकारी स्कुलको कमजोर पढाइउपरको यो प्रस्ताव उन्नतालाई गुनिलो लाग्यो।
शिक्षकले भाइबरबाट चिट चोराइदिएर परीक्षामा भरपुर सहयोग गरिदिए।
एसइई सकियो। उन्नता पास भइन्।
गुरूङ आफैंले प्लस टु पढाइका लागि सस्तो कलेज भर्ना गराइदिन्छु भन्दै धुम्बाराही लगे। कक्षा ११ मा भर्ना गराए।
घर फर्किने क्रममा ‘मेरो घर जाऊँ’ न भनी अनुरोध गरे।
‘यतिसम्म सहयोग गर्ने व्यक्तिको घर जाँदा के होला र भनी म नहिच्किचाइ गएँ,’ पीडित किशोरीले बिहीबार सेतोपाटीसँग भनिन्, ‘गएपछि त मेरो इज्जतै लुटियो।’
प्रतिकार गर्न खोजिन्। तर, गुरूङका बलिष्ठ पाखुराबाट उम्किन सकिनन्। चिच्याउन खोजिन्। मुख थुनिदिए।
बलात्कृत भएपछि केहीबेर गुरूङकै कोठामा रोइन्।
गुरूङले फकाए, ‘हेर, यो उमेरमा यस्तो हुनु साधारण हो, चिन्ता नलेऊ।’
घर फर्किइन्। आमालाई पनि भनिनन्। साथीभाइसँग पनि कुरा गरिनन्।
कक्षा ११ को परीक्षा नजिकियो। ट्युसन जारी नै थियो। गुरूङले आफ्नो कदम पुनः बढाउन थाले।
उही पाराले भाइबरमा चिट चोराएर सहयोग गरिदिए।
एक दुई पटक त होटल नै लगे। ‘यस्तो कुरा कसैलाई नभन्नू, भने राम्रो हुँदैन भनी उहाँले धम्क्याउने गर्नुहुन्थ्यो,’ उनले भनिन्।
कक्षा १२ को परीक्षामा पनि गुरूङले चिट चोराएर सहयोग गरिदिए। सहयोग गर्ने बहाना बनाएर परीक्षा अगाडि एक पटक शारीरिक सम्बन्धमा सामेल गराएका थिए।
पछिल्लो पटकको शारीरिक सम्पर्कले उन्नताको महिनावारी रोकियो। उनी डराइन्। यो कुरा गुरूङलाई सुनाइन्। गुरूङले परीक्षा सकिएको अन्तिम दिन गत वैशाख ९ गते गर्भपतन गर्न भनी चाबहिल लगे।
उन्नताले ‘म तपाईँसँगै बिहे गर्छु’ भनिन्।
उनले धम्क्याए, ‘बिहे गर्ने कुरा छोड, गर्भपतन नगरे गोरखपुर लगेर बेचिदिन्छु।’
उनले भनिन्, ‘पेटमा बच्चा भएको कुराले उहाँको धम्कीसित निरीह बन्नुपर्ने बाध्यता थियो। जसोजसो भन्नुभयो, मैले त्यसै मानेँ।’
गुरूङले भनेबमोजिम आफू बिवाहित रहेको र २२ वर्ष पुगेको डाक्टरलाई भनिन्। यो टिपोटका आधारमा चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा गर्भपतन गराए। डा. संगीता कायस्थले उन्नताको गर्भपतन गराइदिइन्।
गर्भपतन गराएको सबै कागजात गुरूङ आफैंले राखे।
‘गर्भपतन गराएपछि अत्याधिक शारीरिक पीडा महसुस भयो,’ उन्नताले भनिन्, ‘अब सहन सकिँदैन भन्ने लाग्यो। मैले प्रहरीमा जान्छु भनेँ।’
‘प्रहरीका ठूला–ठूला मान्छे मेरा छन्, तँलाई नै अप्ठेरो पर्छ,’ गुरूङले धम्क्याए, ‘भनिहालिस् भने मारिदिन्छु।’
उन्नता झनै त्रासमा परिन्। के गर्नु कसलाई भन्नु, कठिन परिस्थिति सिर्जना भयो।
आफूमाथि घटेका घटना सम्झेर पिरोलिन थालिन्। ‘मैले सुरूमै उहाँसँग प्रतिकार गर्दै प्रहरीमा जाने हिम्मत गरेको भए यति भोग्नुपर्ने थिएन,’ उनले भनिन्, ‘मेरो कमजोरी यही नै भयो।’
दुई महिनाअघि एक पटक युट्युबमा महिला अधिकारकर्मी साबित्री सुवेदीको गतिविधिबारे भिडियो भेटिन्। बेर नलगाई साबित्रीसँग फेसबुकमार्फत सम्पर्कमा आइन्।
‘म माथि तपाईँले अन्याय गर्नुभएको छ, म साबित्री दिदीमार्फत पुलिसमा जान्छु,’ गुरुङलाई किशोरीले भन्न थालिन्।
‘साबित्रीलाई भनिस् भने मारिदिन्छु,’ गुरुङले फेरि धम्की दिए।
साबित्रीको साथ पाएपछि उन्नताको आत्मविश्वास बढ्यो। त्यसपछि डराउने पालो गुरुङको थियो। उनी सम्पर्कविहीन भए।
उनको फोन लाग्न छोडेको छ।
गुरूङले कपन पनि छोडेका छन्। उनले चलाउने गरेका ट्युसन सेन्टरमा मान्छे बस्छन्।
साबित्रीको सल्लाहमा बिहीबार उन्नता महानगरीय प्रहरी बृत्त बौद्ध गइन्। न्याय माग्दै पुगेकी उनलाई सुरूमा त महिला प्रहरीले ‘प्रमाण चाहिन्छ’ भन्दै फर्काइदिए।
बिहीबारै दोस्रोपटक प्रहरीमा गइन्। बृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द भेटिन्। उनले पनि प्रमाणकै कुरा गरे।
प्रहरी आफैंले निवेदन लेख्न मानेन। लेखापढी व्यवसायीमार्फत ल्याउन भनी पठायो। प्रहरीकै सल्लाहबमोजिम लेखापढी व्यवसायीले निवेदन लेखिदिए।
उन्नतासँग पैसा थिएन। उनले लेखापढी व्यवसायीले सित्तैमा निवेदन लेखिदिए।
प्रहरीले जसो भने लेखापढी व्यवसायीले त्यसै लेखे। त्यसमा यौन शोषण, जबरजस्ती करणी केही पनि उल्लेख छैन। निवेदनमा हातपात, हुलहुज्जत गरेको, होटलमा लगेको, बाटो छेकेको, धाकधम्की दिएको उल्लेख छ।
‘ममाथि भएको सबै कुरा भनेकी हुँ तर प्रहरी र लेखापढी व्यवसायीले त्यस्तो कुरा लेख्न मान्नुभएन,’ किशोरीले भनिन्।
बिहीबार अबेर भएकाले यही निवेदन पनि दर्ता भएन।
उन्नताको उमेर १८ वर्ष पुगेको छैन। कम उमेर भएका कारण उनीमाथि सहमतिमै शारीरिक शोषण भएको भए पनि मुलुकी ऐन जबरजस्ती करणी आकर्षित हुन्छ। यस्तोमा प्रहरी आफैंले ठाडो निवेदन दर्ता गरेर अनुसन्धान गर्न सक्छ।
‘तर, प्रहरीले प्रमाण–प्रमाण भन्दै मलाई जाहेरी लेख्न सहयोग गरेन,’ उन्नताले भनिन्।
बृत्तका डिएसपी चन्दले प्रहरीले किशोरीलाई जाहेरी दिन भनेको बताए। ‘जाहेरी त लेखाएर ल्याउनुपर्यो नि पहिले,’ उनले भने, ‘जाहेरी लिएर आउनुस्, कारबाही थाल्छु भनेको छु, हामीले गर्ने सहयोग गरेकै छौं।’
उनले यौनशोषण, जबरस्ती करणीका अपराधमा प्रहरीले आफैं जाहेरी लेखिदिने लगायतका कानुनी सहायता दिने गरेको बताए।
तर, किशोरीलाई निवेदन भने बाहिरै लेख्न अह्राए।
‘निवेदन लेखाएर ल्याउनुस् भनेको थिएँ, यो हाम्रै कार्यालयबाट हुन्थ्यो, उहाँको के भयो म बुझ्छु,’ उनले भने।
उन्नतालाई कानुनी उपचारमा सहयोगी भूमिका खेलिरहेकी अधिकारकर्मी साबित्री सुवेदीले प्रहरीले यस्ता किसिमका अपराधमा कहिले प्रमाण चाहियो भन्ने, निवेदन लेख्नै असहयोग गर्ने गरेको बताइन्। डिएसपी चन्द भने यो आरोप अस्वीकार गर्छन्।
‘हामीले कहिल्यै यस्तो भन्ने गरेका छैनौं,’ चन्द भन्छन्।
लेखापढी व्यवसायीले लेखिदिएको काजतको फोटोकपी सेतोपाटीलाई प्राप्त भएको छ। त्यसमा यौन शोषणबारे केही उल्लेख छैन।