अपराध रोकथाम र समाजमा हुने विकृती रोकथामका लागि प्रहरीले स्थानीय निकाय र सरोकारवालासँग साझेदारी थालेको छ।
बिहीबार महानगरीय प्रहरी आयुक्त कार्यालयको जिम्मेवारी सम्हालेका महानगरीय प्रहरी आयुक्त डिआईजी शैलेश थापा क्षेत्री र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच यस्तो साझेदारी पत्रमा हस्ताक्षर भएको हो।
यो सँगै प्रहरीले देशैभर ११ गते एकै साथ सो कार्यक्रमको सुरूवात गर्ने तयारी गरेको छ।
स्थानीय निकाएका पदाधीकारी, तथा सम्वन्धीत निकाय, संघसंस्थासँग समन्वय गरी प्रहरीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम र सुरक्षा सचेतना अभिवृद्धि गर्ने महानगरीय आयुक्त डिआईजी शैलेश थापा क्षेत्रीले बताए।
सेतोपाटीसँग कुरा गर्दै आयुक्त क्षेत्रीले भने, ‘कार्यक्रमको पूर्वसन्ध्यामा आज हामीले काठमाडौंका मेयरसँग साझेदारीमा हस्ताक्षर गरेका छौं, आउने ११ गते दशैभर एकै साथ कार्यक्रको सुरूवात हुनेछ।’
विभिन्न संघसंस्था, नगरपालिका, गाउँपालिकाका पदाधिकारीसँग साझेदारी गरी प्रहरीले अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए।
कार्यक्रम ११ गते केन्द्रबाट गृहमन्त्री र प्रहरी महानिरीक्षकले उद्घाटन गर्नेछन् भने सातै प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रहरी प्रमुखले कार्यक्रमको एकसथा उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए।