आजभन्दा करिब एक्काइस, बाइस वर्ष अगाडि जुम्लामा घोडा दौड हुने गरेको हामी आफैंले देखेका थियौं। उतिबेला उमेर सानै थियो। घटस्थापनाको दिनबाट स्कुल विदा हुने वित्तिकै दशैं आयो भन्ने हुन्थ्यो। घटस्थापनाको दिनदेखि दशैसम्मको अवधि पनि निकै लामो लाग्थ्यो। किन बीचमा यति का दिन पर्छन् ? जस्तो लाग्थ्यो। जब फूलपातीको दिन आउँथ्यो अब चाँही दशै मुखैमा छ है भन्ने हुन्थ्यो।
फूलपातीको दिन बिहानैदेखि मन फुरुंगै हुने। बाले साँझसम्म जसरीपनि घरमा एउटा खसि ल्याएर आउँथे। भोलिपल्ट घरमा जति पनि मासु हुने। जति खाए पनि नसकिने मासु। जताततै मासु नै मासु। सम्झिँदा पनि जिब्रोमा रस भरिएर आउँछ।
हाम्रो गाउँमा बाहुन, क्षेत्री, सार्की र कामीहरुको बस्ती छ। मेरो घर सार्कीको बस्तीमा छ। म सार्कीको छोरा हुँ। दशैमा सिंगै गाउँभरी प्रायका घरमा खसि काटेको देख्दै आएको छु। बाहुन, क्षेत्रीहरु सबैको घरमा खसी काटेको देखिन्छ। सानोमा पनि देखियो आज पनि देखिरहेको छु।
हामी सार्की र कामीहरुको घरमा बिहान खसि, दिउँसो राँगो वा भैंसी काटिन्थ्यो। त्यतिबेला लाग्थ्यो यी बाहुनबडा र विष्टबाडाका(क्षेत्री) मान्छेहरु गरिब रहेछन्। यीनिहरुका घरमा पैसा कमहुने रहेछ। त्यसैले यीनीहरु भैसीको मासु खादैनन्। हाम्रा भने घरभरी मासु हुने।
त्यतिबेला आफूलाई साहु भएकोमा गर्व लाग्थ्यो। निकैपछि मात्र घरको आर्थिक अवस्था थाहा हुन लाग्यो। बाले दशैको बेला जसरी पनि डोर्याएर ल्याउने खसी प्राय ऋण गरेर ल्याउने रहेछन्। यसरी दशैमा सँधैजसो बाले घरपरिवारलाई खुसी बनाउन ऋण गरेर ल्याएको भैंसी र खसिको मासुको बलदामा पछि लामो समय अन्य उपभोगलाई त्याग गर्नुपरेको अनुभूत गर्दै ठूलो भइयो।
ठूलो हुँदै गर्दा थाहा हुँदै गयो बाहुन क्षेत्रीहरुले भैसीको मासु खादा नखाने रहेछन्। बरू उल्टो सार्की, कामी, दमाईलाई भैसीको मासु खाने, तल्लो जातकको भनेर हेपेको कयौं पल्ट देखियो। आज यो हेपाह प्रवृत्ति कम हुँदै गएको छ भने भैंसीको मासु पनि कमन भएको छ।
वर्तमान समयमा खसी बाख्राको अभाव हुनु, मान्छेहरु सहर बजारमा केन्द्रित हुनु, मासु खाने उपभोक्ताको संख्या बढ्नु, खसीको तुलनामा भैंसीको मासु सबैतिर उपलब्ध हुन आदि कारणले पनि भैसीको मासु कमन भएको छ।
समयले केही कुरा र मान्छेका आनीबानी बदलेको छ। खानपनिका स्वरुपहरु बदलिएका छन्। तरपनि चेतनाको विकास शुसुप्त अवस्थामै छ।
यतिबेला लेख्न बसेको छु। लेख्दा बालापनको सम्झना खुब आइरहेको छ। बालापनको औधि सम्झनाले गर्दा मान्छेको जीवन एक अनुभूतिको संग्रह हो जस्तो लाग्छ। जसमा अनगिन्ति सुख, दुखहरु घोलीएका छन्। यद्यपी उमेर निकै गुज्रीसकेको छैन। अझै अनैकौं अनुभूतीहरु संगाल्न बाँकी नै छ। तर पनि सम्झना बालापनकै आइरहेको छ।
फूलपाती आउनेवित्तिकै त्यसबेला सबैभन्दा पहिले सम्झिने पहिलो कुरा मासु थियो। खसी थियो। भैंसी वा राँगो थियो। त्यसपछि सबैभन्दा बढी सम्झिने घोडा दौड हो। आज एएरपोर्टमा घोडा दौड हुन्छ। हेर्न जानुपर्छ भन्ने खुव लाग्थ्यो।
दिनभरी खसि हेरिन्थ्यो, भैसी र राँगाहरु देखिन्थ्यो। तीन, चार बज्नेबेला एएरपोर्टतिर लागिन्थ्यो। त्यही हुन्थ्यो घोडा दौड। घोडा एएरपोर्टका तल्लो कुनाबाट माथिल्लो कुनासम्म दैडाइन्थ्यो। सबभन्दा बढी दौडिने र पहिला तल्लो कुनाबाट माथिल्लो कुना पुग्ने घोडा प्रथम हुन्थ्यो।
घोडा दौडमा प्रथम हुनेले के पाँउथ्यो ? कस्को आयेजनामा जुम्लामा घोडा दौड हुन्थ्यो? त्यो केही थाहा थिएन। बिस्तारै बुझ्थ्यौं होला तर २०५४ सालमा जुल्ला एएरपोर्ट कालोपत्रे भएदेखि जुम्लामा घोडा दौड भएन। एएरपोर्ट कालोपत्रे गर्ने वर्ष अब घोडा दौड कहाँ हुन्छ होला? भन्ने लागिरहेको थियो। मेरो प्रश्नजस्तै जुम्लाका धेरै मान्छेको प्रश्न पनि त्यही नै थियो।
अलिअलि गाँइगुँइ घोडा दौड टुँडीखेलमा हुने हो भन्ने हल्ला पनि आइरहेको थियो तर एएरपोर्ट कालोपत्रे भएकै वर्षदेखि करिब सत्र वर्ष जुम्लामा घोडा दौड प्रतियोगिता हुन सकेन।
अहिले बुझ्दा उतिबेला प्रशासनको आयोजनामा प्रतियोगिता हुने रहेछ। सरकारी कार्यालय प्राय सबैका घोडा हुने हुनाले पनि प्रतियोगिता प्रशासनकै अगुवाइमा हुने गरेको देखिन्छ। एएरपोर्ट कालोपत्रे भएपछि प्रशासन कार्यालयले विकल्प दिन नसकेको घोडा सम्बन्धि जानकारहरु बताउँछन्।
हामी घोडा दौडिएको हेर्नेलाई भएको खुल्दुली कम्ताको थिएन भने घोडा पाल्ने र घोडा दौड प्रतियोगितामा भाग लिने किसानहरुलाई त्यसबेला कस्ते भयो होला? भन्ने लाग्छ। झण्डै सत्र वर्षपछि घोडा दौड प्रतियोगिता पुनः संचालन हुँदा घोडा पालक किसानहरु र घोडाका व्यापारीहरुले देखाएको उत्साहबाट पनि अनुमान लगाउन सकिन्छ त्यतिबेला उनीहरुलाई कस्तो भयो होला।
२०६३ सालको अन्तिमसम्म जुम्लामा मोटर पुगेको थिएन। त्यसपछि पनि लामो समय सहायक रोडहरु खुलेनन्। जुम्लाबाट सुर्खेत नेपालगंज गाडी छुटेनन्। केवल मालबाहक गाडीमात्र जुम्ला आउने, जाने भयो। कतिपटक पंतिकार आफैं कर्णाली राजमार्गमा पैदल हिँडेको छ।
त्यस्तो अवस्थामा यहाँका सरकारी कार्यालयका आफ्नै मोटर, गाडी हुने कुरै थिएन। त्यसैले मोटरबाटो खुलेको करिब एक दशकसम्म पनि सरकारी कार्यालयका यातायताको साधन घोडा नै थिए। त्यसैमा सवार हुन्थे सरकारी कार्यालयका हाकिमहरु, कर्मचारीहरु।
प्रायः हरेक सरकारी कार्यालयमा घोडा हुन्थे। सबै सरकारी कार्यालयले घोडा पाल्थे। यातायातका गतिला र भरपर्दा साधान भनेकै घोडा थिए। आज पनि मोटर नपुगेको जिल्ला हुम्ला र डोल्पामा सरकारी सवारी साधन घोडा नै हुन्।
घोडा निकै भरपर्दौ बाहन हो। आजसम्म कहीँ कतै घोडाबाट लडेर वा घोडाले लडाएर मान्छे मरेको सुनिएको छैन। त्यसमा जुम्ली घोडाको पहिचान फरक छ। अझ लामो दुरीको यात्रा घोडामा गर्दा कहीँ कतैबाट घोडा चडेको मान्छे लड्यो, उठ्न सकेन भने घोडा त्यहीँ नजिकै उभिरहन्छ यताउता कहीँ पनि नगई। त्यही बाटोमा अन्य बटुवाहरु आएभने कुरा बुझेर उद्धार गर्छन्।
एघार वर्षको उमेरदेखि सत्तरी वर्षको उमेरसम्म झण्डै उनन्साठी वर्ष घोडाको व्यापार गरेका जुम्ला, सिंजा, घोडेगांका चौरासी वर्षीया बृर्षसिंह खत्रीको त्यस्तै खाले अनुभव छ। उनी घोडा व्यापारको सिलसिलामा नेपालका पश्चिम पहाडी, हिमाली र तराइका जिल्लाहरुमा पुगेका छन्।
उनले सरकारी कार्यालयका हाकिम, घोडा चड्ने सौख भएका सौखिन धनाड्य, घोडालाई यातायातको साधन बनाएर ढुवानीको व्यापार गर्ने व्यापारी सबैलाई घोडा बेचेका छन्। उनका ग्रहाक जुम्लादेखि भारतसम्मका छन्।
यसै क्रममा उनी भारतको पीथौरागडसम्म पनि पुगेका छन्। दुई, चार वर्ष अगाडि जुम्लाका घोडा व्यापारीहरु भारत गएको बेला त्यहाँका एकजना मान्छेले पचास वर्ष अगाडि बृर्षसिंह खत्रीबाट घोडा किनेको कुरा गरेछन्। कुराकानीको क्रममा घोडा व्यापारी जयकृष्ण धरालाले बताए।
कुराकानीकै क्रममा बृर्षसिहं खत्रीले बर्दीयाको राजापुरलाई भारत भने। राजापुर घोडा व्यापार गर्नलाई ठूलो मेला लाग्ने ठाउँ हो। नेपाल ब्रिटिस युद्वको बेला बर्दीया लगाएतको भू–भाग भारतमा पर्यो। पछि जंग बहादुर राणाले लखनउ बिद्रोहलाई दबाउन बेलायती उपनीवेशवादीलाई सहयोग गरेपछि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नयाँ मुलुकको रुपमा नेपालले फिर्ता पायो।
त्यसरी फिर्ता पाएको भू–भागलाई लामो समयसम्म पनि भारत नै मानिएको रहेछ। उनका अनुसार घोडा यातायातको गतिलो साधन हो। मान्छे सवार गर्न, मालसामान ओसारपसार गर्न आदि महत्त्व्पूर्ण कामको बेला घोडा उपयोगी हुने गर्छ।
जुम्ली घोडा आकारमा मध्यम खालको हो। तर यसको विशेषता संसारभरीका घोडाहरुको भन्दा फरक खालको छ। यसले तराइको चर्को गर्मी सहन सक्छ, पहाडको हावाहुरी छल्न सक्छ र हिमालको चिसो सिरेटो खप्न सक्छ। यो संसारभर पाइने घोडाहरुमा बलियो घोडा हो। यसको विकास नै यहीँबाट भएको हो भनेर यहाँका बुढापाकाहरु बताउँछन्।
घोडा व्यापारको क्रममा जुम्लाका घोडा व्यापारीहरु चीन, भारत र नेपालको थुपै ठाउँहरुमा पुगेका छन्। चीनको खासा र सिमाना आसपासका ठाउँ, भारतको बागेश्वर, खराली, गल्दम, पीथौरागढ आदि ठाउँहरु जुम्ली घोडाका बजार हुन्।
नेपालको दाँङ, राजापुर, जोल्जी, डोल्पा, रुकुम, रोल्पा लगाएतका ठाउँहरुमा जुम्ली घोडाको व्यापार हुन्छ। त्यसै क्रममा अन्य जातका घोडाहरु क्रस भएर जुम्ली घोडामा फरक जातको विकास भएको लामो समयदेखि घोडा व्यापार गर्दै आएका चन्दननाथ नगरपालिका सातका जयकृष्ण धरालाको भनाई छ।
धराला पनि २०४२ सालबाट सानै उमेरमा घोडा व्यापार गर्न लागेका हुन्। उनले नेपाल र भारतका लगभग जुम्ली घोडाको बजार भएको ठाउँमा व्यापार गरेका छन्। उनले भर्खर व्यापार सुरु गर्नेबेलामा जुम्लाबाट हरेक वर्ष व्यापारको लागि झण्डै एक हजार बढी घोडाहरु निकासी हुने गरेको भए पनि त्यसपछिका वर्षहरुमा यो संख्या क्रमश घट्दै गयो।
पछिल्लो समय करिब एक सय घोडाहरु मात्र व्यापारको लागि जुम्लाबाट निकासी हुने गरेको छ। यसको खास कारण भनेको पछिल्लो समय विकास भएको यातायातको साधन र मोटरबाटो हो।
पछिल्लो समय जहाँ मोटरबाटो पुगेको छैन, जहाँ घोरेटो र डोरेटो बाट मात्र छ त्यहीँ मात्र घोडा उपयोगी भएको छ। अलकत्रा हालेको बाटोमा घोडा चिप्लिने, लड्ने डर बढी हुन्छ। यद्यपी तराईको अलकत्रावाला बाटेमा टाँगा चलिरहेको छ वर्षौंदेखि।
धरालाले जुम्लाबाट निकासी भएका प्रत्येक घोडाबाट न्युनतम बिस हजारदेखि साठी हजारसम्मको नाफा हुने पनि बताए। त्यसैले व्यापारिक क्षेत्रमा जुम्ली घोडा एउटा ब्राण्डको रुपमा स्थापित छ।
यसरी फरक पहिचान बनाएको जुम्ली घोडामा पनि उत्कृष्ट घोडा को हो? मोल बढी कस्को हुने? भनि छुट्याउनको लागि मेला, पर्व र प्रतियोगिता हनुपर्छ नत्र छुट्याउन मुस्किल पर्छ।
करिब सत्र वर्षपछि पुनः सञ्चालन भएको घोडा दौड प्रतियोगिताले यो कामलाई सहज बनाइदिएको छ भने परम्परा धान्नलाई ठूलो सहयोग मिलेको छ।
घोडा दौडलाई सांस्कृतिक पर्वको रुपमा विकास गर्न र यसै अवसरमा पर्यटक भित्र्याउने लगाएतको महत्त्वपूर्ण काम गर्न कर्णाली खेलकुद क्लवको अगुवाइमा घोडा दौड प्रतियोगिता पुनः संचालनमा आएको हो।
यसरी प्रतियोगिता संचालन भएको यो तेस्रो वर्ष हो। अघिल्ला दुई वर्ष भन्दा यो वर्ष घोडा दौड प्रतियोगितामा सहभागी हुनेको संख्या बढेको छ। पहिलो र दोस्रो वर्ष समान चौबिस घोडा सहभागी भएकोमा यो वर्ष सैंतिस घोडा प्रतियोगितामा सहभागी भए।
कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले यो वर्षको प्रतियोगिताले आफूलाई उत्साहित बनाएको बताए। उनले हरेक वर्षको प्रतियोतिगाले नयाँ नयाँ अनुभूति दिने गरेको पनि बताए।
यो वर्षको घोडा दौड प्रतियोगितामा अर्को आकर्षणको केन्द्रविन्दु भनेको पुरस्कारसँगै राखिएको ट्रफी हो। अघिल्ला वर्षहरुमा ट्रफी काठमाडौंबाट ल्याइने गरेको भए पनि यो वर्ष ट्रफी जुम्लामै बनाइएको हो।
चार वटा विधामा प्रदान गरिएका दश वटा ट्रफी सबै काठबाट बनाइएका कलात्मक घोडाहरु थिए। यी सबै स्थानीए स्रोत, साधन प्रयोग गरी बनाइएका हुन्। यी सबै ट्रफी चन्दननाथ चारका भक्त बहादुर सार्कीले बनाएका हुन्। उनले विभिन्न काठका सामग्रीहरु बनाउँदै बजारमा पूर्ति गरिरहेका छन्।
त्यसैले यसपालीको फूलपातीमा आयोजना गरिएको घोडा दौड प्रतियोगिता संस्कृति संरक्षणको साथसाथै स्थानीय स्रोत, साधन, श्रम र सीपको उपयोग भयो। यस्ता गतिविधिले आयात प्रतिशथापन र उपभोगमा आत्मनिर्भरताको बहसलाई उठान गर्न सक्ने विश्वास गर्न सकिन्छ।